'संविधानभन्दा माथि कोही हुँदैन'

'संविधानभन्दा माथि कोही हुँदैन'

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसद्बाट पारित चिकित्सा विधयेकबारे धेरै चिन्तित हुनु नपर्ने बताएका छन्। स्विट्जरल्यान्डको डावोसबाट शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

३ करोड नेपाली रहेका ठाउँमा केही असन्तुष्ट हुनु सामान्य रहेको उनको भनाइ थियो। उनले भने, ‘संविधानभन्दा माथि कोही हुँदैन। म संविधानतः अघि बढ्ने व्यक्ति हो। लोकतन्त्रका लागि लड्दै आएँ। त्यसबाहिर जाँदिनँ।’ सरकारले अघि बढाएको विकास प्राथमिकता, राजनीतिक स्थायित्व, समाजको आर्थिक–सामाजिक रूपान्तरण, विदेशी लगानीलगायत विषयमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट पार्ने अवसर जुरेको भन्दै आफ्नो भ्रमणलाई प्रधानमन्त्री ओलीले निकै सफल भ्रमणका रूपमा ब्याख्या गरे।

डावोसमा आयोजित विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) को ४९ औं बैठकमा सहभागी भएर स्वदेश फर्केका उनले आफ्नो भ्रमण देशको राजनीतिक विकासक्रमबारे विदेशीसामु स्पष्ट पार्ने अवसर रहेको बताए। उनी ‘दक्षिण एसियाको राजनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्यलाई आकार दिने’ विषयक दुई फरक सत्रमा सहभागी भएका थिए। ‘आवेश र उत्तेजनामा होइन देशको संविधान, कानुन तथा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्ने हो’, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट शुक्रबार बलजफ्ती पारित गरिएकोप्रति प्रमुख प्रतिपक्षी कांग्रेसलगायत अन्य पक्षले गरिरहेको विरोधबारे जिज्ञासाको जवाफमा उनले भने, ‘सबै समस्याको समाधान वार्ता र सम्वादबाटै गरिनेछ।’

उनले चिकित्सा विधयेकसँगै नेपालस्थित कूटनीतिक नियोगद्वारा जारी विज्ञप्तितर्फ संकेत गर्दै शान्ति प्रक्रियाका बाँकी काम र लोकतन्त्र स्थापित गर्न सरकार कानुनसम्मत अघि बढेको बताए। तर स्विट्जरल्यान्डमा झैं उनले कूटनीतिक समुदायको पत्रप्रति आफ्ना धारणा व्यक्त गरेनन्। अन्तर्राष्ट्रिय समुदायको पत्रबारे जुरिचमा खरो रूपमा प्रस्तुत प्रधानमन्त्रीले विमानस्थलमा त्यसतर्फ संकेत मात्र गरे।

उनी ५ दिन विदेश भ्रमणमा रहँदा कूटनीतिक क्षेत्रमा दुई नयाँ आयाम देखा परे भने अनशनरत डा.गोविन्द केसीको खुला पत्रको बेवास्ता गर्दै बलजफ्ती चिकित्सा शिक्षा विधयेक पारित भयो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद सकिनै लाग्दा विदेशी नियोगले संयुक्त राष्ट्र संघको अगुवाइमा संक्रकालीन न्यायबारे आफ्ना धारणा सार्वजनिक गरे। उनीहरूले निष्पक्षतापका साथै सामूहिक छलफल हुनुपर्ने माग गरे। सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको आन्तरिक राजनीतिमा अमेरिकाको प्रत्यक्ष संलग्नतामा चासो व्यक्त गर्दै निर्वाचित व्यक्तिलाई अघि बढाउनु पर्ने भन्दै रोष प्रकट गरे।

डा.केसीको प्रश्नमा प्रधानमन्त्री ओली खासै खुलेनन्। उनले मिडिया र अरू क्षेत्रलाई मर्यादामा बस्न सुझाए। उनले लोकतन्त्रलाई परिभाषित मात्र गरेनन् अरूको अधिकारप्रति मिडिया सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भने, ‘प्रेस एउटा सम्मानित क्षेत्र हो। जनतालाई सुसूचित र शिक्षित गर्ने काम उसको हो र समाजको मुहार पनि।’ अनुचित ढंगले गलत सूचना दिएर भ्रम छर्ने, व्यक्ति, परिवार वा समाजलाई गलत सूचनाबाट हानी पुर्‍याएर गर्ने पीत पत्रकारिताको विषयमा भने सचेत हुनैपर्ने उनले स्पष्ट पारे।

‘मैले लोकतन्त्रलाई राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ भनें’, उनले डावोसको विषय सुनाए, ‘निर्वाचनमार्फत आएको संघीयता र समावेशीतालाई संस्थागत गर्न लागिएको हो। हामी विकासमा अब धेरै कुर्ने अवस्था पनि छैन। काम गर्दै जाने हो।’ भेनेजुएलासम्बन्धी उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिबारे सोधिएको जिज्ञासामा उनले आफूले हेरेर बुझेर मात्र जवाफ दिने बताए। यस विषयमा पत्रिकाको मात्र भर नपरी छलफलपछि मात्र भन्न सक्ने स्पष्ट पारे।

उनले नेपाली समुदायलाई सम्बोधन गर्ने र शुक्रबार प्रधानमन्त्री ओलीले जुरिचस्थित ईटीएच विश्वविद्यालयका अनुसन्धानकर्ता, नेपाली वैज्ञानिक र विद्यार्थीसँग नेपालमा व्यावसायिक तालिम सञ्चालन गरी कसरी देशलाई समृद्धितर्फ अघि बढाउन सकिन्छ छलफलमा सहभागी भएका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको सहभागिताबाट ठूलो मञ्चमा नेपालका धारणा विश्वसमक्ष राख्न पाएको र चिनाउने काम भएको बताए।

प्रधानमन्त्रीलाई कालो झन्डा

कडा सुरक्षाबीच पनि प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले विमानस्थलमा कालो झन्डा देखाएका छन्। डावोस विश्व आर्थिक मञ्चको सम्मेलनबाट शनिबार फर्किएका उनलाई नेविसंघले विरोधस्वरूप कालो झन्डा देखाएको हो।

प्रमुख प्रतिपक्षी कांग्रेसको सहमतिबिना चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा सरकारको चर्को आलोचना भइरहेको छ। विमानस्थलको अन्तर्राष्ट्रिय उडानको पार्किङमा पुगेका नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका थिए। कडा सुरक्षा व्यवस्था मिलाइए पनि सर्वसाधारणका रूपमा पुगेका उनीहरूले प्रधानमन्त्री विशिष्ट कक्षबाट बाहिरिने क्रममा कालो झन्डा देखाएका थिए।

प्रहरीले कालो झन्डा देखाउने ४ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, सुवास घिमिरे, निरञ्जन थापा र सुदीप अधिकारी छन्। उनीहरूलाई दिनभर गौशाला वृत्तमा राखेर साँझ छाडिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.