रुखमा झुन्डिएको अवस्थामा महिलाको शव, हत्या गरिएको दाबी

रुखमा झुन्डिएको अवस्थामा महिलाको शव, हत्या गरिएको दाबी

राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा एक २५ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ । रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । 

पुरुषको मफलर (गलबन्दी)को पासो लगाई आँपको रुखमा झुण्डिएको अवस्थामा शनिबार डाकनेश्वरी–३ तरही बस्ने ललितादेवी साहको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । इन्स्पेक्टर बिष्णुप्रदीप बस्यालले मृतकका श्रीमान शंकर साह, देवर राजकुमार साह र ससुरा रामदेव साह फरार रहेकोले थप शंका बढेको बताएका छन् ।

पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको ललीताको शवको घाँटीमा डोरीको निलडाम बाहेक अन्य चोटपटक नदेखिएको तर परिवारका सदस्यहरु फरार भएकाले शंका लागेको बताए । पोष्टमार्टमले धेरै कुरा स्पष्ट हुने र अनुसन्धानमा सहयोग पुग्ने बताएका इन्स्पेक्टर बस्यालले घटनाको सुक्ष्म अनुसंधान भईरहेको बताए । 

हत्या गरी आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको आरोप माइती पक्षले लगाएको छ । मृतककी आमा कैलीदेवी साहले घरपरिवारका सदस्यहरुले नै हत्या गरेर झुण्ड्याएको आरोप लगाइन् । 

शरीरमा लागेको चोटपटक, रुखको हाँगामा हत्केलाले समाएको र पासोको अवस्था हेर्दा हत्यापछि नै रुखमा झुण्ड्याएको मृतकका भाई विकासकुमार साहले दावी गरे ।

घरदेखि एक किलोमिटर पश्चिमतर्फ रहेको आँपको रूखमा झुण्डिएको शवसँगै दोस्रो हाँगामा चाबीको गुच्छा र अर्को हाँगामा मोवाइलको कभर खोल फेला परेपछि घटना थप रहस्यमय देखिएको छ । 

मृतकका दाजु बिनोद साहका अनुसार चरित्रहिनको लाञ्छना लगाई ललिताका श्रीमानले यातना दिदै आएका थिए । यसअघि पनि ललीतामाथि कुटपिट भएको र माईत आएका बेला पीडा सुनाउने गरेको उनले बताए । 

पोष्टमार्टमका लागि ल्याइएको ललिताको शवलाई हेर्दा आँखा, टाउको, छातीमा निलडाम र नाक, मुखबाट रगत बगेको देखिएको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डा. कल्पना साहले भनिन्, ‘फोरेन्सिक जाँचका लागि धरानमा पोष्टमार्टम गर्नुपर्छ, पोष्टमार्टम पछि धेरै कुरा प्रष्ट हुन्छ ।’ शवलाई पोष्टमार्टमका लागि आइतबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

शंकरका मामा सोही ठाउँका इन्द्रदेव साहले घटनास्थलमा प्रहरीसहित पुग्दा आत्महत्या नै भएको देखिएको तर माइती पक्षले हत्या भनेर प्रचार गरेपछि मृतकका श्रीमान डरले लुकेर बसेको बताए । 

सामाजिक परम्पराअनुसार १४ बर्षअघि १२ वर्षकै उमेरमा सप्तरीकै बोदे बरसाईन नगरपालिका–१० अमरैयाकी ललिताको १० वर्ष जेठा शंकरसँग विवाह भएको थियो । उनका दुई छोरा छन् ।

यसअघि कात्तिक १४ गते विषादी सेवनबाट बोदे बर्साइन नगरपालिका–७ की आरतीकुमारी यादवको शंकास्पद मृत्यु भएपछि प्रहरीले मृतकका श्रीमान् र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यो घटनामा आरतीका श्रीमान सुरेश यादव पुर्पक्षका लागि कारगारमा थुनामा छन् भने ससुरा रामदेव यादव धरौटीमा रिहा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.