तापक्रम कम हुँदा बढी चिसो महसुस, साताभरि आंशिक बदली हुने
काठमाडौं : आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
मङ्गलबार देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको संभावना छ। राति भने देशभरि नै मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै बुधवार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ। रासस