ईपीजीबारे राजदूत मौन
काठमाडौं : भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनबारे आफू नबोल्ने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन कहिले बुझ्ने भन्ने विषयमा उनले प्रतिक्रिया दिएनन्।
‘म ईपीजीमा आबद्ध छैन। यो स्वायत्त संरचना हो’, भारतको ७० औं गणतन्त्र दिवसको सन्दर्भमा शुक्रबार रिपोर्टर्स क्लबले गरेको अन्तक्र्रियामा उनले भने, ‘नेपालबाट डा. भेषबहादुर थापाले ईपीजीको नेतृत्व गर्नुभएको छ। म यसको जवाफ दिन सक्दिनँ।’
ईपीजीका संयोजक रहिसकेका डा. थापाले भने प्रतिवेदन कार्यान्वयन गर्न दुवै मुलुकको ध्यानाकर्षण गराए। नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ बनाउन प्रतिवेदन महत्त्वपूर्ण हुने उनले बताए। यसलाई कसरी अघि बढाइन्छ भन्ने प्रतीक्षामा रहेको पनि उनको भनाइ थियो।
नेपाल र भारतबाट समूहमा आबद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दाबी उनले गरे। ‘धेरै मिहिनेत गरी प्रतिवेदन तयार गरेका हौं’, उनले भने, ‘यसमा दुवै देश संयुक्त रूपमा जिम्मेवार बन्नुपर्छ।’
कांग्रेस नेता डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताए। भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्यका लागि भारतको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। ईपीजी प्रतिवेदन दुवै मुलुकले बेवास्ता गरेको हो कि भनेर उनले आशंका गरे।
पूर्वमन्त्री अनिल झाले भने मधेसले प्रतिवेदन इन्कार गर्ने चेतावनी दिए। ‘ईपीजीमा मधेसी समुदायको सहभागिता रहेन’, उनले भने, ‘बोर्डरमा के समस्या छ ? सम्बन्ध कुन प्रकारले अघि बढ्ने हो, त्यसमा जानकारी नभएकाले यसको समीक्षा हुनुपर्छ।’