सरकारले जनतालाई धोका दियो : विवेकशील नेपाली
काठमाडौं : विवेकशील नेपालीले राष्ट्रिय चिकित्सा शिक्षा विधयेक जबरजस्ती पारित गरेर सरकारले जनतालाई धोका दिएको आरोप लगाएको छ।
शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले यस्तो आरोप लगाएको हो। ‘राष्ट्रिय चिकित्सा शिक्षा विधयेकलाई बलात् किसिमले संसदबाट पारित गराउने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कदम त्यस पार्टीको सरकारले डा. गोविन्द केसीसँग गरेका सहमति तथा सम्झौताको बर्खिलाप हो र समग्र नेपालीलाई धोका दिएको हो भन्ने विवेकशील नेपालीको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस नीतिको कार्यान्वयनले समग्र स्वास्थ्य नीतिको गुणस्तर अभिवृद्धि गर्ने जिम्मेवारी अलपत्र पर्नेछ भन्ने हाम्रो निष्कर्ष रहेको छ।’
‘महत्वपूर्ण विषयमा आफ्नै सरकारले गरेको सहमतिको पनि पालना गर्न र गराउन नसक्ने संसदीय दलका नेताको भूमिकामा रहेका प्रधानमन्त्रीको समेत तत्काल राजीनामाको माग गर्दछौं’, विज्ञप्तिमा थप भनिएको छ।
सँगै पार्टीले डा. केसीको जीवन रक्षाको माग गरेको छ। अहिले भएका सबै प्रक्रियाले नागरिकले आफूले नै गुणस्तरीय स्वास्थ्यको लागि लड्नु पर्ने अवस्था आएको उसको ठहर छ।
विवेकशीलले केसीको जीवन रक्षाका लागि शनिबार अपराह्न १२ बजे माइतीघरमा आयोजित गोविन्द केसी सोलिडारिटी अलाएन्सको कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
सँगै शुक्रबार दिउँसो पक्राउ परेका पार्टी अध्यक्ष उज्ज्वल थापालगायतको तत्काल रिहा गर्न माग गरेको छ।