थकाली होमस्टेमा आकर्षण

थकाली होमस्टेमा आकर्षण

बेनी : परिवारसहित मुस्ताङ घुम्न पुगेकी बेनीकी प्रभा सुवेदीको १० जनाको समूह बास बस्न सदरमुकाम जोमसोम नजिकैको ठिनीमा सञ्चालित थकाली सामुदायिक होमस्टेमा पुग्यो। काठमाडौंका रोजित भट्टको २० जनाको समूह पनि मुस्ताङ बसाईको दुई रात ठिनीमै रह्यो।

पारिवारिक वातावरण, कोठाका झ्यालबाटै हिमाल देख्न सकिने, थकाली संस्कृति र परिकारले ठिनीको होमस्टेको बसाई रमाइलो भएको सुवेदीको अनुभव छ। ‘होटलभन्दा सस्तो र राम्रो व्यवस्थापन रहेछ’, भट्टले पनि ठिनी होमस्टे बसाईको अनुभव सुनाए। सुवेदी र भट्टजस्तै जोमसोम बजारदेखि तीन किलोमिटर पूर्वतर्फ अवस्थित पाँच गाउँले थकाली समुदायको उद्गम थलो ठिनीमा स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ। होमस्टे सञ्चालन गरेपछि निलगिरी हिमालको फेदीस्थित घरपझोङ गाउँपालिका ५ को ठिनी पर्यटकीय गन्तव्यको रूपमा विकास भएको स्थानीय युवा निरज थकाली बताउँछन्।

हाल ठिनीका १२ घरमा होमस्टे सञ्चालन भएको छ। २०७४ भदौमा ५ घरमा होमस्टे सुरु गरिएको थियो। पाहुनाको चाप बढेपछि थप ७ वटा घरमा विस्तार गरिएको थकाली सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव जुमा थकालीले बताइन्। ‘असोज यता मात्रै एक हजारभन्दा बढी पाहुना आएका छन्’, थकालीले भनिन्, ‘होमस्टेले गाउँको पर्यटन विकाससँगै समुदायको आम्दानीको स्रोत पनि बढाएको छ।’ यहाँ एक दिनमा ५० जनाको हाराहारीमा पाहुना बास बस्न सक्छन्। एक हजार रुपैयाँ खर्च गरेर एक छाक खान र बास बस्न सकिन्छ। ढुंगा, माटो र काठबाट बनेका सेतो रंगले पोतिएका, छतमा दाउरा राखिएका गुजुमुज्ज घर रहेको ठिनीबाट धौलागिरी र निलगिरी हिमालको दृष्य अवलोकन गर्न सकिन्छ।

गाउँ नजिकैको बारीको हरियाली, स्याउ बगैंचा र पृष्ठभूमिमा देखिने जोमसोम बजारले पर्यटक लोभ्याउँछ। नजिकै हिउँ चितुवा गुफा छ। जातीय पहिचान झल्कने सामग्री संकलन गरी थकाली संग्रहालय स्थापना गरिएको स्थानीय नरेन्द्र थकालीले बताए।

ठिनीदेखि तीन घण्टा उकालो हिँडेपछि पुगिने तीन हजार ७ सय ५० मिटर उचाईको यारुझुमा भ्यू टावर निर्माण भएको छ। यहाँबाट निलगिरी, धौलागिरी, मेसोकान्तो हिमाल, तिलिचो पिक र नांगा पहाडका साथै कालीगण्डकी भ्यालीका गाउँ, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथदेखि कोरलासम्मका दृष्य अवलोकन गर्न सकिन्छ। सडक पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ। ठिनी भएर संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जाने पदमार्ग पनि सञ्चालन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.