महाकाली अञ्चल अस्पतालमा २ हप्तादेखि एक्स-रे सेवा ठप्प
महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा दुई सातादेखि एक्स-रे सेवा ठप्प छ। गत पुष २६ गते महाकाली अञ्चल अस्पतालमा रहेको एक्स-रे मेसिन बिग्रेपछि सेवा नै ठप्प भएको हो। दुई साता पुगिसक्दा पनि महाकाली अञ्चल अस्पतालमा एक्स-रे सेवा सूचारु हुन सकेको छैन।
एक्स-रे मेसिन बिग्रेको १७ दिन भइसकेको छ। अस्पतालको इमरजेन्सी वार्ड र एक्स-रे कक्ष बाहिर सेवा बन्द छ भन्ने सूचना टाँस गरिएको छ। गत पुष २६ गते एक्स-रे गर्दा गर्दै मेसिन बिग्रियो, अहिलेसम्म सूचारु हुन सकेको छैन्,' अस्पतालका रेडियोग्राफर दिपेन्द्र झाले भने। उनले एक्स-रे मेसिन बिग्रेको सम्बन्धमा प्रशासनलाई जानकारी गराइसकेको बताए।
करिब २ दशक पुरानो प्रविधिको ४० एमए एक्स-रे मेसिनबाटै अस्पतालले एक्स-रे सेवा दिँदै आइरहेको थियो। सोही मेसिन एक्सरे गर्दा गर्दै बिग्रेको हो। 'पूर्णरुपमा बिग्रनु अघिदेखि नै मेसिनमा समस्या देखिन थालेको थियो,' उनले भने। 'अहिले पूर्ण रुपमा नै काम गर्दा गर्दै बिग्रियो।'
'अहिले चलाइरहेको मेसिन ४० 'एमए' को हो, यो विभाग र मन्त्रालयबाट नै आजभोली नचलाउनु भन्ने निर्देशन छ,' अस्पतालका जिन्सी फाँट प्रमुख लोकेन्द्र भट्टले भने। 'मन्त्रालयबाट पठाएको नयाँ मेसिनले समेत काम नगर्दा पुरानै मेसिनबाट भएपनि सेवा दिइएको थियो।'
स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले नयाँ मेसिन खरिद गरेर पठाए पनि उक्त मेसिन विद्युत भोल्टेजका कारण सञ्चालनमा आउन सकेको छैन्। अस्पतालमा रहेको नयाँ मेसिन नचलेपछि र पुरानो मेसिन समेत बिग्रेपछि सेवा ठप्प भएको छ।
काठमाडौंबाट आएको प्राविधिक टोलीले नयाँ मेसिन चेक गरिसकेको छ, त्यसको बोर्डमा केही पूर्जा जलेको जानकारी भएको छ, झाले भने। सामान भारतबाट ल्याउनुपर्ने भएकाले ढिलाइ भएको हो।'
एक्स-रे सेवा लिन आउने बिरामी अस्पतालमै एक्स-रे सेवा बन्द भएपछि नीजि मेडिकलमा जान वाध्य भएका छन्। अस्पतालमा रहेको एक्स-रे मेसिनबाट दैनिक ५० जति एक्स-रे हुँदै आएका थिए।