काठमाडौं उपत्यकामा २१ हजार सीसीटीभी आवश्यक
काठमाडौं : उपत्यकालाई सुरक्षित सहर बनाउन कति वटा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) आवश्यक पर्ला ? प्रहरीको एक टोलीले महिना दिन अध्ययन गरेर सीसीटीभी संख्या यकिन गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक दिवाकर सिंहको नेतृत्वमा प्राविधिक टोलीले गरेको अध्ययनमा उपत्यकामा २१ हजार चार सय ४१ वटा सीसीटीभी आवश्यक पर्ने देखिएको छ। यसका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अध्ययन टोलीले गुगल म्यापमा समेटिएको उपत्यकाको नक्सा भिडाएर अध्ययन गरेको छ। यसअनुसार काठमाडौंमा ९ हजार १ सय १७, ललितपुरमा ६ हजार ३ सय ३९ र भक्तपुरमा ५ हजार ९ सय ८५ वटा सीसीटीभी आवश्यक देखिएको छ।
बहुवर्षीय योजनाअनुसार प्राविधिक टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरेको छ। यसअनुसार सीसीटीभी राख्ने स्थानलाई उपत्यकालाई तीन भागमा विभाजन गरिएको छ। मुख्य, सहायक र कार्यक्रम स्थल गरी तीन भागमा विभाजन गरेर सीसीटीभी जडान गर्नुपर्छ। यो बहुवर्षीय योजना पूरा गर्न कम्तीमा १५ वर्ष लाग्ने महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले जानकारी दिए। प्रहरीले अध्ययन गर्दा व्यक्तिको गोपनीयताको हकलाई समेत समेटेको छ।
‘आपराधिक घटना वा दुर्घटनाको अनुसन्धान गर्दा मात्रै सीसीटीभीको अध्ययन गर्छौं। बाँकी समय रेकर्ड मात्रै राख्छौं’, उनले भने। प्रतिवेदनअनुसार अब राखिने सीसीटीभी चार वा त्योभन्दा बढी मेगापिक्सेलका हुनुपर्ने औंल्याइएको छ, जसलाई रातिमा पनि चलाउन मिल्छ।
सीसीटीभी मनिटरिङ कक्ष भने काठमाडौंमै राख्ने योजना छ। प्रतिवेदन अनुसार सीसीटीभी निर्देशिकाले औंल्याए जस्तै एउटा सीसीटीभीको कम्तीमा ९० दिनसम्म रेकर्ड रहन्छ। सीसीटीभी मनिटरिङ गरिसकेपछि कार्यक्षेत्रमा पठाउन १ सय ६२ वटा थप कन्ट्रोल रुम भेहिकल (सीआरभी) आवश्यक रहेको अध्ययन टोलीले औंल्याएको छ। अहिले उपत्यकामा ६७ वटा मात्रै सीआरभी छन्। सीसीटीभी उपत्यकामा जडान भए सडकमा चलायमान हुने अधिकांश वस्तु सीसीटीभीको रेकर्डमा बस्नेछन्।
विशेषगरी रिङरोडभित्रका संवेदनशील स्थान, व्यापारिक केन्द्र वा प्रतिष्ठान, सरकारी भवन, स्कुल कलेज, मठमन्दिरलगायत स्थानलाई सीसीटीभीले घेर्ने डीआईजी क्षेत्रीले बताए। तर यी स्थानका भित्री गतिविधि निगरानीमा नरहने उनले बताए। सहरका भित्री गल्ली, चौतारो, पाटीपौवा र रिङरोडबाहिरका मुख्यमुख्य चोक र सडकलाई सीसीटीभीले घेर्ने गरी प्रतिवेदन सुझाव दिएको छ। ‘हामीले जंगलले ओगटेको भूभाग, खेतीयोग्य जमिन, मानव बस्ती नभएका क्षेत्रलाई भने समेठेका छैनौं’, उनले भने, ‘बाँकी उपत्यकालाई छपक्कै ढाक्ने गरी योजना तयार पारिएको छ।’
अहिले उपत्यकामा प्रहरीले राखेका चार सय ६० वटा सीसीटीभी छन्। यीमध्ये चार सय २० चालू छन्। अहिले जडित सबै सीसीटीभी दुई मेगापिक्सेल क्यामेराका हुन्। प्रहरीले तयार पारेको प्रतिवेदन प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बुझाउने तयारी गरेको छ। प्रहरी मुख्यालयले गुरुयोजना गृह मन्त्रालयमा प्रतिवेदन बुझाउँदै छ। ‘यो योजनाले पूर्णता पाए सुरक्षित उपत्यकाको परिकल्पना पूरा हुनेछ, ‘क्षेत्रीले भने, ‘यसका लागि सरकारी तहबाट बजेटको व्यवस्था हुनुपर्छ।’