सरकारकै गाडीमा 'माफिया सरकार मुर्दावाद !'
काठमाडौँ : दुईतिहाइ बहुमतको आडमा माफियालाई सघाउन चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले फरक खालको आन्दोलन थालेको छ ।
नेविसंघका कार्यकर्ताहरुले राजधानी उपत्याकामा चल्ने सरकारी नम्बर प्लेटका गाडीमा सरकारविरुद्ध नारा पोत्न थालेको हो । नेविसंघका नेता कार्यकर्ताहरुले सरकारी गाडीमै 'माफिया सरकार मुर्दावाद' सहितका नारा पोतेर फरक आन्दोलन गरेका हुन् ।
नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीसहितका नेता कार्यकर्ताहरुले काठमाडौँको कोटेश्वर क्षेत्रमा रोकेर आइतवार सरकारविरुद्ध नै नारा पोतेका हुन् । नेविसंघ कार्यकर्ता मनीष सिम्खडाका अनुसार विद्यार्थीको टोलीले ३० वटा भन्दा धेरै सरकारी गाडीमा 'माफिया सरकार मुर्दावाद' नारा पोतेका हुन् ।
त्यही क्रममा प्रहरीले राजधानीको तीनकुनेस्थित एनसिआइटी कलेजका नेविसंघ इकाई अध्यक्ष सरोज थापालाई पक्राउ गरेको छ ।