हिमपातमा २०० भेडासहित दुईजना बेपत्ता
धादिङ : उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका-४ हिन्दुङमा लगातारको हिमपातपछि २ जना भेडागोठाला सम्पर्कविहीन भएका छन्। रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएका छन्।
उक्त क्षेत्रमा शुक्रबारदेखि लगातार हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भइरहेको छ। हिमपातबाट बच्न उनीहरु ओढारमा गएको बेला पहिरो गइ पुरिएको आशंका गरिएको छ। सम्पर्कविहीन हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र उनका ४२ वर्षीय भिनाजु नुर्बु तामाङ रहेको प्रहरीले जनाएको छ।
गोठाला भेडासहित सम्पर्कविहीन भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेपत्ताको खोजी भइरहेको सेर्तुङचौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।
सदरमुकाम धादिङवेशीबाट बेपत्ताको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकाललाई हेलिकप्टरमार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए।