सरस्वती पूजाका लागि मूर्ति बनाउने चटारो
मलंगवा : सरस्वती पूजा नजिकिदै गर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका- ४ सुन्दरपुरका राम नारायण पण्डितलाई अहिले माटोको सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई छ। पण्डित परिवारका चारजना सदस्यको सहयोगमा मूर्ति बनाउँदै आएका छन्। पूजा नजिकिएपछि उनलाई मूर्ति बनाउन चटारो भएको छ। बिहानदेखि बेलुकासम्म पण्डितलाई मूर्ति बनाउनबाट फुर्सद छैन्।
विद्यालयबाट मूर्तिको माग आउन थालेपछि कामको चापले पण्डितको अहिले भोक प्यास हराएको छ।उनी मूर्ति बनाउन श्रीमती, दुई छोरी र छोराको सहयोग लिदै आएका छन्।पण्डितसँगै उनको गाउँका ७ जना पण्डित परिवारलाई पनि मूर्ती बनाउनबाट फुर्सद छैन्।
पुर्खौली पेशा अगांल्दै आएका पण्डित सरस्वती पूजाको समयमा १ महिनामै १५० लाखदेखि २ लाखसम्म आम्दानी गर्दै आएका छन्। अरु बेला माटोकै भाडो बनाएर बेचेर परिवार पाल्दै आएका पण्डितलाई दसैं र माघ महिनामा बढी कामको चाप हुन्छ।
माघमा घाम निकै कम लाग्ने भएकाले मूर्ति सुकाउन समस्या हुने गरेको पण्डितले बताए। घाम नलागेपछि हिटर र ग्याँसबाट बत्ती बालेर मूर्ति सुकाउने पण्डितको गुनासो छ।
माटोको मूर्ति र भाँडा बनाएर छोराछोरीको पढाइ र घर खर्च चल्ने गरेको पण्डितले बताए। परिवारमा अहिले ७ जना छन् । सबैको लालन पालन यसै पेशाबाट हुँदै आएको छ। उनका सबै छोराछोरी निजी विद्यालयमा पढ्छन्।पुर्खौली पेशाबाट आफू सन्तुष्ट रहेको उनको भनाई छ।