प्रधानमन्त्रीले दिए कीर्तिमानी रोहितलाई बधाई
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले आइतबार ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री ओलीले ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको बताएका छन्। रोहितले शनिबार युएईविरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।
— KP Sharma Oli (@PM_Nepal) January 27, 2019
अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका थिए। १५ वर्षको उमेरमा एक दिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन्। यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एक दिवसीयमा अर्धशतक बनाएका थिए। यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए।