महिलामाथि गर्भमै विभेद, लिंग पहिचानपछि भ्रुण हत्या

महिलामाथि गर्भमै विभेद, लिंग पहिचानपछि भ्रुण हत्या

बनेपा : काभ्रेमा लिंग पहिचानपछि गर्भपतन गराउनेको संख्या वृद्धि भएको छ। गर्भपतन गराउनेमा १८ देखि ३० वर्षसम्मका अविवाहित महिला बढी छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आ.व. २०७२/०७३ मा १२ सय ५६ जनाले सुरक्षित गर्भपतन गराए। यो संख्या आव २०७३/०७४ मा १५ सय २८ पुग्यो। जिल्लामा १५ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न अनुमति लिएका छन्। यौन शिक्षाको कमि, छोराको चाहाना तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण गर्भपतन गर्नेको संख्या बढ्दै गएको छ।

‘लुकिछिपी केही स्वास्थ्यकर्मीले असुरक्षित गर्भपतन गराएका हुन सक्छन्’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नन्दराज अवस्थीले भने, ‘हामीले अनुगमन गर्दा यस्ता घटना फेला पारेका छैनौं। सम्बन्धित व्यक्ति, मेडिकल, चिकित्सकको मिलोमतोमा गर्भपतन गरिने हुँदा त्यस्ता घटना बाहिर आउँदैनन्।’

सरकारले १२ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ। भ्रुणको लिंग पहिचानपछि गर्भपतन गराउनु कानुन विपरितको कार्य हो। ‘लिंग पहिचानपछि गर्भपतन गराउन सघाउने स्वास्थ्यकर्मी तथा सम्बन्धित व्यक्ति दुवैलाई कारवाही गर्छौ’, डा.अवस्थीले भने।

लिंग पहिचानपछि केही मेडिकल तथा चिकित्सकहरूले चर्को रकम असुलेर १२ हप्ता भन्दामाथिको गर्भपतन गराउ“दै आएका छन्। नियमित अनुगमन गर्ने निकाय नहँुदा समस्या बढ्दै गएको सरोकारवालाको भनाइ छ।

भुम्लु गाउँपालिकाकी २९ वर्षीया राधिका बस्नेतले श्रीमान्को दबाबमा दुई पटकसम्म गर्भपतन गरेको दुखेसो गरिन्। ‘गर्भपतन गराउनु मेरो रहर होइन बाध्यता हो’, उनले भनिन्, ‘भिडियो एक्स रे गर्दा छोरी रहेको थाहा पाएपछि परिवारकै दबाबमा गर्भपतन गरें।’ ‘लिंग पहिचानपछि चिनजानको मेडिकलबाट नौ हजार रुपैयाँ तिरेर गर्भपतन गराएँ’, उनले भनिन्, ‘गर्भमा छोरा नहुँदा दुई पटक गर्भपतन गरें।’

लिंग पहिचानपछि गर्भपतन गर्नु–गराउनु कानुनले बन्देज गरे पनि नियमित अनुगमन गर्ने निकायन नहुँदा मोटो रकम लिएर भ्रुण हत्या गर्नेको संख्या वृद्धि हुँदै गएको एक मेडिकल सञ्चालकले दाबी गरे। ‘मेरोमा पनि धेरै दम्पती आउँछन्। तर म त्यस्तो गर्दिन। सरकारले नियमित अनुगमन गर्ने हो भने अस्पताल, मेडिकलसहित धेरै चिकित्सकको पहिचान खुल्छ’, ती सञ्चालकले भने।

सुरक्षाका नाममा खतरा बढ्दै

असुरक्षित यौन सम्पर्कबाट रहेको गर्भ रोक्न लिइने गर्भनिरोधक औषधिको प्रयोगले खतरा बढ्दै गएको चिकित्सकहरूको तर्क छ। ‘किशोर किशोरीले गर्भनिरोधक चक्की बढी प्रयोग गरेका छन्’, जिल्ला जनस्वाथ्य कार्यलयका प्रमुख डा.अवस्थीले भने, ‘टिनएज युवायुवतीबीचको यौन सम्पर्कबाट रहेको गर्भ रोक्न चक्कीको बढी प्रयोग हुने गरेको हो।’

परिवार नियोजनका साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको मेडिकल सञ्चालकहरू बताउँछन्। धेरै युवा–युवती एक साता ग्याप राखेर आकस्मिक चक्की लिन आउने गरेको बनेपाका एक मेडिकल सञ्चालकले बताए। औषधि लिन उच्च मावि तथा क्याम्पस पढ्ने २० देखि २५ वर्ष उमेर समूहका युवती बढी आउने गरेका छन्।

गर्भ निरोधक चक्की पान पसलदेखि होटलसम्म सहजै पाइन्छ। ८० प्रतिशत भन्दा बढी औषधि अविवाहित किशोर किशोरीले खरिद गर्ने गरेको मेडिकल सञ्चालकले जानकारी दिए। बजारमा सहजै पाउने गर्भनिरोधक चक्की इकोन, आईपिल, अनवान्टेड, ई ७२ म्याक्स, एमटिपी प्रिग्नो एमटिपिल्सलगायतका चक्कीको प्रयोग बढ्दो छ।

‘गर्भनिरोधक चक्की धेरै प्रयोग गर्दा अविवाहित महिलामा बाँझोपन पाठेघरको क्यान्सर, रक्तस्राव भएर मृत्यु नै हुने गरेको छ। यस्ता युवतीमा यौन रोगको उच्च सम्भावना रहन्छ’, डा.अवस्थीले भने। परिवार नियोजनका साधानको सट्टा गर्भ निरोधक चक्की सजिलै प्रयोग गर्न सकिने हुँदा युवतीको रोजाइमा परेको हो। गर्भनिरोधक चक्की ८० देखि २ सय रुपैयाँसम्म बजारमा सहजै किन्न पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.