स्वदेशी चिनी खरिद गर्दै साल्ट ट्रेडिङ

स्वदेशी चिनी खरिद गर्दै साल्ट ट्रेडिङ

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसनले स्वदेशी उद्योगसँग चिनी खरिद प्रक्रिया अघि बढाएको छ। आपतकालीन समयका लागि कर्पोरेसनले २० हजार मेट्रिक टन चिनी खरिद गर्न लागेको हो। स्वदेशी उद्योगबाट उत्पादित चिनीको मूल्य वृद्धि हुने अवस्था आउन लाग्दा मागअनुसार बजारमा सहज आपूर्ति व्यवस्थापन गर्न कर्पोरेसनले चिनी खरिद गर्न टेन्डर आह्वानसमेत गरिसकेको छ।

‘स्वदेशी उद्योगीले कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा पाउनुपर्ने माग अघि सारिरहेका छन्’, कर्पोरेसनका सहमहाप्रबन्धक कुमार राजभण्डारीले भने, ‘निजीक्षेत्रका माग पूरा भएको अवस्थामा चिनीको उपभोक्ता मूल्य ९० भन्दामाथि पुग्न सक्छ। यस्तो अवस्थामा आम उपभोक्तालाई सुलभ मूल्यमा चिनी उपलब्ध गराउन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएका छौं।’

स्वदेशी उद्योग जोगाउन भन्दै राज्यबाट सुविधा लिएका उद्योगीले अहिले चिनीको लागत मूल्य वृद्धि गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित अर्थ मन्त्रालयसँग लविङ गर्दै आएका छन्।

नेपाल चिनी उत्पादक संघले उपभोक्ता मूल्य प्रतिकिलो आठ रुपैयाँसम्म बढाउने उद्देश्यले प्रतिकिलो चिनीको लागत मूल्य भ्याटबाहेक ७८ रुपैयाँ १० पैसा कायम हुनुपर्ने माग गरेका छन्। उद्योगीको यो माग पूरा हुने हो भने उपभोक्ताले भ्याटसहित प्रतिकिलो चिनी खरिद गर्न ९० देखि ९५ रुपैयाँ खर्चिनुपर्नेछ। कर्पोरेसनसँग अहिले करिब पाँच हजार मेट्रिक टन चिनी मात्रै मौज्दात छ। भारतसँग खरिद भएको दुई हजार पाँच सय मेट्रिक टन चिनी वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भदौदेखि अलपत्र छ। सरकारले स्वदेशी उद्योगीको मागअनुसार भदौ ३० गते चिनी आयातमा एक लाख कोटा निर्धारण गरी परिमाणात्मक बन्देज लगाएपछि कर्पोरेसनको यो चिनी वीरगन्जमा थन्किएको हो।

‘चिनीको स्टक सकिँदै छ’, राजभण्डारीले भने, ‘कर्पोरेसनले स्वदेशी चिनी खरिद गरिदिए किसानलाई भुक्तानी दिन सजिलो हुने भनेर उद्योगीबाट पटक पटक धारणा सार्वजनिक भएकाले स्वदेशी चिनी नै खरिद गर्न लागिएको हो।’ उनका अनुसार टेन्डर आह्वान भए पनि हालसम्म स्वदेशी उद्योगीले प्रस्ताव गरेका छैनन्।

आपतकालीन समयका लागि कर्पोरेसनले २० हजार मेट्रिक टन चिनी खरिद गर्न लागेको छ।

यसअघि भदौमा पनि स्वदेशी उद्योगसँग कर्पोरेसनले चिनी खरिद गर्ने टेन्डर आह्वान गरेको थियो। तर उद्योगीले मिलेमतो गरी बजार मूल्यभन्दा महँगो मूल्यमा कर्पोरेसनमा प्रस्ताव गरेकाले टेन्डर रद्द भएको थियो। तत्कालीन समयमा कर्पोरेसनले केही समयको अन्तरालमा ३० हजार मेट्रिक टन खरिद गर्न टेन्डर आह्वान गरेको थियो। उद्योगीले बजारमा बिक्री हुने मूल्यभन्दा प्रतिकिलो दुई रुपैयाँ बढी मूल्य राखेर मिलोमतोमा प्रस्ताव गरेका थिए।

निजी क्षेत्रका चिनी उद्योग एभरेस्ट, रिलायन्स, इन्दुशंकर र इस्टर्न सुगर मिलले मिलेमतो गरी प्रतिकिलो कारखानाको गेटमा भ्याटसहित ६४ रुपैयाँ प्रस्ताव गरेका थिए। निजी उद्योगले भने बजारमा प्रतिकिलो भ्याटसहित ६१ देखि ६२ रुपैयाँमा बिक्री गरेका थिए। भ्याटबाहेक निजी उद्योगले चिनीको बजार मूल्य ५४ रुपैयाँ राखेका थिए। ‘पहिलेजस्तै बजार मूल्यभन्दा बढी मूल्य आयो भने स्वीकार गर्न कठिन हुन्छ’, उनले भने, ‘उचित मूल्य आएमा यो वर्ष स्वदेशी चिनी खरिद गर्छौ।’

उद्योगीले मिलेमतो गरी टेन्डर हाल्दा साल्टलाई यसअघि पनि ठूलो घाटा लागेको थियो। करिब ६ वर्ष पहिला पनि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले अर्थ मन्त्रालयको दबाबमा चिनीको अभाव टार्न उद्योगीसँग १० हजार मेट्रिक टन चिनी खरिद गरेको बताए। निजी उद्योगसँग चिनी खरिद गर्दा घाटा लागे अर्थले व्यहोर्ने आश्वासन दिएको थियो। राजभण्डारीले भने, ‘आश्वासनका आधारमा हामीले बजार मूल्यभन्दा प्रतिकिलोमा झन्डै चार रुपैयाँ महँगोमा दुईवटा निजी उद्योगसँग १० हजार मेट्रिक टन चिनी खरिद गरेका थियौं। निजीसँग खरिद गरिएको उक्त चिनीको बजार मूल्य प्रतिकिलो ६५ कायम गरी बिक्री गर्न लाग्दा निजी क्षेत्रले आफ्नो चिनीको बजार मूल्य ५७ मा झारेका थिए।’ यसैकारण साल्टले चार करोड ८५ लाख रुपैयाँको घाटा व्यहोर्नुपरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.