अमूर्त चित्रकलाको ‘संगालो’
काठमाडौं : एकदमै जिर्ण दशगजा सीमामा उभिएको छ। जहाँ फूलिरहेका छन् दुई फूल। एउटा लालीगुराँस र अर्को, कमल। सप्तरीका हरिओम मेहेताले बनाएको यो चित्रले नेपाल–भारतको कूटनीतिक सम्बन्ध दर्शाउदैन। मेहेताका अनुसार राष्ट्रिय सम्बन्ध भन्दाअघि सरेर मानव सम्बन्धको कथा भन्छ।
नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएको चित्रको नाम हो ‘नाता’। माघ नै गतेबाट सुरु भएको ‘संगालो’ चित्रकला प्रदर्शनीमा यो चित्रले नेपाल– भारत सीमा क्षेत्रमा कथा भनिरहेको छ।
चित्रकार मेहेतले सीमा स्तम्भ दशगजामामा नेपालको राष्ट्रिय फूल लालीगुराँस र भारतको राष्ट्रिय फूल कमलको संयोजनबाट कुनै नयाँ फूल फूलाएका छन्।
‘जुन बेला कुनै राष्ट्रिय सीमा थिएन, हामी कुनै देशमा विभाजित भएका थिएनौं त्यो बेला हामी मानिसहरूको नाता कस्तो थियो भन्ने प्रश्न यो चित्रकलाले गर्छ’, मेहेता भन्छन्, ‘सीमा मिच्ने प्रतिस्प्रर्धाले नै चित्रको दशगजा जीर्ण छ।’
उनै मेहेताको अर्को चित्र आर्ट काउन्सिलको भित्तामा झुन्डिएको छ। नाम हो– काखापाखा। चित्रमा देखाइएका मानिस कुनै काल्पनिक मानिस होइनन्। उनी सर्लाहीका गरिब मुसहर मुनर खदा हुन्। चित्रको तल्लो भागमा उनको सानो झुपडी छ। खदाका आँखाबाट आँसु बगिरहेका छन्।
मुसहर खदा आफ्नो कलामा समेटिनुको पनि आफ्नै कथा भएको चित्रकार मेहेता बताउँछन्। ‘खदाले एउटा जमिन लामो समय भोगचलन गर्दै आएका थिए तर अचानक त्यो जमिनलाई कसैले आफ्नो नाममा भएको दाबी गर्दै खोसिदियो, त्यसपछि उनको परिवार झुपडीम बस्न थाल्यो’, उनी भन्छन्, ‘सोही कारण मैले उनीमाथि चित्र बनाएको हुँ।’
शीर्षक– कोठियालय, स्थान– कोठी, दृष्य – एक स्त्री कोठीमा नग्न पल्टिरहेकी छिन्। उनको शरीरमा कछुवा चडेको छ। पछाडिको झ्यालबाट अन्य पीडित आखाँले उनलाई हेरिरहेका छन्।
चित्रकार सुरजजान सुवेदीले आफ्ना केही चित्र संगालो प्रदर्शनीमा राखेका छन्। उनका सबै चित्रको नाम कोठियालय नै हो। कोठीमा बेचिएकी नारीको कथालाई सुवेदीले चित्रमा उतारेका छन्। सबै चित्रमा कोठीका नारीहरूको बेदनालाई अमूर्त ढंगले उतारिएको छ।
‘नेपालका चेलीहरू पनि विभिन्न बाहिरी देशमा बेचिदै आएका छन्, उनीहरूले पनि धेरै पीडा भोगेका छन्’, चित्रकार सुवेदी भन्छन्, ‘कोठीको बेचिएकी तिनै चेलीहरूको पीडालाई मैले सबैमाझ देखाउन चित्र बनाएको हुँ।’
प्रदर्शनीमा कुमार दोर्जे तामाङका चित्रहरू पनि पृथक खालका छन्। दोर्जेका सबै चित्रले आत्मज्ञानको खोजी गर्छन्।
भिक्षु र वुद्ध उनका फरक(फरक चित्रमा दोहोरिएका छन् भने चित्रहरूको विषय छ ज्ञान। दोर्जेले आफ्नो सामुदायको संस्कृतिलाई कलात्मक तरिकाले चित्रमा उतारेका छन्।
भित्तामा झुन्ड्याइएको एउटा चित्र जहाँ एउटा दियो बालिएको छ। ‘दियोको पछाडि व्याकरउन्डमा बुद्धको तस्बिर छ, धमिलो। ‘बत्तिको उज्यालो भन्दा अगाडि बड्ने मानिसले नै साँच्चिकैको ज्ञान पाउँछ’, दोर्जे आफ्नो चित्रलाई आफै व्याख्या गर्छन्।
उनको अर्को चित्रको नाम हो, रुपान्तरण। एउटा कङ्कालको छेउमा एउटा भिक्षु हात जोडेर उभिएको छ। कङ्कलको नाकबाट दुईवटा फूल उम्रिएर भिक्षुतर्फ बढेका छन्। चित्रमा एउटा पुस्ताबाट अर्को पुस्तामा ज्ञानको रुपान्तरण भइरहेको व्याख्या गर्छन्, चित्रकार दोर्जे।
चित्रकार सन्तोष राईको आफ्नो कला प्रदर्शन तरिका नै फरक छ। किरात समुदाय अनुसार उनले आफ्नो कलालाई अझैं तिख्खर पार्न होम गरेका छन्। जहाँ किताबको चुलो र चित्र बनाउने सामग्रीलाई दाउराको रुपमा प्रयोग गरिएको छ।
‘दुई चारवटा कापी किताब र कुचीको होम लगाएर उत्कृष्ट सिर्जना दिन सक्छु भन्ने लागेको छ’, चित्रकर राईले भने, ‘यसो गर्नु भनेको आफ्नो कललाई पूजा गर्नु पनि हो । राईक चित्रहरू पनकै संस्कृति अनुरुपका छन्।