म्यानचेस्टर युनाइटेडसँग घरमै हार्यो आर्सनल
लन्डन : एफए कप फुटबलको शनिबार बिहान खेलिएको चौथो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले बलियो प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा ३-१ गोलले हराएको छ। जितसँगै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा पुगेको छ। आर्सनल भने उपाधि होडबाट बाहिरिएको छ।
सिजनको निराशाजनक सुरुआत गरेको म्यानचेस्टर युनाइटेडले अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको नेतृत्वमा हात पारेको यो लगातार आठौं जित हो। खेलको पहिलो हाफमै म्यानचेस्टर युनाइटेडले २-१ को अग्रता लिएको थियो।
खेल सुरु भएको ३१ औं मिनेटमै म्यानचेस्टर युनाइटेडका लागि चिलीका अनुभवी खेलाडी एलेक्सिस सान्चेजले पहिलो गोल गरेका थिए। उनले रोमेलु लुकाकुको कलात्मक पासलाई सदुपयोग गरेका हुन्। ३० वर्षीय सान्चेज अघिल्लो वर्षमात्र आर्सनलबाटै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए।
सान्चेजले गोल गरेको दुई मिनेटपछि नै जेसी लिनगार्डले म्यानचेस्टर युनाइटेडको अग्रतालाई दोब्बर बनाएका थिए। लिनगार्डलाई पनि गोलका लागि लुकाकुले नै पास उपलब्ध गराएका थिए। लुकाकुले एफए कपको पछिल्ला १५ खेलमा म्यानचेस्टर युनाइटेडका लागि १३ गोल गरेका छन् भने चार गोलका लागि पास उपलब्ध गराएका छन्।
पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि आर्सनलका लागि पियर एमरिक आउबामेयाङले जवाफी गोल फर्काएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि एन्थोनी मार्सलले अर्को गोल थप्दै म्यानचेस्टर युनाइटेडलाई सहज जित दिलाए। उनी परिवर्तित खेलाडीका रुपमा सान्चेजको स्थानमा मैदानभित्र प्रवेश गरेका थिए।
म्यानचेस्टर युनाइटेडले इमिरेट्स रंगशालामा हात पारेको यो छैटौं जित हो। अन्य कुनै टोलीले आर्सनललाई उसैको मैदानमा यतिधेरै खेलमा हराउन सकेको छैन्। म्यानचेस्टर युनाइटेडले सन् २०१५ को मार्चयता एफए कपमा १६ खेल जितेको छ। अन्य कुनै टोलीले एफए कपमा यस्तो उपलब्धि हात पार्न सकेको छैन्। सन् २०१५ को मार्चमा म्यानचेस्टर युनाइटेडलाई क्वार्टरफाइनलमा आसनले नै २-१ गोलले हराएको थियो।
सबै प्रतियोगितालाई मिलाउँदा म्यानचेस्टर युनाइटेडले हात पारेको यो लगातार आठौं जित हो। सन् २०१७ को जनवरीपछि म्यानचेस्टर युनाइटेडले पहिलो पटक लगातार आठ खेलमा सफलता हात पारेको हो। यसैगरी सन् २०१४/१५ सिजनपछि एलेक्सिस सान्चेजले इमिरेट्स रंगशालामा गरेको गोल सँख्या ४१ पुगेको छ। उनले इमिरेट्स रंगशालामा आर्सनलका लागि ४० र म्यानचेस्टर युनाइटेडका लागि एक गोल गरेका छन्। सो रंगशालामा अन्य कुनै खेलाडीले यतिधेरै गोल गर्न सकेको छैन्।
शनिबार राति नै खेलिएको अर्को खेलमा ब्रिस्टल सिटीले घरेलु मैदानको फाइदा उठाउँदै बोल्टन वन्डरर्सलाई २-१ गोलले हरायो। जितसँगै ब्रिस्टल सिटी पनि प्रतियोगिताको पाँचौं चरणमा पुग्न सफल भयो।