चुरेमा अन्धाधुन्ध रूख कटान

चुरेमा अन्धाधुन्ध रूख कटान

धनगढी : कैलालीको चुरे क्षेत्रमा सडक निर्माण भन्दै अन्धाधुन्ध रूख कटान गरिएको छ। ग्रामीण सडक र वैज्ञानिक वन व्यवस्थापनका नाममा अनुमतिबिनै जथाभावी रूख कटान भइरहेको हो।

चुरे गाउँपालिकाका–६ स्थित सिद्धप्रगतिशील सामुदायिक वन र सिद्धलगन सामुदायिक वन क्षेत्रमा सबैभन्दा बढी रूख कटान भएका हुन्। सामुदायिक वन र सडक निर्माणको ठेक्का पाएका ठेकेदारहरूकै मिलेमतोमा अवैध रूपमा रूख कटानी भइरहेको स्थानीयको आरोप छ।

गाउँपालिकाले सडकमा पर्ने रूख कटानी गर्न वन कार्यालयसँग अनुमति लिएको छैन। ती सामुदायिक वनमा सयभन्दा बढी रूख काटिएका छन्। सब डिभिजन वन कार्यालय सहजपुरका वनरक्षक डम्मरराज भट्टले सिद्धलगन सामुदायिक वनको गोगनपानी आमापानी सडकमा २५ रूख काटिएको जानकारी दिए। उनले २५ रूख काटिएको बताए पनि ५० भन्दा बढी रूख काटिएका छन्।

सिद्धलगन सामुदायिक वनका अध्यक्ष लालबहादुर साउदले सडकमा परेका रूख काटिएको स्विकारे। ‘सडक छेउमा परेका रूख काटिएका छन्’, उनले भने, ‘तर, रूख काट्न अनुमति लिइएको छैन।’ सडक क्षेत्रभन्दा बाहिर पनि रूख काटिएका छन्। सिद्धप्रगतिशील सामुदायिक वनमा पर्ने सडकमा ६० भन्दा बढी रूख काटिएका छन्। तर, सब–डिभिजन वन कार्यालय सहजपुरका फोरेस्टर पदमराज ओझाले सुन्तलाबारीदेखि गजार क्षेत्रमा पाँच रूख र बाहुनपानी क्षेत्रमा २५ रूख काटिएको बताए।

ती सामुदायिक वनमा कति रूख काटिए भन्ने वन कार्यालयलाई समेत जानकारी छैन। सोही वनमा अग्निरेखा (फायर लाइन) का लागि काटिएको एक किलोमिटर बाटोमा मात्रै २० भन्दा बढी रूख काटिएका छन्। ‘अग्निरेखा निकाल्ने भन्ने थियो,’ फोरेस्टर ओझाले भने, ‘त्यसमा पनि २० रूख काटिएको रहेछ।’

एक किलोमिटर छोटो दूरीको अग्निरेखामा मात्रै यति धेरै रूख काटिनु रूख कटानीका लागि मात्रै यो वनमा अग्निरेखा निकालिएको स्थानीय बताउँछन्। चार मिटर चौडाइभन्दा बढी सडक काट्न नपाइने व्यवस्था छ। तर, सबै ठाउँमा चार मिटरभन्दा बढी सडक काटिएका छन्। सिद्धप्रगतिशील सामुदायिक वनका अध्यक्ष हर्कबहादुर साउद र सडक निर्माण समितिका अध्यक्ष ज्ञानसिंह धामीलाई वनले आफ्नै हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

सामुदायिक वनमा नियमविपरीत रूख कटान भइरहे पनि नियमनकारी निकाय वनले खासै चासो नदिँदा जथाभावी रूख काटिएको स्थानीय बताउँछन्। यस्तै, वैज्ञानिक वन व्यवस्थापनका नाममा पनि वन फँडानी गरिएको स्थानीयको आरोप छ।

यी दुवै सामुदायिक वनमा गत वर्षदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको हो। सामुदायिक वनले टाँचा नगरिएका रूख पनि कटान गरिएको र बढी काटेर कम देखाइएको स्थानीय बताउँछन्। गाउँपालिका अध्यक्ष धनबहादुर रोक्कामगरले पनि सडकमा पर्ने रूख काट्न अनुमति नलिएको स्विकारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.