शानदार प्रदर्शन गर्दै पारस खड्काले बनाए सतक
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सतक बनाएका छन् । पहिलो एक दिवसीय सतक बनाउने क्रममा उनले नेपाली टिमलाई पनि अहिले मजबुत अवस्थामा पुर्याएका छन् । सतक हान्ने क्रममा पारसले ९६ बलको सामना गरे । त्यसक्रममा उनले १३ चौका र एक छक्का पनि हाने।
५० ओभरको खेलमा पारसले चौथो सतक बनाइसकेका छन् । खड्काले ताजा अवस्थामा १०७ बलको सामना गर्दै ११३ रन बनाइसकेका छन् । यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५० बलमा अर्धशतक पुरा गरेका थिए । तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरेका खड्काले व्यक्तिगत अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीसँग १७ रनको साझेदारी गरेका थिए । पारस एकदिवसीयमा दोस्रो अर्धसतक बनाउने र पहिलो सतक बनाउने पनि पहिलो खेलाडी बनेका छन ।
पहिले ब्याटिङमा गएर संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको २२५ रनको चुनौती पछ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्काले शानदार पारी खेलेका हुन् । यसअघि नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए ।
त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसपछि
नेपालका लागि सन्दीप जोरा पनि २० बलमा १९ रन बनाउँदै क्याच आउट भए । सन्दीपपछि आएका रोहित पौडेल २४ बलमा १६ रन बनाएको अवस्थामा क्याच आउट भए । अहिले पारसलाई अरिफ शेखले साथ दिइरहेका छन् । उनी ताजा अवस्थामा ९ बलमा १० रन बनाएर पारसलाई साथ दिइरहेका छन् ।
यसअघि टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए ।
सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए । त्यसपछि छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शुन्यको अवस्थामै विनोद भण्डारीबाट क्याच आउट गराइ पेभेलियन पठाए ।