कागजमा धनी, व्यवहारमा सधैं निरीह

कागजमा धनी, व्यवहारमा सधैं निरीह

सक्रियता, कानुनी व्यवधान, योजनाबद्ध चिन्तन अभाव र माफियाको चंगुलमा पर्दा पशुपति विकास कोषले आफ्नै सम्पत्तिबाट लाभ लिन सकेको छैन।


पशुपतिनाथको मन्दिर केवल भौतिक संरचना होइन, यो आस्थाको केन्द्र हो। सँगसँगै यो विभिन्न संस्कृतिको द्योतक पनि हो। पशुपतिनाथसँग जोडिएर हुने जात्रा, पूजा र आरतीले यसको सांस्कृतिक गरिमा जोगाइरहेको हुन्छ। पशुपतिनाथको गरिमा र आस्था कायम राख्न उनको नित्य र विशेष पूजामा कुनै कमी आउन दिनु हुँदैन। त्यस्तै पाशुपत क्षेत्रका जात्रा, पर्व, पूजा आदि क्रम नटुटाई निरन्तर र भव्य रूपमा सञ्चालन गरिरहनुपर्छ।

यी सबैका लागि मूल आर्थिक आधार पाशुपत क्षेत्रका मठमन्दिर र जात्रा–पर्वका लागि विगतमा लालमोहर, सनद, सवाल आदिबाट दिइएका जग्गाजमिन नै हुन्। ती सबै जग्गाजमिन गुठीमार्फत सञ्चालित छन्। तिनको आयस्ताबाट मोहीले वार्षिक रूपमा कुत बाली बुझाउनुपर्छ। त्यसरी जम्मा भएको सम्पत्तिको रेखदेख, सञ्चालन आदि कार्यका लागि २०४४ सालमा पशुपति क्षेत्र विकास कोष गठन गरिएको थियो। त्यसैले पशुपतिनाथसँग जोडिएको सबै सम्पत्तिको मालिक विकास कोष हो। तर कोषको कोषमा भने अनुमान गरेजति रकम आर्जन भएको देखिँदैन। कागजमा पशुपतिनाथका काठमाडौं उपत्यका, आसपासका जिल्ला र तराईमा समेत क्रमशः हजारौं रोपनी र सयौं बिघा जग्गा रहेको देखिन्छ। तर यसको पूर्ण आयस्ता नआउँदा करिब एक दर्जन महŒवपूर्ण जात्रा–पर्व बन्द भइसकेका छन् भने बाँकी दर्जनौं जात्रा–पर्वलाई कोषले ‘करबल’ ले चलाइरहेको छ।

कोषको तथ्यांकअनुसार पनि राजधानी र आसपासका जिल्लामा पशुपतिनाथका नाममा हालसम्म चार हजार ६ सय ७३ रोपनी जग्गा छ। चलनचल्तीको मूल्य हिसाब गर्ने हो भने यो अर्बौंको सम्पत्ति हो। निजीसरह भाडा उठाउने हो भने यी जग्गाजमिनबाट करोडौं रुपैयाँ आम्दानी हुन्छ। तर राज्य दह्रो हुन नसक्दा कोषले दसकौं पुरानो सम्झौताअनुसार कुतबाली स्विकारिरहेको छ। समयानुकूल समायोजन गर्न ऐन–कानुन छैन। ऐन–कानुन बनाउन नसक्दा मोहीलगायतले झन्डै पाँच हजार रोपनीवापत बुझाउने वार्षिक ५६ लाख ३१ हजार दुई सय २३ रुपैयाँमा चित्त बुझाउन कोष बाध्य छ। यो आम्दानीले पशुपतिको खर्चसमेत धान्न हम्मेहम्मे परिरहेको छ।

पशुपतिनाथको जग्गा तराईका चार जिल्ला पर्सा, रौतहट, सिरहा र सर्लाहीमा मात्र ११ सय बिघा रहेको तर कोषमातहत नआएको देखिन्छ। काठमाडौंमा पशुपतिनाथको पक्षमा तीनवटा मौजा गायब छन्। भीमसेनगोला, शंखमूल र मूलपानीमा रहेका तीन सय रोपनी जग्गाको कोषसँग विवरण छैन। काठमाडौं सुकेधाराको सडकसँगै जोडिएको करोडौं मूल्यको ११ रोपनी जग्गाको पनि हिसाबकिताब छैन। तारकेश्वर नगरपालिकाको गोलढुंगाको एक सय ६६ रोपनी १३ आना जग्गाको लगत पनि कोष, मालपोत र गुठीसँग छैन। उपत्यकाआसपासका जिल्ला र तराईका जिल्लामा गरी कैयन् रोपनी र बिघा जग्गा माफियाको चंगुलमा परिसकेको छ।

पशुपतिको जग्गा हड्प्ने काम २०१८ सालदेखि नै सुरु भएको देखिन्छ। पशुपतिको जग्गा उपभोग गरिरहेका कतिपयले २०१८, २०२१ र २०४२ सालको लगत लिने बेलामै आफ्नो नाममा बनाइसकेका थिए। त्यसरी गुमेको जग्गाको अभिलेख कोषसँग छैन। त्यति मात्र होइन, पाशुपत क्षेत्रमा सञ्चालन हुने जात्रा, पर्व र पूजा सञ्चालनका लागि गुठी संस्थानसँग भएका अन्य कैयन् जग्गा अभिलेख पनि संस्थानसँग छैन। पाशुपत क्षेत्र (देवपत्तन) मा सञ्चालन हुने जात्रा–पर्वका लागि संस्थानमातहतमा अहिले दुई सय ३६ गुठी छन्। यी सबैबाट कुतबाली उठ्दैन र संस्थानले ताकेता पनि गर्दैन। यसकारण पनि पाशुपत क्षेत्रका जात्रा, पर्व, पूजा आदि सञ्चालनमा धौधौ परेको छ।

बन्द हुँदै जात्रापर्व

कोषका कार्यकारी निर्देशक रमेश उप्रेती भन्छन्, ‘कोषमातहतका पशुपतिनाथ भण्डार तहबिल कार्यालय, अमालकोट कचहरी कार्यालय र जयवागेश्वरी तहबिल कार्यालयमार्फत सञ्चालन हुने सबै जात्रा, पर्व र पूजा यथावत् सञ्चालन गरिरहेका छौं। तर भन्नैपर्दा टाउकाले टेकेर चलाएका छौं।’

अमालकोटका एक कर्मचारीसँग उप्रेतीको भनाइ मिल्छ। प्रशासकीय अधिकृत ईश्वरमान भण्डारी भन्छन्, ‘खासगरी पाशुपत क्षेत्रमा सञ्चालन हुने दर्जनौं जात्रा–पर्व हेर्नेलाई त रमाइलै होला तर सञ्चालन त करबलले मात्र गर्ने हो।’

पाशुपत क्षेत्रका आधा दर्जन जात्रा–पर्व बन्द भएको एक अनुसन्धानले देखाएको छ। शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँख (महादेव पार्वती नाच) र बोडे नीलिबाराही नाच बन्द भएका हुन्। यी यात्रा र पर्व केही दसकदेखि बन्द भए पनि कोषले सञ्चालन गर्न सकेको छैन।

पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गुरुयोजनाका लागि अध्ययन–अनुसन्धान गर्ने क्रममा दसकौंदेखि यी जात्रा–पर्व लोप भएको पत्ता लागेको हो। डा. सन्ध्या खनाल पराजुलीका अनुसार, शोभन यात्रा र नागचा प्याँख कहिलेदेखि बन्द भयो कतै उल्लेख छैन तर बोडे नीलिबाराही तीस वर्षदेखि बन्द छ। त्यस्तै लिंग र उपलिंग यात्रा केही दसकदेखि बन्द भएको देखिन्छ भने कुण्ड यात्रा बन्द भए पनि त्यसको मिति भन्न सकिने अवस्था छैन। १२ वर्षको अन्तरमा चलाइने बोडे नीलिबाराही १२ वर्षमा देवता र तिनका गण फेरिँदा पशुपति आई नाच्ने परम्परा थियो। लिंग यात्रा पूर्वजन्मको पापबाट मुक्ति पाउन विरूपाक्षले ने मुनीको सल्लाहबमोजिम ६४ लिंग यात्रा गरेको हिमवत् खण्ड पुराणमा उल्लेख भएअनुसार यात्रा गरिन्थ्यो।

पशुपतिनाथ आगम घरलाई लिंग यात्रा गराउने अधिकार दिएजस्तै उपलिंग यात्रा पनि आगम घरबाटै गराइँदै आएको थियो। आगम घरबाटै गराइने कुण्ड यात्रा पाशुपत क्षेत्रका अधिकांश कुण्ड सुकिसकेका र लोप भएकाले बन्द भएको कोषले स्वीकार गरेको छ। लिच्छवीकालमा पशुपतिनाथलाई छत्र चढाइएको उपलक्ष्यमा शोभन यात्रा सुरु गरिएको अनुसन्धानले देखाएको छ। प्याँख चाबहिल चारुमती विहारले सञ्चालन गरेको महादेव र पार्वतीलाई देउपाटनमा नचाइने यो नाचमा जयवागेश्वरी मन्दिरबाट गरगहना लिइन्छ।

कोषमातहत रहेका पशुपतिनाथ, जयवागेश्वरी र पशुपति भण्डार तहबिल कार्यालयले सञ्चालन गर्ने र बाँकी गुठी संस्थान साथै दुनियाँदारबाट चल्ने जात्रापर्वहरू पशुपति क्षेत्र विकास कोष स्थापनाअघि नै बन्द भएकाले समस्या भएको कार्यकारी निर्देशक उप्रेती बताउँछन्। उनी भन्छन्, ‘ती जात्रा–पर्वका लागि नेपाल सरकार, गुठी संस्थान, कोष र सम्बन्धित पक्षको समन्वयमा सञ्चालन गराउनुपर्ने देखिन्छ।’ पाशुपत क्षेत्रमै कात्तिक कृष्ण पञ्चमीमा हुने पञ्चबलि पूजा पनि बन्द भएको छ भने त्रिकाल बाजा पनि लोप भएको छ साथै नागिन साधुहरू पनि लोप भएका छन्।

कोषको भावी योजना

पाशुपत क्षेत्र दुई सय ६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। गौशाला, रातो पुल, गोपीकृष्ण हल, रिङरोड, मित्र पार्क, पीपलबोट, गौरीघाट, कुमारी गाल, खरीबोट, बागमती नदी, विमानस्थलको आधा भाग, सञ्चार ग्राम, शारदा उच्च मावि, पिंगला स्थान हँुदै पुनः गौशालासम्मको भूभागलाई पाशुपत क्षेत्र मानिन्छ। कोषमातहतको गौशाला चोकस्थित धर्मशालाबाट नेपाल मारवाडी परिषद्ले भाडामा दिएको भवनका सटर र कोठाबाट मासिक लाखौं रकम आम्दानी हुन्छ। तर परिषद्ले कोषलाई भने साढे नौ रोपनी जग्गावापत मात्र मासिक करिब चार हजार बुझाउँदै आएको छ। यस्तो निम्न रकमले पशुपतिनाथका जात्रा, पर्व र पूजा सञ्चालन कसरी विधिविधानअनुसार चल्न सक्ला?

कोषको गोठाटारमा पाँच सय ३४ रोपनी जग्गा छ। बालुवाखानी सञ्चालन गर्न दिँदा पनि लाखौं रकम उठ्यो। हालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलले पनि कोषको ११ सय ६१ रोपनी १४ आना तीन पैसा भूमि प्रयोग गरेको छ। तर गत वर्षसम्म सोवापत नागरिक उड्डयन प्राधिकरणले वार्षिक २१ लाख रुपैयाँ मात्र तिथ्र्यो। यसरी कसरी पाशुपत क्षेत्रका जात्रा, पर्व, मेला र पूजा सही ढंगले सञ्चालित हुन्छन्? ह्यात रिजेन्सी होटल र द्वारिका होटलले पनि केही रोपनी जग्गा प्रयोग गर्छन् तर त्यसअनुसार लाखौं होइन, सय र बढीमा हजारमा कुत तिर्छन्। किन राज्यले कुत बालीमा पुनरावलोकन गर्दैन? किन समसामयिक ऐन–कानुन बनाएर होटलका अतिरिक्त गुम्बा, विहार, एकेडेमी आदिलाई नियन्त्रणमा लिन सक्दैन?

पशुपतिको नाममा अथाह सम्पत्ति छ। तर पनि कोषको नेतृत्व लिने पदाधिकारीले आजसम्म यसको समुचित उपयोग गर्न सकेका छैनन्। ‘जग्गाबाट उठ्ने कुत पनि समयसापेक्ष छैन। सरकारलाई कानुन बनाएर जग्गाजमिनको कुत पुनरावलोकन गर्न पहल गरिरहेका छौं’, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भन्छन्। ढकालका अनुसार अहिले पशुपति विकास कोषले पाशुपत क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाइरहेको छ। ढकाल भन्छन्, ‘हिजोसम्म पशुपतिनाथ सामान्य गुरुयोजनाको अवधारणामा चलेको थियो, अहिले बनाइरहेको बृहत् गुरुयोजनाले कम्तीमा ५० देखि एक सय वर्षसम्म धान्ने दीर्घकालीन विकासका काम गर्दैछौं। यो गुरुयोजनाले नै पशुपतिको जग्गाजमिन, जायजेथाको व्यवस्थापनको मार्गनिर्देश गर्नेछ।’

यति भन्दाभन्दै पनि ढकाल कुतको दर समयसापेक्ष गराउनुपर्नेमा भने जोड दिन्छन्। ‘आफ्नो सयौं बिघा र हजारौं रोपनी भूमि प्रयोग गर्न सकिरहेका छैनौं, पूजापाठ, जात्रा, पर्व र मेला सञ्चालन गर्न धौधौ छ’ ढकाल थप्छन्, ‘समयसापेक्ष कुत निर्धारण गर्नुपर्छ। सम्पत्ति अथाह भएर भएन, त्यसको समयानुकूल मूल्यको समयोजन गर्नुपर्नेछ।’

पशुपतिको आय अस्थिर प्रकतिको छ। कोष पर्यटक शुल्कमा निर्भर छ। कोषले समयोचित कुत उठाउने हो भने पशुपति क्षेत्रमा धेरै सुधार गर्न सकिन्छ। भक्तजनको सुविधालाई ध्यान दिन सकियो भने मात्रै पशुपतिनाथ विश्वको आकर्षकको केन्द्रविन्दु बन्न सक्छ। अस्तव्यस्त पशुपतिनाथ, नाथसँग जोडिएका जात्रा–पर्व र समग्र पाशुपत क्षेत्रलाई स्वच्छ, पवित्र, सफासुग्घर, व्यवस्थित र हरियाली बनाउन सके मात्र विश्वको ध्यान पशुपतिनाथमा केन्द्रित हुनेछ।

अनुदार गुठी संस्थान

पशुपतिनाथका जात्रा–पर्व सञ्चालनका लागि स्थापित गुठी संस्थानले अभिलेख शाखा भद्रकालीमा दुई सय ३६ वटा गुठी रहेको जनाएको छ। संस्थानका अनुसार, पाशुपत क्षेत्रमा गुठीअन्तर्गत जात्रा, पर्व र पूजामा कार्यरत रैरकमीको संख्या १२ सय ७५ छ। उनीहरूले मासिक तीन सयसम्ममा काम गर्नुपर्दा पनि जात्रा र पूजामा पटकपटक समस्या उत्पन्न भएको गुठीको भनाइ छ। संस्थानको केन्द्रीय कार्यालय र अभिलेखको कार्यालयमा समेत दुई सय ३६ वटा गुठीबाट केकति कुतबाली उठ्नुपर्ने हो र कति उठिरहेको छ, सबैको चुस्तदुरुस्त हिसाब छैन। कसले कुत बुझाएको छ÷छैन भन्ने तथ्यांक नै संस्थानसँग छैन। यो सबैभन्दा दुःखद पक्ष हो। तथ्यांकमै भएकासँग पनि समयमा कुत बुझाउन संस्थानले कुनै ताकेता गर्दैन।

पशुपतिनाथका नाममा चढाइएका जग्गाजमिनमा गुठीआबद्ध भएका झन्डै अढाई सयको जायजेथा अथाह देखिन्छ तर सरकारले त्यस कुतबालीलाई पनि समयसापेक्ष गर्न सकेको छैन। यसबारे महालेखा परीक्षकको प्रतिवेदनले नै सरकारको ध्यानाकर्षण गराइसकेको छ। परीक्षकको ५५औं प्रतिवेदनमा उल्लेख छ, ‘तत्कालीन अवस्थामा जग्गाबाट धान उत्पादन हुने र धान नै कुत लिने व्यवस्था रहे पनि हाल ती जग्गा व्यापारिक प्रयोजनमा रहेका र धानको मूल्य गणना गर्दा प्रचलित जग्गाको भाडाको मूल्यमा नगरी २०६० सालदेखि धानको मूल्यका आधारमा लिने गरेको देखिन्छ। तसर्थ समायानुकूल मूल्य र जग्गा उपयोगको प्रयोजनअनुसार कुतबाली असुल हुनुपर्छ।’

गुठी र कोषबीचको टकरावले पनि पर्व, पूजा र जात्रामा समस्या आएका छन्। कोष स्थापनाअघि २०४४ सालसम्म पशुपतिको सम्पूर्ण जिम्मेवारी गुठीमै थियो। एउटै कामका लागि दोहोरो खर्च भइरहेको अवस्था छ। हरेक क्षेत्रमा हस्तक्षेप गर्न थालेको आरोप कोषमाथि लाग्दै आएको छ भने गुठीले पनि आफ्नो दायित्व निर्वाह गर्न सकिरहेको छैन।

खोज्दै हराएका जग्गा

काठमाडौं बत्तीसपुतलीको कित्ता नम्बर १ मा रहेको एक रोपनी नौ आना दुई दाम जग्गा ललितादेवी भन्ने ललिताकुमारीको नाममा मोही लगत कायम भएको छ। श्री पशुपतिनाथका रामगोपाल नकर्मी खान्गीको ईश्वरी खेतजग्गा पुनः नामसारीका लागि माग भएको छ। सञ्चारमाध्यमबाट पटक–पटक पशुपतिनाथको जग्गा हराएको, मासिएको र माफियाको अधीनमा पुगेको भन्ने समाचार प्रकाशित भएपछि कोषले खोजी सुरु गर्दा झन्डै दुई रोपनीबराबरको उक्त जग्गा नामसारीका लागि माग भइआएको हो। यसमा रावल आयोगले रोक्का राखेको पनि खुलेको छ। काठमाडौं महानगरपालिकाको वडा नं २५ को कित्ता नम्बर ११४ को एक रोपनी एक आना एक दाम जग्गा २०२१ सालको नापीमा भए पनि पशुपतिनाथ र जयवागेश्वरी भण्डार तहबिलको लगतमा दर्ता भएको भन्ने माग दाबी यतिबेला कोषमा परेको छ।

पशुपतिनाथका नाममा चढाइएका जग्गाजमिनमा गुठीआबद्ध भएका झन्डै अढाई सयको जायजेथा अथाह देखिन्छ तर सरकारले त्यस कुतबालीलाई पनि समयसापेक्ष गर्न सकेको छैन।

कोषले ताकेता गर्न थालेपछि यतिबेला करिब दुई सय निवेदन परेका छन्, जसमा आजसम्म हकभोग गर्दै आएको जग्गा कोषको नाममा राख्न र मोही आफूलाई बनाउन निवेदन परेका हुन्। यी निवेदन उपत्यकाभित्र मात्रका छैनन्, तराई र पहाडी जिल्लाबाट मोहीका लागि दाबी गर्दै परेका हुन्। प्राप्त निवेदनबाट मात्रै पनि कोषको सबै जग्गा हात पर्ने अवस्था छैन। मोहीलाई दिए मोही नै धनी बन्ने वा कतिपयले जग्गै हडप्ने अवस्था देखिइसकेकाले कोषले यसबारे पुनर्विचार गर्नुपर्ने देखिएको विज्ञको बुझाइ छ। जात्रा–पर्व सञ्चालनकै लागि भए पनि तराईका चार जिल्लाबारे कोषले बृहत् अनुसन्धान गरी उक्त जग्गा कोषमातहतमा ल्याउनुपर्ने देखिन्छ।

यसैगरी, उपत्यकाभित्र र पहाडी जिल्लाका लागि पनि विशेष योजना बनाएर लाग्नुपर्ने देखिन्छ। अन्यथा क्रमशः आयस्ता शून्य हुने र जात्रा–पर्व लोप हुँदै जाने प्रस्ट देखिएको छ। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा नापी, मालपोत, विज्ञ र सुरक्षाकर्मीको पशुपतिनाथको चलअचल (जग्गा) छानबिन समिति बनाइएको छ। यसअघि पनि यस्ता केही छानबिन समिति नबनेका होइनन् तर ती बने र विघटन भए। बस्, केही वर्ष प्रक्रिया मात्र चलिरह्यो।

कोषाध्यक्ष थापा भन्छन्, ‘२०२१ सालको नापीमा जग्गाधनी पशुपति गुठी मोही व्यक्तिका नाममा उल्लेख भएका तर लगतमा कायम नभएका जग्गाका सम्बन्धमा नेपाल सरकारको दर्ता नियमावलीको प्रक्रिया पूरा गरी छुट लगत कायम गर्न उपयुक्त हुने देखिन्छ।’ उनका अनुसार, कोषको स्वामित्वमा रहेका जग्गाको कोषको अधिकतम सदुपयोग हुने गरी आर्थिक वृद्धि गर्नेतर्फ आवश्यक छानबिन गर्न कोषले सरकारसमक्ष आग्रह गरिसकेको छ। झन्डै एक वर्षको अवधि राखेर तय गरिएको थापा संयोजकत्वको छानबिन समितिले निर्धारित अवधिमा काम नसक्ने देखिएपछि पुनः एक वर्ष समायवधि थप्न संस्कृति मन्त्रालयलाई कोषले आग्रह गरेको छ। कोषले जग्गाका पर्याप्त प्रमाणहरू संकलन गर्न समय लाग्ने कारण देखाए पनि भोलिका दिन अरू कुनै कारण देखाएर ‘हात उठाउने’ दिन नआओस्।


पशुपतिनाथ, निर्माण र महिमा

पशुपतिनाथको इतिहास सम्बन्धमा फरक–फरक किंवदन्ती छन्। अधिकांशले चौधौं शताब्दीका गोपालराज वंशावलीको किंवदन्तीलाई विश्वास गरेका छन्। गोपाल वंशावलीअनुसार बागमती नदीको तीरमा गोपालवंशीले बहुह्री नामकी गाईको दूध चढाउने गरेका थिए। ईशापूर्व १२०० अगाडि दूध चढाउने गरेको स्थानमा खनेर हेर्दा पशुपतिको ज्योतिर्लिंग भेटिएको थियो।

उक्त वंशावलीअनुसार राजा सुपुष्पदेवले नेपालमा वर्ण व्यवस्था कायम गरेका थिए। उनले पशुपति भट्टारकको देवल बनाएका थिए। मानदेव प्रथमभन्दा ३९ पुस्ताअगाडिका राजा सुपुष्पदेवले ईपू ३०० तिर निर्माण गरेको पाँचतले मन्दिरलाई मध्यकालीन राजा शिवदेवले विक्रम संवत् ११५६ देखि ११८३ को समयमा जीर्णोद्धार गरेको प्रसंग गोपाल वंशावलीमा पाइन्छ। शिवसिंह मल्लकी रानी गंगारानीले जीर्णोद्धार गरेको पशुपतिनाथको स्वरूप नै हालको पशुपतिको वर्तमान स्वरूप रहेको डा. सन्ध्या खनाल पराजुलीको अनुसन्धानले देखाएको छ। उनका अनुसार पशुपतिनाथको स्वरूप पञ्चब्रह्मको प्रतिनिधित्व गर्दै ‘पञ्चवक्त्र स्वरूप’ हो। यसमा उध्र्ववक्त्र, पूर्ववक्त्र, दक्षिणवक्त्र, उत्तरवक्त्र र पश्चिमवक्त्र छन्।

उध्र्ववक्त्रका इशान स्वरूप क्षेत्रका अधिष्ठान, आकाश तत्वका प्रतीक, कामेश्वरी शक्ति भएका सदाशिव रूप हुन्। पूर्ववक्त्र तत्पुरुषस्वरूप भोग्य अव्यक्तका अधिष्ठान, वायुतत्वका प्रतीक, अथर्ववेदस्वरूप, पूर्णेश्वरीशक्ति भएका ईश्वर रूप हुन्। दक्षिणवक्त्र अघोरस्वरूप, बुद्धिका अधिष्ठान, अग्नितत्वका प्रतीक, सामवेदस्वरूप, निशेश्वरी शक्ति भएका रुद्र रूप हुन्। उत्तरवक्त्र वामदेवस्वरूप, अहंकारका अधिष्ठान, जलतत्वका प्रतीक, यजुर्वेदस्वरूप सिद्धेश्वरी शक्ति भएका विष्णुरूप हुन्। पश्चिमवक्त्र सद्योजातस्वरूप, मनका अधिष्ठान, पृथ्वीतत्वका प्रतीक, ऋग्वेदस्वरूप, कुब्जिका शक्ति भएका ब्रह्मा रूप हुन्।

बंगालका सुल्तान समसुद्दिनले नेपाल संवत् ४७० (वि.सं १४०६) मंसिरमा सात दिनसम्म आक्रमण गरेर ध्वस्त पारी पशुपतिनाथमा आगो लगाएका थिए। जसकारण पशुपतिनाथको शिवलिंग तीन टुक्रा भएको गोपाल वंशावलीमा उल्लेख छ। १४०६ को पाटन पिंबहाल अभिलेख र १४२९ को स्वयम्भू अभिलेखमा पनि सुल्तानले ध्वस्त गरिदिएको उल्लेख गरेको छ। नेपाल संवत् ८१७ (वि.सं १७५३) मा भूपालेन्द्र मल्ल र उनकी आमा ऋद्धिलक्ष्मी पशुपतिमै बसेर कात्तिक महिनामा मन्दिर भत्काउन सुरु गरेर अर्को वर्षको वैशाख शुल्क एकादशीमा पशुपति मन्दिरमा गजुर चढाइयो। सात महिना लगाएर मन्दिर निर्माण कार्य सम्पन्न भएको थियो। विंस १७५४ मा भूपालेन्द्रले निर्माण गराएको स्वरूपमै हालको स्वरूप हो।

शिवसिंह मल्लकी रानी गंगारानीले बनाएको स्वरूप नै भूपालेन्द्र मल्लले निर्माण गरेका हुन्। पशुपतिनाथको मन्दिरमा दुईतले सुनको मोलम्बा (जलप) युक्त छाना भएको छ। पशुपतिका चारैतिर तीन÷तीनवटा गरी १२ ढोका छन्। ढोकामा चाँदी र ठाउँठाउँमा सुनको जलप लगाइएको छ। पशुपतिनाथ मन्दिरको उचाइ २३.७ मिटर छ। पशुपतिसँगै क्रमशः चलाइएका दर्जनौं जात्रा, पर्व र पूजा सञ्चालित छन्। पशुपतिनाथको महिमा विशेष बनाउन सञ्चालित जात्रा–पवार्थ गुठी राखिएको र सोही जग्गाको कुतबालीमार्फत जात्रा, पर्व र पूजा कोष र संस्थानले चलाइरहेका छन्।


‘मोहीनाइके नहुँदा गुठी हराउन थाले’

– डा. गोविन्द टण्डन, पशुपतिनाथको विषयमा विद्यावारिधि

पाशुपत क्षेत्रका जात्रा, पर्व र पूजाको महत्त्व विशेष छ, जसले समग्र हिन्दु धर्मावलम्बीको प्रतिनिधित्व गरेका छन्। यहाँका जात्रा, पर्व र पूजा भनेकै संस्कृतिको अभिन्न रूप हो। यी संस्कृति बचाउन सके मात्र पशुपतिको महत्त्व झल्किन्छ। संस्कृतिले नै हो समाजलाई नेतृत्व दिने पनि। त्यसैले पनि संस्कृति बचाउन समाज लाग्नुपर्छ।

पाशुपत क्षेत्रका जात्रा–पर्व बचाउन गुठी राखिएका थिए। तिनलाई बचाउँदै समसामयिक बनाउन नसकेरै केही जात्रा–पर्व बन्द भए भने धेरै बन्द हुने अवस्थामा पुग्दैछन्। गुठी जग्गा राखिएका गुठीयारले आआफ्नो बनाएर जग्गा बेचबिखन गरेका छन् भने केहीले यसरी नै खुम्च्याउँदै लगेका छन्। १८६२ सालमा गुठी हरण भएको थियो। पछि राज्यलाई ती जग्गा नफापेको महसुस भएपछि फिर्ता गरेको इतिहास हामीसँग साक्षी छ। देवीदेवतासँग सम्बन्धित गुठीलाई मास्दा कसैको भलो नहुने पुष्टि प्रमाण हुँदाहुँदै पनि अहिले धेरैले ती जग्गामा आँखा गाडेको अवस्था छ। तर पनि कोषले त्यसलाई नियन्त्रण गर्न सकिरहेको छैन।

राज्यले हरण गर्न नसक्ने गुठी अहिले हरण भएको अवस्थालाई राज्यले पनि गम्भीर रूपले लिन सकेन। राजगुठीलाई निजी गुठीमा ल्याएर भाइभाइबीच भागबन्डा गर्ने काम पनि भएका छन्। ती जग्गा बिक्री गरेर थोरै रकम बैंकमा राखी त्यसको ब्याजले गुठीको कुत बुझाउने पनि छन्। चलिहाल्छ भनेर जे गरे त्यो अहिले समस्याको विषय भएको छ। यस्ता समस्या धेरै गुठीमा छन्। पशुपतिवरिपरि बस्नेलाई कोषले ठाउँ खाली गर्न मुआब्जा दिएर अन्यत्रै सार्नुपर्‍यो। यसकारण पनि जात्रा–पर्व थेग्नेहरू परपर हुँदै गए। सोही क्रममा पशुपति प्रांगणपश्चिमका एक सय १९ घरको अधिग्रहण गरियो। बसाइँ सरेर जाँदा जात्राप्रतिको मोहभंग भयो। नयाँ पुस्ता सबै जात्रा, पर्व र पूजामा अभ्यस्त पनि छैनन् र रुचि राख्दैनन् पनि।

पशुपतिनाथमा हुने जात्रा–पर्वमा पछिल्लो समय सहभागिता पनि विगत वर्षभन्दा निकै कम भएको देखिन्छ। यो सबै आधुनिक समयले पनि हो। मोबाइल, टेलिभिजन र अन्य मनोरञ्जनका साधनले विगतमा हुने जात्रा–पर्वको मनोरञ्जन खोस्दै लगेको छ। रैरकमीले पनि समयअनुसार महँगी धान्ने अवस्था नहुँदा पूर्णरूपेण काम गर्ने जाँगर हराउन थालेको हुन सक्छ। आजको दिनमा गुठीले धान्न समस्या भएका जात्रा, पर्व, मेला र पूजालाई कोषले जेनतेन धानिदिँदैछ। तर यो कतिञ्जेल?

तराईमा भएको जग्गा तत्कालीन मूलभट्ट पद्मनाभ शास्त्रीले ज्ञानप्रसाद पोखरेललाई अधिकार दिएर पठाएपछि सर्लाही, सिरहा, पर्सा र रौतहटका जग्गा मनलाग्दी रसिद काटेर कमाउन दिए। तर त्यसको लगत अमालकोट कचहरीसँग राखिएन। पछि मनलाग्दी काम देखिएपछि उनलाई हटाइयो तर जात्रा–पर्व सञ्चालनमा आउनुपर्ने कुत अझैसम्म आएको छैन। यसले पनि कति काममा समस्या भएको देखिन्छ। अन्य गुठी जग्गाबाट हुने आम्दानी पनि घट्दैघट्दै गएको छ। कतिपय जात्रा–पर्व आफैंआफैं धानिरहेका उदाहरण पनि छन्।

पुरानो पुस्ता सधैं रहने कुरो भएन। नयाँ पुस्तालाई बाजे–जिजुबाजेले राखिदिएका गुठीका नामका जग्गाको पूर्ण फेहरिस्त थाहा छैन। संरक्षण गर्न चाहने पुस्ताले पनि भनेजसरी काम गर्न नसक्दा÷नपाउँदा जात्रा–पर्वमा संकट पर्न थालेको हो। विगतमा गुठी संस्थानमा मूल नाइके हुन्थे। राजगुठी र निजी गुठी दुवैमा मूल नाइके थिए। पछिल्लो समय सरकारले तिनलाई हटाएर कर्मचारीलाई सर्वेसर्वा बनायो। त्यसैले मूल नाइकेसँग भएको गुठीको सबै विवरण र विधि पूर्णतः हरायो। जसले गर्दा जात्रा, पर्व, मेला र पूजा सबैमा संकट आएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.