लु सुनका नातिसँग एक साँझ
नेपालमा सबैभन्दा बढी परिचित चिनियाँ साहित्यकार हुन्– लु सुन। चिनियाँ साहित्यकारमध्ये नेपालीले सबैभन्दा बढी पढेको नाम पनि लु सुन नै हुनुपर्छ। कुनै समय नेपालमा हरेक वर्ष नबिराइकन लु सुनलाई औपचारिक कार्यक्रमसहित सम्झिने गरिन्थ्यो। त्यस्ता धेरै संस्था थिए– जसले लु सुन र लु सुनजस्तै साहित्यकारहरूको सम्झना गर्थे, गराउँथे। त्यस्ता कार्यक्रम अहिले हुन छाडेका छन्।
लु सुन अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्व हुन्। उनका पाठक र प्रशंसक विश्वभर छन्। लेखकसँग पाठकको सम्बन्ध सधैंभरि रहन्छ। हामी लु सुनका पाठक हौं। लु सुनसँग उनका पाठकको हैसियतमा सम्बन्ध भए पनि उनका नातिसँग हाम्रो के सम्बन्ध ? तर, यसपटक लु सुनकै कारण उनका नाति पनि हाम्रो भेटघाटको सरोकारसँग सम्बन्धित बन्न पुगे।
लु सुनका नाति को हुन् र के हुन् भन्ने जानकारी नपाउँदासम्म उनीसँगको भेटघाटको अर्थ खोज्नु स्वाभाविक थियो। तथापि, लु सुनका बारेमा लु सुनकै नातिबाट अतिरिक्त जानकारी पाउन सकिन्छ कि भन्ने विश्वास हामीमा थियो। त्यसैले हामी लु सुनका नातिलाई भेट्न पुगेका थियौं।
आँखीभौं यी क्रुद्ध तुल्याउँदै
लिन्छु म टक्कर कत्ति नआत्तिई
मलाई ताक्ने यी हज्जार औंलाहरूको
शिर झुकाउँदै, विनम्र गोरु झैं
गर्छु म सेवा बालकहरूको।
– लु सुन
साहित्यकार लु सुनका कविताका यी पंक्ति ‘हाम्रा लागि निर्देशक सिद्धान्त हुनुपर्छ’ भनेर माओले प्रशंसा गरेको कुरा पढेपछि म लु सुनप्रति जिज्ञासु बनेको थिएँ। यसअघि कहिल्यै लु सुनको नामसमेत नसुनेको म जस्तो पाठकका लागि माओको अभिव्यक्तिले वास्तवमै लु सुनप्रति आकर्षित गराएको थियो।
एउटा समय थियो – माओ र उनका रेडबुकको। माओका रेडबुक हातमा बोक्ने, पढ्ने वा पढेजस्तो गर्ने र तिनलाई कोठामा सजाएर राख्ने लहर नै चलेको थियो। विशेषगरी विचारमा स्पष्ट नभएका, भूमिगत कम्युनिस्ट पार्टीमा नलागेका तर कम्युनिस्ट बन्न आतुर नवयुवाहरूमा त्यसको प्रभाव बढी थियो। म पनि त्यस्तै थिएँ। माक्र्स, लेनिनको नाम सुन्नुभन्दा पहिला मैले माओको नाम सुनेको हुँ। कम्युनिस्ट पार्टीको घोषणापत्र देख्नुभन्दा पहिला माओका रेडबुकहरू देखेको हुँ। माओका चुनिएका रचनाहरू पढ्ने क्रममै मैले लु सुनको नाम सुनेको हुँ। ‘लु सुन चीनको सांस्कृतिक क्रान्तिका प्रधानसेनापति हुनुहुन्थ्यो। उहाँ महान् साहित्यकार मात्र होइन, महान् विचारक तथा क्रान्तिकारी पनि हुनुहुन्थ्यो’ भन्ने माओको प्रशंसायुक्त वाक्यांश पढेपछि त मलाई लु सुन तत्कालै नपढी नहुने व्यक्तित्व लाग्यो। म लु सुनका रचनाहरूको खोजीमा लागेँ।
फुटकर रूपमा मैले सबैभन्दा पहिले पढेको लु सुनको कथा हो – ‘ओखती’। असल क्रान्तिकारीलाई चिन्न नसक्ने र हत्यापछि उसैको रगतलाई रोग निको पार्ने ओखतीको रूपमा प्रयोग गर्ने असचेत सामाजिक अवस्थाका बारेमा लु सुनले जीवन्त कथा लेखेको अनुभूति मैले गरेँ। त्यसको लगत्तै मैले ‘कुङ इची’ भन्ने कथा पढेको थिएँ। सामन्ती समाजको शिक्षा प्रणाली र दरिद्र बुद्धिजीवीहरूको धज्जी उडाउने यो कथा पनि मलाई ज्यादै नै प्रभावशाली लाग्यो। त्यसपछि म लु सुनका रचना खोजीखोजी पढ्न थालेँ।
लु सुनका रचनाहरू पढ्दै जाने क्रममा मैले सबैभन्दा पहिला पढेको कृति हो – ‘बौलाहाको डायरी’। चिनिया समाज र राजनीतिबारे खासै जानकारी नभएको अवस्थामा मैले लु सुनको यस कृतिका कतिपय विषय–प्रसंग र तिनको अभिव्यक्तिमा प्रयुक्त व्यंग्यलाई बुझ्न सकिनँ। अलिपछि चिनियाँ राजनीति र समाजबारे अलिअलि अध्ययन गरेपछि मैले ‘बौलाहाको डायरी’ फेरि पढेँ। त्यसपछि मात्र मैले लु सुनको लेखकीय विचार र शिल्पलाई आंशिक रूपमा भए पनि बुझेको थिएँ।
यातना–ग्रन्थीबाट पीडित एउटा रोगीसम्बन्धी सामान्य घटनालाई आधार बनाएर चिनियाँ समाजको बृहत्तर आयामलाई यस आख्यानमा अनुपम शिल्पका साथ उतारेको अनुभव मैले गरेँ। चीनको पुरानो समाजको वास्तविक रोगलाई उजागर गर्ने विषयमा उनको यो कृति उत्कृष्ट लाग्यो। आख्यानमा शक्तिशाली व्यंग्य प्रयोगका दृष्टिले समेत विशिष्ट मानिएका लु सुन समाजको त्यो रोगलाई निको पार्ने कुरामा सबैको ध्यानाकर्षण गराउनसमेत अत्यन्तै सफल रहेको महसुस भयो। एकातिर ‘कन्फुसियाली नैतिकता’ को आडम्बर र अर्कोतिर ‘मान्छे खाऊ’ भन्ने सामन्ती समाज ! चिनियाँ सामन्ती समाजको त्यो नरभक्षी, क्रूर र कुरूप यथार्थलाई यति बेजोड ढंगले प्रस्तुत गर्ने कृति अहिलेसम्म यही ‘बौलाहाको डायरी’ मात्र होला।
लगभग २५ जनाको प्रतीक्षाका बीच लु सुनका नाति कुनै भद्दा औपचारिकताबिना सामान्य उपस्थितिमा देखा परेका थिए। उनलाई देख्नेबित्तिकै हामी अलिकति प्रफुल्लित पनि भयौं। लु सुनको फोटोबाट लु सुनलाई चिन्नेहरूले भने – ‘ठ्याक्कै लु सुनजस्तै।’
पुस्तकाकारमा मैले पढेको लु सुनको अर्को कृति हो– ‘आह क्युको साँचो कथा’। सन् १९११ को क्रान्तिको सेरोफेरोमा लेखिएको यस कथामा उक्त क्रान्तिप्रति लु सुनले सकारात्मक भाव राखेको पाइँदैन। बरु आलोचना नै गरेका छन्। गाउँको विपन्न भएर पनि आफूलाई सानो मानिस नठान्ने आह क्युमार्फत लु सुनले चिनियाँ समाजमा रहेको सामन्ती सोचलाई ‘विषाक्त विचार’ को रूपमा प्रस्तुत गरेका छन्। क्रान्ति आरम्भ भएपछि त्यसमा सहभागी हुन खोज्ने आह क्युलाई भाग लिन नदिई क्रान्तिलाई बेचिएको सन्दर्भ पनि यस उपन्यासमा पाइन्छ। केही दानवी रूपका मानिसले मात्र क्रान्तिको फल खान पाएको कुरालाई पनि उपन्यासमा सुन्दर शिल्पसहित प्रस्तुत गरिएको मलाई लाग्यो। विभिन्न भूmटा आरोपहरूमा आह क्युको हत्या गरिएको प्रसंगले चीनको तत्कालीन राजनीतिक एवम् सामाजिक अवस्था कस्तो थियो भन्ने कुरालाई प्रस्टसँग संकेत गरेको बुझ्न सकिन्छ।
यी दुई कृति पढिसकेपछि मैले लु सुनका अन्य कथा, निबन्ध र कविताहरू पनि भेटेसम्म पढ्न थालेँ। अहिलेसम्म पनि उनका सबै कृति पढ्न नसके पनि जे जति पढियो, त्यसका आधारमा मैले लु सुनलाई आफ्नो समाजलाई बुझ्ने, प्रखर व्यंग्य चेत भएका, विचारमा सचेत रहेका, विषयलाई गहिराइमा बुझेका र शक्तिशाली लेखनशिल्पका विश्वकै एक शक्तिशाली लेखकको रूपमा बुझेको छु।
०००
विभिन्न पुस्तकमा प्रकाशित फोटोका आधारमा लु सुनको अनुहार सम्झिँदै हामी कुरा गरिरहेका थियौं, ‘लु सुन त्यस्ता थिए, लु सुनका नाति चाहिँ कस्ता होलान् ? ’ खगेन्द्र संग्रौला, गोविन्द वर्तमान, सुरेश ढकाल र मेरो संयुक्त जिज्ञासा थियो। भेटघाट कार्यक्रमको संयोजन गरिरहेका घनश्याम भुसाल, नारायण ढकाल र श्यामलसँग पनि हामी सोधिरहेका थियौं, ‘कस्ता छन् लु सुनका नाति ? उनी के हुन् र के गर्छन् ? ’ लु सुनका नातिलाई भेट्नुभन्दा एकैछिन अघिसम्मको हाम्रो यो कौतुहल २०६८ साल माघ २ गते साँझ उनलाई टाढाबाट देख्नेबित्तिकै मेटिएको थियो।
लगभग २५ जनाको प्रतीक्षाका बीच लु सुनका नाति कुनै भद्दा औपचारिकताबिना सामान्य उपस्थितिमा देखा परेका थिए। उनलाई देख्नेबित्तिकै हामी अलिकति प्रफुल्लित पनि भयौं। लु सुनको फोटोबाट लु सुनलाई चिन्नेहरूले भने– ‘ठ्याक्कै लु सुनजस्तै।’ नेपालमा लु सुनलाई चिन्ने र चिनाउने शान्तदास मानन्धरमात्र होइन, लु सुनका प्रशंसक विमल निभा, पुरुषोत्तम सुवेदी, डा. सरोज धिताल, कृष्णमुरारी भण्डारी, सुलोचना मानन्धर, विनोदविक्रम केसी, योगेश भट्टराई, विजय पौडेल, कोमल भट्टराई, रामकुमारी झाँक्री, अनुप सुवेदी, राजेन्द्र पराजुली, नवीन सुब्बालगायत सबैले लु सुनको जस्तै अनुहारमा लु सुनका नातिलाई देखे।
लु सुनका नाति अर्थात् चाओ लिङ्गफेई। वास्तवमा उनी लु सुनका नातिमात्र रहेनछन्। चिनियाँ समाजका एक प्रतिष्ठित व्यक्तित्व पनि रहेछन्। उनी ‘सांघाई लु सुन सांस्कृतिक विकास केन्द्र’का अध्यक्ष रहेछन्। ‘लु सुन फोरम अर्गनाइजिङ कमिटी’का अध्यक्ष पनि रहेछन्। लु सुन साहित्य पुरस्कार समितिका अध्यक्षसमेत रहेछन्। त्यसबाहेक अन्य तीन–चारवटा राष्ट्रियस्तरका सामाजिक संघसंस्थाहरूमा समेत नेतृत्वदायी ढंगले संलग्न भएर क्रियाशील रहेछन्। पहिले, लु सुनका नातिका रूपमा मात्र उनलाई बुझिरहेका हामी उनको संलग्नता र क्रियाशीलताबारे जानकारी पाएपछि छुट्टै पहिचानमा उनलाई देख्न पुग्यौं। उनीसँगको संक्षिप्त भेट एउटा सार्थक साँझका रूपमा बित्यो।
लु सुनको नाममा रहेका विभिन्न संस्थाका प्रमुखसमेत रहेका चाओ लिङ्गफेई सात जनाको टोलीसहित नेपाल भ्रमणमा आएका रहेछन्। उनको टोलीमा ६ वटा क्यामरा बोकेका चीनका नाम चलेका फोटोग्राफर, चर्चित चित्रकार र इन्जिनियरसमेत थिए। नेपाललाई माया गरेर नेपालको अध्ययन–भ्रमण गर्न आएका उनीहरू नेपालको सौन्दर्य र नेपालीको मायाबाट मोहित बनेका थिए।
चाओले चीनमा लु सुनका बारेमा विभिन्न गतिविधि भइरहेको जानकारी हामीलाई गराए। उनले भनेका थिए, ‘चीनमा लु सुनका बारेमा झन्डै एक लाख जति अध्ययन–अनुसन्धानहरू भइसकेका छन्। उनका नाममा ६ वटा महत्वपूर्ण स्मृति केन्द्रहरू छन्। लु सुनका नाममा स्कुल–कलेजहरूको स्थापना भएको छ। उनका नाममा अध्ययन–अनुसन्धान केन्द्रहरू छन्। उनकै नाममा विभिन्न महत्वपूर्ण सहरहरूमा पार्कहरूको निर्माण भएको छ। बेइजिङमा लु सुन कला संग्रहालय पनि छ। लु सुनका १६ वटा रचना स्कुल–कलेजहरूमा पढाइन्छन्।’
तापनि, चाओ लु सुनका नाममा जे जति भइरहेछ त्यसमा प्रसन्न भने देखिएनन्। लु सुनका नाममा जे जति भइसक्नुपर्ने थियो, त्यो नभएको उनको गुनासो थियो। लु सुनका नाममा केही भइरहे पनि त्यो पर्याप्त नभएको उनले बताएका थिए। त्यसमा पनि अहिलेको पुस्तामा लु सुनलाई चिनाउने प्रयत्न नभएकोमा उनी अत्यन्तै दुःखित थिए।
नेपालमा पनि लु सुनका नाममा एउटा अध्ययन केन्द्र स्थापना होस् भन्ने चाहना चाओको थियो। त्यसका लागि उनले प्रधानमन्त्रीलाई पनि भेटेर कुरा गरेका रहेछन्। नेपालमा लु सुनलाई सम्मान गर्ने र उनका रचनालाई मन पराएर पढ्ने पाठकहरू धेरै भएकोमा प्रसन्न बनेका चाओले नेपाली र चिनियाँ साहित्यको आपसी अध्ययनलाई अगाडि बढाउन जरुरी ठानेका थिए। त्यसका लागि नेपाली साहित्यकार र चिनियाँ साहित्यकारका बीच भेटघाटको आदानप्रदानलाई महत्व दिनुपर्ने धारणा पनि उनको थियो। चिनियाँ साहित्यबारे जानकारी पाउन सामग्रीकै अभाव रहेको अवस्थालाई हटाउन र नेपाली साहित्यबारे बिल्कुल अनभिज्ञ रहेका चिनियाँ साहित्यकारका लागि जानकारी प्रदान गर्न लु सुन अध्ययन केन्द्र बन्न सके त्यही नै एउटा दर्बिलो माध्यम बन्न सक्ने विचार पनि चाओको थियो।
लु सुन नेपाली जनसाहित्यका समेत विशेष प्रेरणास्रोत हुन्। लु सुनको निधन भएको पनि ७४ वर्ष बितिसकेको छ तर लु सुनका कृतिहरूको सान्दर्भिकता र महत्व कमजोर बनेको छैन। बरु लु सुनका कृतिहरूको महत्व अझै शक्तिशाली बन्न पुगेको छ। लु सुनका नाति चाओले नेपालमा लु सुन अध्ययन केन्द्रको स्थापना गर्नका लागि देखाएको चासोले लु सुनलाई सम्मान गर्नेहरूमा खुसी बढाउनु स्वाभाविक हो। निस्वार्थ भावनाका साथ उनका नाममा नेपालमा केही हुन सक्यो भने त्यसले नेपाली साहित्यको विकास र विस्तारमा समेत महत्व राख्ने थियो। तर निस्वार्थ भावनाका साथ त्यसको अगुवाइ गर्ने कसले ?
लु सुनका नाति चाओले निस्वार्थ भावनाका साथ लु सुनका बारेमा अध्ययन केन्द्र बनाउने कुरामा सहयोग पुर्याउने कुरा गरेका थिए। उनले भनेझैं निस्वार्थ भावनाका साथ त्यस्तो काममा लाग्नका लागि त्यहाँ उपस्थित कसैले पनि सहमतिको संकेत दिन सकेनन्। उनको जुन इच्छा थियो, त्यसप्रति सबैको मौनता देखेर उनी अप्ठ्यारो पनि मानिरहेका थिए।
वास्तवमा जुन उत्साहका साथ उनी आएका थिए, त्यो उत्साह उनमा बाँकी थिएन। आफूले गरेको अपेक्षामा त्यस भेलाले कुनै सार्थक सहयोग पुर्याउने सम्भावना नदेखेपछि उनको अनुहारको भावसमेत एकाएक परिवर्तन भएको थियो। भेटघाटका अन्तमा उनी निकै खिन्न र निराश देखिएका थिए। अन्ततः उनलाई निराशामै छोडेर हामी त्यहाँबाट हिँड्यौं। उनको प्रस्तावअनुसार, लु सुनका नाममा निस्वार्थ सहयोग पुर्याउन असमर्थ बन्न पुगेकामा हामी आफैं पनि खिन्न थियौं।