भेनेजुएलामा संकट : अमेरिकी अधिकारीलाई आइतबारसम्म देश छाड्न निर्देशन
काराकास : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशमा रहेका अमेरिकी राजदूतावासका सबै अधिकारीहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् । अमेरिकाले मादुरोको सरकारलाई ‘गैरकानूनी’भन्दै टिप्पणी गरेपछि नै उनले यही साताभित्र अमेरिकी अधिकारीहरुलाई देश छाड्न निर्देशन दिएका हुन् ।
साथै अमेरिकामा रहेका भेनेजुएलाका कुटनीतिज्ञहरुलाई समेत उनले फिर्ता बोलाएका छन् । यता ३५ वर्षे जुआन गुआदियोले लाखौं प्रदर्शनकारीको बलमा आफूलाई ‘कार्यकारी राष्ट’पति’घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट उब्जिएको छ ।
बिहीबार मादुरोले यहाँको राष्ट्रिय टेलिभिजनमामार्फत सम्बोधन गर्दै अमेरिकाले भेनेजुएलामा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । उनले आफ्नो मुलुकमा के गर्ने भन्ने निर्णय आफ्नै हुनुपर्ने भन्दै अमेरिकाको विरोध गरेका हुन् ।
साथै उनले आइतबारसम्म अमेरिकी दूतावासका कर्मचारीहरुलाई देश छाड्न निर्देशन दिइसकेका छन् । अमेरिकाले भने मादुरोलाई राष्ट्रपतिको रुपमा स्वीकार गरेको छैन । चीन, रुस लगायत मुलुकले भने भेनेजुएलामा अमेरिकाको गतिविधिको आलोचना गरेका छन् ।