जताततै कांग्रेसको  प्रदर्शन

जताततै कांग्रेसको  प्रदर्शन

काठमाडौं : सरकारविरुद्ध प्रमख प्रतिपक्षी कांग्रेस आन्दोलित भएको छ। विरोध हुँदाहुँदै पनि सतारूढ दलले प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित गरेपछि कांग्रेसका भ्रातृसंगठन पनि विभिन्न प्रदर्शन गरे।

काठमाडौंका विभिन्न क्याम्पसअघि आइतबार बिहानै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी ओलीको पुतला जलाएको छ। दिउँसो नेपाल महिला संघको अगुवाइमा तरुण दल र नेविसंघसमेतको सहभागितामा माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो। तरुण दलको केन्द्रीय नेतृत्वले सबै प्रदेश सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ।

सुर्खेतमा प्रदर्शन गरेको तरुण दलले सोमबार धनगढीमा प्रदर्शन गर्दै छ। शुक्रबार प्रतिनिधिसभाको बैठकले शिक्षा विधेयक पारित भएपछि काठमाडैांमा नेविसंघको प्रदर्शन सुरु भएको हो। त्यसपछि जिल्लाहरूमा समेत विरोध तीव्र पारिएको छ। झापालगायत जिल्लामा आइतबार प्रदर्शन भए।

सत्तापक्षले बलमिच्याइँका आधारमा विधेयक पारित गरेपछि कांग्रेसले आन्दोलनलाई थप कडाइ पार्दै देशव्यापी बनाउने घोषणा गरेको थियो। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले माघ २१ मा ७७ ओटै जिल्लामा पार्टीका तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। ‘त्यस दिन पार्टीको केन्द्रीय समितिको निर्देशनअनुसारको विरोध प्रदर्शन हुनेछ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘भ्रातृसंगठनहरूले जारी राखेको प्रदर्शन उनीहरूको आफ्नो निर्णयअनुसार अघि बढ्नेछ।’

बैठकले चिकित्सा शिक्षा विधेयक र संवैधानिक परिषद्ले गरेका निर्णय सच्याउन पनि सरकारसँग माग गरेको छ। राष्ट्रियसभामा टेबल हुन लागेको चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गरेर अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्नेमा कांग्रेसको जोड छ। कांग्रेसले राष्ट्रियसभामा समेत त्यसको विरोध गर्ने जनाएको छ।

यसअघि शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले स्थापित लोकतान्त्रिक मूल्यमान्यताविपरीत सभामुख र सरकारले संसद्लाई लाचारको छाया बनाएको आरोप लगाएको छ। संसदीय दलको बैठकलगत्तै पार्टीको तर्फबाट प्रवक्ता शर्माले पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर देशव्यापी विरोधमा उत्रिन समर्थक तथा शुभेच्छुकसँग आग्रह गरेका थिए।

काठमाडौंमा आइतबार भएको प्रदर्शनमा कांग्रेसको चार दर्जन विद्यार्थी नेता पक्राउ परेका छन्। नेविसंघकै एउटा समुहले आइतबारदेखि काठमाडौंमा सरकारी गाडीमा ‘माफिया सरकार मुर्दावाद’ भनेर लेख्न थालेका छन्। तरुण दलले सोमबार प्रदेश स्तरीय विरोध कार्यक्रम सकिएपछि पुनः थप विरोधका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको तरुण दलका उपाध्यक्ष उत्तम चापागार्इंले जानकारी दिए।

कांग्रेसले पछिल्लो समयमा पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल सरकारले विघटन गर्न लागेको, अनशनरत डा. केसीसँग यसअघि भएको सम्झौताअनुसार शिक्षा विधेयक नभएकोलगायत असन्तुष्टिसहित सरकारको विरोध गर्दै आएको छ।

विवेकशीलको पनि प्रदर्शन

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन हुनुपर्ने भन्दै रवीन्द्र मि श्र नेतृत्वको विवेकशील साझा र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलले पनि काठमाडौंमा आइतबार प्रदर्शन गरेका छन्। उनीहरूले अनशनरत डा. केसीका मागमा सरकार अनुदार देखिएको भन्दै सरकारको आलोचना गरेका छन्। ००

देउवाले भेट प्रधानमन्त्री

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार साँझ प्रधानमन्त्री भेटेका छन्। पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत, नेविसंघका अध्यक्ष नैनसिंह महरलाई लिएर बालुवाटार पुगेका देउवाले प्रधानमन्त्रीसँग स्ववियु चुनावबारे छलफल गरेका छन्। सरकारविरुद्ध आन्दोलनमा रहेको नेविसंघका ७० जना विद्यार्थी पक्राउ परेको विषयमा पनि देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। यस्तो अवस्थामा स्ववियु चुनाव हुन नसक्ने भएकाले सहज वातावरण बनाइदिन उनले प्रधानमन्त्रीसँग आग्रहसमेत गरे। उक्त अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.