जानकी मन्दिरको बिघौंबिघा जग्गा गायब

जानकी मन्दिरको बिघौंबिघा जग्गा गायब

जनकपुरधाम : जनकपुरलाई विश्वसामु चिनाउने एउटै आधार हो जानकी मन्दिर। तर संरक्षकहरूले नै जानकी मन्दिरको बिघौं जग्गा गायब बनाएका छन्। अर्बौं सम्पत्ति भएपनि मर्मत तथा पूर्वाधार निर्माण गर्न जानकी मन्दिर अहिले दाता गुहारिरहेको छ।

प्रो. पब्लिक काठमाडौंको २०६२ को रिपोर्टअनुसार त्यसबेलासम्म मन्दिरको २० बिघा जग्गा अतिक्रमण भएको थियो। त्यसयताका १३ वर्षमा थप कति जग्गा मिचियो, कुनै अध्ययन भएको छैन।

गुठी संस्थान जनकपुर शाखा कार्यालयको तथ्यांकअनुसार मन्दिरको गुठी तैनाथी जग्गा १४२ बिघा १४ कठ्ठा ६ धुर छ। तर मन्दिर अधीनस्थ जग्गा १३३ बिघा ८ कठ्ठा १८ धुर मात्र छ। नापी हुँदै जानकी मन्दिरको ४४५ बिघा १५ कठ्ठा ७ धुर जग्गा रैतानी नम्बरी भइसकेको छ।

मन्दिरको स्वामित्वमा सयौँ बिघा जमिन छ। त्यसको संरक्षणको जिम्मा गुठी संस्थान, महन्थ, पुजारीले पाएका छन्। तर भू–माफियाले व्यवस्थापन पक्ष, प्रशासन र राजनीतिक दललाई मुठीमा लिएर मन्दिरका जग्गा बिक्री गरिरहेका छन्।

अतिक्रमणको आधार मनखप

पहिले राम मन्दिर र जानकी मन्दिरका दुई प्रमुख गुठीसँग अन्य दर्जनौं मठमन्दिरका जग्गा थिए। तिनका महन्थले मन्दिर चलाउन आफ्नो स्वामित्वको खाली जग्गा मनखप (किसानले एक वर्षमा उक्त जग्गामा खेती गरी मन्दिरलाई ४० मन अन्न उपलब्ध गराउनु पर्ने सर्त) मा दिने गर्थे।

मनखपको आम्दानीबाट मन्दिरको धार्मिक उत्सव, पूजा, पर्व, जात्राको चाँचोपाँचो मिलाइन्थ्यो। मनखपबाटै सुरु भयो, मठ मन्दिरको जग्गा हत्याउने चलन। विसं २०४४ देखि २०५१ सालसम्म किसानलाई जानकी मन्दिरले दिएको मनखप जग्गा यसबेला नम्बरी भइसकेका छन्। मनखप पाएकाहरू अर्बौंका मालिक छन्। मन्दिरलाई भने आफ्नो भरणपोषण गर्न पनि धौधौ छ।

कब्जा गरिएको जग्गाको मूल्य अर्बौं रुपैयाँ हुन आउँछ। जनकपुर सहरीकरण भएपछि यहाँ एक धुर जग्गाको मूल्य नै लाखौं पर्छ।

यसरी मासियो जानकी मन्दिरको जग्गा

जानकी मन्दिरबाट मनखपमा पाएका जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिए त्यसलाई गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा टेकेर नम्बरी गरियो। २६ चैत, २०४६ भन्दा पहिले गुठीको जग्गामा घर बनाएकाहरुलाई उनीहरुकै नाममा रेकर्ड कायम गरियो। तर, यही ऐनको आधारमा भू—माफियाहरूले मन्दिरका जग्गा बेचबिखन गरे।

सहरी नापी २०५१ सालमा गरिएको थियो। नापी टोलीमा मन्दिरका जग्गा संरक्षक महन्थ, गुठी संस्थान, जनकपुर नगरपालिका पनि थिए। त्यसबेला नक्सामा घर नदेखिएको मन्दिरका खाली जग्गामा समेत आर्थिक चलखेल गरी घर देखाइयो र व्यक्तिको नाउँमा रेकर्ड कायम गराइयो।

त्यसपछि क्रमशः गुठी संस्थानको सिफारिसमा मनखपिया जग्गा गुठी रैतानी नम्बरी बन्यो।

रोकिएन भू–माफियाको रजाइँ

प्रो. पब्लिक काठमाडौंले अनुगमन गरी रिपोर्ट सार्वजनिक गरेपछि जनकपुर क्षेत्र विकास परिषद्, गुठी संस्थान, प्रशासन र स्थानीयबासी तात्तिए। केही अतिक्रमित जग्गा खाली पनि गरियो। तर काम पूरा नभई सरोकारवालाले हात झिके। सार्वजनिक सम्पत्तिको संरक्षणमा गुठी संस्थानले विशेष जिम्मेवारी वहन गर्नुपर्ने प्राध्यापक सुरेन्द्र लाभ बताउँछन्।

जग्गा बेचेको भए पद त्याग्न तयार छौं ः महन्थ मन्दिरको जग्गा संरक्षण गर्ने निकायहरु एकअर्कालाई दोष लगाउँछन् र आफू पन्छिन्छन्। उनीहरु जिम्मेवारीबाट भाग्दा सार्वजनिक सम्पत्ति भने व्यक्तिको पोल्टामा पुगेको छ। गुठी संस्थानले इमान्दारीपूर्वक काम नगर्दा मन्दिरको जग्गा अतिक्रमण भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन्। ‘२०३६ सालयता मन्दिरको सम्पत्ति संरक्षणमा गुठी संस्थान या सरकारले वास्तै गरेको छैन,’ उनले भने, ‘गुठी संस्थानकै चलखेलले आज मनखपका जग्गा नम्बरी भएका छन्।’ महन्थकै चलखेलमा जग्गा बेचिएको आरोप पनि छ। तर मन्दिरपक्ष यो स्वीकार्न तयार छैन। मूल महन्थ रामतपेश्वर दास वैष्णव भन्छन्, ‘यदि मैले एक कठ्ठा जग्गा पनि बिक्री गरेको प्रमाणित भए पद त्याग्न तयार छु।’


जानकी मन्दिरका अतिक्रमित जग्गा :

१. उपमहानगरपालिका—१० मा सिट नं. १३५५—१४ कि नं. १८९ र १९० को नापी हुँदा खाल्डोमा रहेको जग्गा बेचेर हाल त्यहाँ घर बनाइएको छ।

२. उपमहानगरपालिका—८ को सिट नं. १३५५—११ कि नं. ५८ सर्वे नापी हुँदा खाली रहेको र सोही सिटको कि नं. ५५ रामानन्द चोक पूर्वतर्फ रहेको जग्गामा घर निर्माण भएको छ।

३. उपमहानगरपालिका–८ सिट नं. १३५५—११ कि.नं. १९ को ६ धुर १ कनमा नापीमा खाली रहेको जग्गा हाल महोत्तरी बनौली निवासी नारायण झाले खरीद गरी घर बनाएका छन्।

४. उपमहानगरपालिका—१० सिट नं. १३५५—०९ कि.नं. १३ सिट नं. १३५५—१० कि.नं. १८ को ५ धुर ३ कनमा र त्यहींको कि.नं. ४४, ४५ को जग्गा क्रमशः सिट नं. १३४४—१४ कि.नं. २९५ को ३ धुर समेत मनखपको कागजद्वारा बिक्री भएको र अहिले ति सबै जग्गामा नयाँ घर बनाइएको छ।

५. उपमहानगरपालिका—६ सिट नं. १३५५—२४ कि.नं. को जानकी मन्दिरको कम्पाउन्डभन्दा केही पश्चिममा रहेको जग्गामा हाल मनखपको कागजबाट बिक्री भई नयाँ घर निर्माण भएको छ।

६. उपमहानगरपालिका—९ सरस्वती माध्यमिक विद्यालयको पूर्व सिट नं. १३५५—१० कि.नं. ५३,३१ को जग्गामा घर बनाइएको भएको छ।

७. उपमहानगरपालिका—९ सिट नं. १३५५—१० कि.नं. २० तथा १८ मा राम बुझावन साह र राम किसुन पासवानले जानकी मन्दिरबाट बन्दोबस्तीमा लिई घर निर्माण गरेका छन्।

८. यसै सिट नं.को कि.नं. १८ को ५ धुर ३ कनमा जग्गामा जीवछ मण्डलले घर बनाएका छन् भने सि.नं. १३५५—०४ कि.नंं. १७, १८, १३४ र कि.नं. ९४ देखि ९९ सम्म सरस्वती माविभन्दा उत्तरपूर्व रहेको मन्दिरकै जग्गामा घर निर्माण बनाइएको छ।

९. सिट नं. १३५५—०४ कि.नं. ६५ को जग्गामा कचुरी ठेरा निवासी युगल यादव र जगदीश यादवले पक्की घर निर्माण गरेका छन्।

१०. जनकपुर अञ्चल अस्पताल जनस्वास्थ्य कार्यालयभन्दा पूर्वतर्फ सिट नं. १३५५—१४ कि.नं. २ देखि २३ सम्म महन्थबाट मनखपमा विभिन्न व्यक्तिले जग्गा लिई घर बनाई बिक्रीसमेत गर्दै आएका छन्।

११. सिट नं. १३५५—१० कि.नं. ४४, ४५ मा उदय नारायणले घर निर्माण गरेका छन्।

१२. उपमहानगरपालिका—१० मा सिट नं. १३५५—०४ कि.नं. ६५ देवी चोकभन्दा दक्षिणको जग्गामा ठेरा कचुरी निवासी उमा यादव र अन्य दुई जनाले पक्की घर बनाएका छन्।

१३. उपमहानगरपालिका— १० सिट नं. १३५५—१४ कि.नं. १८६ देखि १९२ सम्म र देवी चौकभन्दा पश्चिम कि.नं. १८५ देखि १८६ सम्म र देवी चौकभन्दा पूर्व कि.नं. २८२, २८३, २८४ मा विभिन्न व्यक्तिहरुले घर बनाएका छन्।

स्रोत ः प्रो पब्लिक काठमाडौंद्वारा प्रकाशित रिपोर्ट।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.