हिमपातले हायलकायल

हिमपातले हायलकायल

कर्णाली/सुदूरपश्चिम : चार दिनदेखि कतै हिमपात त कतै वर्षा हुन थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त बनेको छ । हिमाली क्षेत्र हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका माथिल्लो क्षेत्रमा निरन्तर हिउँ परिरहेको छ भने भित्री मधेसमा वर्षा भइरहेको छ ।

सदरमुकाम आसपासबाहेक अन्य क्षेत्रका नागरिक घरबाहिर निस्किन सकेका छैनन् । अधिकांश स्थान सञ्चार सम्पर्कविहीन बनेका छन् । सुर्खेत, दैलेख, जाजरकोटलगायत जिल्लाका तल्लो भागमा निरन्तर वर्षा भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार केही सुधार आए पनि मध्याह्नदेखि पुनः हिमपात र वर्षा हुन थालेको हो । केही क्षेत्रमा असिनासमेत परेको छ ।

कर्णालीमा दशकमै सबैभन्दा धेरै हिमपात भएको छ । दुई–तीन वर्षयता वर्षमा दुईपटक एक–दुई फिटसम्म हिउँ झथ्र्यो । यसपटक चार दिनसम्म तीन फिटभन्दा धेरै परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोका कारण हिमाली र पहाडी जिल्लामा आउजाउ ठप्प छ ।

भारी हिमपातले किसान भने खुसी भएका छन् । उनीहरूले आकाशे पानीका भरमा हिउँदे बाली लगाउँदै आएका थिए । हिमपातले बाली सप्रने उनीहरूको भनाइ छ । हिमाली जिल्लामा फलफूलका बिरुवा पनि माघ–फागुनमै लगाउने भएका कारण किसानले सहज महसुस गरेका छन् ।

कर्णालीमा तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ । ‘पहिले नै हिउँ पर्नुपर्ने हो तर अन्त्यमा हिउँदे मनसुन सक्रिय देखिएको छ’, क्षेत्रीय हावापानी सुर्खेतका शाखा अधिकृत नीराजन सापकोटाले भने, ‘अझै दुई–तीन दिन मौसम सक्रिय हुने देखिन्छ ।’ यसपटक दशककै धेरै हिमपात भएको उनले बताए ।

दूरसञ्चार टावर सोलारबाट सञ्चालनमा रहेका क्षेत्रमा घाम नलागेपछि सञ्चार सम्पर्क टुटेको छ । तीन दिनयता डोल्पा सदरमुकामलगायत आसपासका क्षेत्रमा इन्टरनेट र मोबाइल फोनमा समस्या आएको छ । मोबाइल र इन्टरनेट सेवा आउने–जाने समस्या भएपछि दैनिक कारोबारसमेत रोकिएको आईएमई सञ्चालक मनोज बोहोराले बताए । रेडियो लिंकका रिपिटर टावरमा पावरको पनि समस्या रहेको र अन्य अन्य प्राविधिक कुरा मिलाउनुपर्ने देखिएको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनालले बताए ।

‘जुम्लाको माइथाप्लामा समस्या आएको छ’, उनले भने, ‘चिसो अत्यधिक भएका कारण काम गर्न कठिन भएको छ । मौसममा सुधार आउनेबित्तिकै हामी काममा लाग्नेछौं ।’ सञ्चारविहीन भएपछि विमानस्थलमै समस्या हुने गरेको समिट एयरका स्टेसन इन्चार्च पूर्णजंग शाहीले बताए । शे–फोक्सुन्डो गाउँपालिकासहित आसपासका गाउँसँग सञ्चार सम्पर्क टुटेको छ । प्रहरी पनि कात्तिकमै सदरमुकाम झरेकाले त्यहाँको हालचाल बुझ्न नपाएको जिल्ला प्रहरी डोल्पाले जनाएको छ ।

शुक्रबार एकछिन मौसम सफा रहँदा डोल्पामा केही उडान भए पनि अन्य जिल्लामा ठप्प छ । आन्तरिक यातायात पनि प्रभावित बनेको छ । हुम्लामा शुक्रबार बिहानै विमानस्थल क्षेत्रमा हिउँ हटाउन थाले पनि हिमपात भएपछि समस्या भएको नागरिक उडड्ययन कार्यालय हुम्लाले जानकारी दिएको छ । विमानस्थलमा जमेको हिउँ आधा हटाइसकेपछि पुनः हिमपात भएकाले काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

उनका अनुसार सदरमुकाममा तीन फिट र नाम्खामा पाँच फिट हिउँ जमेको छ । अझै केही दिन हिमपात नरोकिए ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको संकट पर्न सक्ने स्थानीय तहले जनाएका छन् । पाँच दिनदेखि हवाई सेवा सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामान अभाव हुन थालेको सिमकोटका व्यापारीले बताएका छन् । आन्तरिक उडानसमेत नहुँदा हुम्ला, मुगु र डोल्पालगायत जिल्लाबाट बिरामी नआएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

सुदूरपश्चिम ब्युरोका अनुसार चार दिनदेखि लगातार हिमपात र वर्षाले सुदूरपश्चिमको जनजीवन पनि कष्टकर बनेको छ । बैतडीमा बिजुली आएको छैन । भीमदत्तपन्त राजमार्ग, केआईसिंह राजमार्ग, दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग छिन–छिनमा अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । बझाङमा यातायात सेवा नियमित नहुँदा यात्रुलाई कष्ट भएको छ ।

श्रीभावर र खोड्पे क्षेत्रमा भारी हिमपात भएको छ । यात्रुहरू चार–पाँच घण्टा पैदल गन्तव्यमा लागिरहेका छन् । डडेलधुराको गन्याधुरा क्षेत्रमा पर्ने भीमदत्त राजमार्ग, बैतडी अनाराखोली वृन्द्रावन बचपानी श्रीभावर क्षेत्रमा बढी बाटो अवरुद्ध हुने गरेको छ । घनघस्याको लेक अनारखोलीमा स्थानीय प्रशासनको सक्रियतामा बाटो खुलाउने क्रम जारी छ । धनगढी र महेन्द्रनगरबाट पहाडतर्फ लागेका गाडी अलपत्र परेका छन् । सडक सञ्चालनमा ल्याए पनि लगत्तै हिमपात हुँदा फेरि अवरुद्ध हुने गरेको बैतडी खोडपेका हरिश विष्टले बताए ।

बैतडी दुदेलाखान र मुस्याचौरभन्दा अगाडि बझाङतिर जाने सडक पनि अवरुद्ध छ । बझाङ सदरमुकाम चैनपुरबाट हिँडेका गाडी श्रीभावर र ढोल्यामोड आसपासमा अलपत्र छन् । बैतडी अनारखोेली क्षेत्रमा इन्टरनेटका र मोबाइलका रिपिटर टावरमा पनि हिमपातले अवरोध ल्याएको छ । धेरै जिल्ला सदरमुकाममा इन्टरनेट सेवा अवरुद्ध भएको दार्चुलाका राजेन्द्र धामीले बताए ।

सडक डिभिजन कार्यालय बैतडी, बझाङ र डोटी तथा डडेलधुराका आधा दर्जन जेसीबी सडक खुलाउन प्रयोग गरिएका छन् । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले तीन दिनदेखि हिमपातका कारण सडक यातायात मात्र होइन, गाउँबस्तीको जनजीवन पनि प्रभावित भएको बताए । दुई दशककै बाक्लो र लामो हिमपात भएको बैतडीको खोडपेका किसनसिंह विष्टको भनाइ छ । ‘केही वर्षयता हिमपात नै भएन’, उनले भने, ‘हिमालको हिउँ पग्लियो भन्थे । यसपालि प्रकृतिले हिमालमा पग्लिएको सबै हिउँ पूरा गरिदिएको छ ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.