न्यूजील्यान्ड पुलिसको चेतावनी : भारतीय क्रिकेट टिमसँग सावधान रहनू !
एजेन्सी : न्यूजील्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमको प्रदर्शनलाई लिएर त्यहाँको पुलिसले अनौठो सूचना निकालेको छ। इस्टर्न डिस्ट्रिक्ट पुलिसले फेसबुकमा एउटा सूचना जारी गर्दै सर्वसाधरणलाई भारतीय क्रिकेट टिमसँग सावधान रहन चेतावनी दिएको हो ।
भ्रमण टोली पाँच एकदिवसीय खेलको श्रृंखलामा न्यूजील्यान्ड भन्दा २-० ले अगाडि रहेको छ।
भारतले नेपियरमा खेलिएको पहिलो एकदिवसीय खेलमा न्यूजील्यान्डलाई डकवर्थ लुइस मेथोडका आधारमा आठ विकेटले हराएको थियो । माउन्ट मन्गनुईमा भएको दोस्रो एकदिवसीय खेलमा भारतले घरेलु टिमलाई ९० रनको नमिठो हार चखाएको थियो ।
दोस्रो एकदिवसीय खेलमा भारतीय टिमले घरेलु टोलीलाई २३४ रनमै अलआउट गरिदिएको थियो । यी दुवै हारपछि न्यूजील्यान्डको हक्स बे र टेरोहिटी क्षेत्रको इस्टर्न डिस्ट्रिक्ट पुलिसले आफ्नो देशको टिममाथि पनि प्रहार गर्दै भारतीय टिममाथि पनि धावा बोलेको छ। खासमा पुलिसले बलियो मानिएको आफ्नो टिमले दुई म्याच गुमाएपछि फेसबुकमार्फत् कटाक्ष गरेको हो ।
इस्टर्न डिस्ट्रिक्ट पुलिसले आफ्नो फेसबुक पोस्टमा लेखेको छ, 'हाम्रो देशको भ्रमणमा रहेको एक समूहको सफलतालाई लिएर पुलिसको तर्फबाट चेतावनी जारी गरिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले अघिल्लो साता नेपियर र माउन्ट मन्गनुईमा यही समूहले विचरा देखिने न्यूजील्यान्डको एक समूहमाथि नमिठो हमला बोलेका छन् । यदि तपाईँले क्रिकेटको ब्याट या बल जस्तो देखिने कुनै सामानसहित कुनै समूह देख्नु भयो भने सावधाधन रहनुहोला ।'
दोस्रो एकदिवसीय खेलमा भारतलाई हराउन सबैभन्दा ठुलो भूमिका कुलदीप यादवको रह्यो । उनले चार विकेट लिए । भुवनेश्वर कुमार र युजवेन्द्र चहलले दुई दुई विकेट लिएका छन् ।
भारतले तेस्रो एकदिवसीय खेल यही सोमवार खेल्दैछ । भारतीय टिम यो खेल जितेर सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ । न्यूजील्यान्डको उद्देश्य सिरिजमा आफ्नो सम्भावना जोगाइराख्ने हुनेछ ।