विश्व क्रिकेटमा रोहितको नयाँ कीर्तिमान : सचिन र शाहिदको रेकर्ड तोडियो
काठमाडौं : नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेलले विश्व क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्। एकदिवसीय क्रिकेट शृङखला अन्तर्गत यूएईसँगको दोस्रो खेलमा कम उमेरमै अर्धशतक बनाएर रोहितले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय प्रभावशाली खेलाडी सचिन तेन्दुल्कर र पाकिस्तानी शाहिद अफ्रिदीको रेकर्डा तोड्दै रोहितले आफ्नो नाममा रेकर्ड बनाएका हुन्। शनिबार १६ वर्ष एक सय ४६ दिनको उमेरमा उनले कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्।
यसअघि सचिन तेन्दुलकरले १६ वर्ष दुई सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्ट गेममा ५९ रन बनाउँदै कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका थिए।
शाहिद अफ्रिदीले १६ वर्ष दुई सय १७ दिनको उमेरमा श्रीलंकाविरुद्धको खेलमा जम्मा ३७ बलमा शतक हानेका थिए। पौडेलले एकदिवसीय शृङ्खला अन्तर्गत यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै विश्व रेकर्ड बनाएका हुन्।
रोहित नेपाली यू १९ राष्ट्रिय टोलीका अलराउण्डर हुन्। भैरहवाबाट छनोट भएका पौडेल यसअघि बालुवाटार क्रिकेट एकेडेमीबाट खेल्दै आएका थिए। यूएईमा शनिबार भएको खेलमा ब्याट समातेको केही मिनेटमै पौडेलले विश्व रेकर्ड बनाएका हुन्।
रोहित अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यू गर्ने सबै भन्दा कम उमेरका खेलाडीमध्ये पर्छन्। उनले गत अगष्टमा नेपालले आफ्नो इतिहासमै पहिलो एक दिवसीय शृंखला खेल्दा नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा ‘डेब्यू’ गर्ने अवसर पाएका थिए। एक दिवसीय खेलमा डेब्यू गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए।
भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढ्न सकेको नेपाली क्रिकेटले एकपछि अर्को कीर्तिमान आफ्नो नाममा बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल देखिएको छ। नेपाली क्रिकेटले यस अघि नै पनि केही अनौठो कीर्तिमान आफ्नो नाममा बनाएको थियो।
नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा कम बलमा जित हात पारेको कीर्तिमान आफूसँगै राखेको छ। नेपालले सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) कपअन्तर्गत भएको खेलमा म्यानमारले दिएको ११ रनको लक्ष्य दुई बलमै पार गरेको थियो।
नेपाली बलर मेहबुब आलमले अर्काे अनौठो कीर्तिमान कायम गरे। उनले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचअन्तर्गत मोजाम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएका थिए।
सो प्रदर्शनसँगै उनी अन्तर्राष्ट्रिय आधिकारीक प्रतियोगितामा यस्तो किर्तिमान कायम गर्ने पहिलो र एक मात्र खेलाडीका रुपमा रहदै आइरहेका छन्।
नेपालको शानदार जित
रोहितले विश्व रेकर्ड बनाएको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल एक सय ४५ रनको भारी अन्तरले विजयी भएको छ।
यो जितसँगै नेपालले शृंखलामा सानदार ‘कमब्याक’ पनि गरेको छ। दोस्रो एकदिवसीय खेल जितेसँगै तीन खेलको शृंखला १–१ को अवस्थामा पुगेको छ।
कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल शुक्रबार पहिलो एकदिवसीय खेलमा तीन विकेटले पराजित भएको थियो। त्यही कमजोर ब्याटिङमा सुधार ल्याउँदा नेपाल दोस्रो खेलमा भने ठूलो अन्तरको जित हात पार्न सफल भएको हो। यो जितसँगै नेपालले केही महत्वपूर्ण कीर्तिमानसमेत आत्मसात् गरेको छ।
हालसम्म पाँचवटा मात्रै अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको नेपालका लागि यो मात्रै दोस्रो जित हो। त्यसमध्ये यो अहिलेसम्म्को ठूलो अन्तरको जित पनि हो। नेदरल्यान्ड्सविरुद्ध इतिहासकै पहिलो शृंखलाअन्तर्गत गत अगस्टमा भएको दुईमध्ये दोस्रो एकदिवसीय खेल नेपालले एक रनले जितेको थियो।
दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४२ रनको योगफल खडा गरेको थियो। यो योगफल नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जोडेको अहिलेसम्मकै सर्वाधिक योगफलसमेत हो।
जवाफमा आएको घरेलु टोली यूएईलाई १९.३ ओभरमा ९७ रनमै समेट्दै नेपालले जित निश्चित गरेको हो। नेपालको जितमा युवा खेलाडी रोहित पौडेलको कीर्तिमानी अर्धशतकसँगै सोमपाल कामी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शन रह्यो।