नेतृत्व जग हँसाउने, पीडामा नागरिक
अपराध अनुसन्धान प्रहरीका लागि अनाकर्षक क्षेत्र बन्दैछ। अनुसन्धानमा लाग्ने प्रहरीलाई व्यावसायिक बनाउँदै काममा प्रेरित गर्नु नितान्त जरुरी छ।
राजनीतिबाट आमनागरिक दिनप्रतिदिन निराश हुँदै गएका छन्, विशेषगरी शासकका क्रियाकलापबाट। संसद्मा धेरै पार्टीको उपस्थितिले राजनीति अस्थिर भएको भन्दै नागरिकले दुइटा पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसलाई मतदान गरे। नेकपाले त झन्डै दुईतिहाइ मत हासिल गर्यो। केही पार्टीका नेता व्यक्तिगत प्रभावले जिते भने धेरै पार्टी निर्वाचन आयोगको अभिलेखमै पुग्न सकेनन्। तर यति छिटै नागरिक निराश हुनुपर्ने अवस्था आउनु सुखद सन्देश होइन।
सशस्त्र संघर्ष, जनआन्दोलन वा मिनी क्रान्ति जे भने पनि कानुनी राज्य, मानव अधिकारको ग्यारेन्टी, लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि भएको निर्वाचनमा नागरिकले बुद्धिमतापूर्वक तीनै तहको निर्वाचनमा मतदान गरे। यो मतदान लोकतान्त्रिक गणतन्त्र र नागरिककै हितकै लागि भएको थियो। स्थानीय तहमा खसी र बाख्रा, जन्म र मृत्युमा कर लगाऊ भनेर मतदान गरेका होइनन्।
प्रदेशमा जनताबाट उठाइएको कर घरभाडा र महँगा सुविधासम्पन्न गाडी किन्न प्रयोग गरून् भनेर नागरिकले प्रतिनिधि चुनेका थिएनन्। नागरिकले एक अर्ब ५० करोडको हेलिकप्टर, १८ करोडको गाडी, सार्वजनिक स्थलमा राष्ट्रपतिका लागि पौडी पोखरी निर्माण, बलात्कारीलाई संरक्षण र राष्ट्रिय ध्वजावाहक विमान वाइडबडी खरिदमा भ्रष्टाचार गरून् भनेर नेतालाई प्रतिनिधिसभामा पठाएका थिएनन्।
एउटै पार्टी हुँदा ऐन, नियम, कानुन र संविधान संशोधन गरेर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सजिलो होस् भनेरै तीनै तहमा एउटै पार्टीलाई मतदान गरिएको थियो नागरिकबाट। अझ प्रतिनिधिसभामा वामपन्थीलाई पार्टी एकीकरणका लागि मतदान गरे भने कांग्रेसलाई वाच डग अर्थात् निगरानीकर्ताका रूपमा सशस्त्र प्रतिपक्ष बनाइयो।
जनमत स्थायी हुँदैन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशले स्पष्ट पारेको छ। संसारका धेरै शासकहरूलाई विनाअत्तोपत्तो शासन मात्र हैन, देश नै छोड्नुपर्ने स्थिति आएको छ। त्यस्ता शासक आफैं मारिएका मात्र छैनन्, शासन गर्ने मुलुक नै टुक्राटुक्रा भएको इतिहास छ। धन्न हामी भाग्यमानी छौं, राजनीतिक परिर्वतनका क्रममा यस्ता अप्रिय घटना भोग्नुपरेको छैन।
दुईतिहाइको सरकार असफल भयो भने के हुन्छ ? के कुनै पार्टी वा नेताले सोचेका छन् ? वर्तमान सरकार विगतको निरन्तरता मात्र पक्कै होइन ? के एक वर्गलाई पन्छाएर अर्को वर्गले सत्तारोहण गरेको होइन ? तर पनि परिवर्तनका शक्ति एक हुन सकेका छैनन्। जनताले कम्युनिस्ट पार्टीलाई एक हुन निर्देशन दिए चुनावका माध्यमबाट। पार्टी एक पनि भयो तर यो एकता नेता र पार्टीका लागि मात्र भयो। त्यो पनि आफ्नो गुटको हितका लागि मात्र। यो एकताबाट राष्ट्र र जनताका लागि के कुनै फाइदा भएको छैन ? पार्टीभित्र चरम गुटबन्दी हुने थिएन भने पार्टी बैठकमा डीएनए वा वीर्य जाँच गरेर गुट पत्ता लगाऔं भन्ने विषय उठ्दैनथ्यो।
पार्टी एकीकरण दुइटा अध्यक्ष बनाउनका लागि मात्र पक्कै थिएन। अलिकति पनि त्याग गर्न नसक्ने नेता भएको मुलुकले गति लिन्छ भनेर नागरिकले कसरी पत्याउने ? कुशल चालकविना गाडी गन्तव्यमा पुग्दैन, स्वच्छ शरीरविना स्वस्थ मस्तिष्क कल्पना गर्न सकिन्न। स्वस्थ मस्तिष्कविना सरकारात्मक परिकल्पना गर्न सकिन्न भनेझंै मुलुक त्यसैकारण बन्धक भएको हो त ? बलात्कारीलाई कारबाही गर भन्दा गणतन्त्रविरोधी भन्नु, बुद्धिजीवीले यथार्थ कुरा बोल्दा निर्दलीय पञ्चायती शैलीजति पनि सहिष्णुता अपनाउन नसक्नेले देशलाई निकास दिएर नागरिकलाई सुखी बनाउलान् भनेर कसरी पत्याउने ?
वाइडबडी खरिद प्रक्रिया अध्ययन गर्ने संवैधानिक सर्वोच्चताअन्तर्गतको लेखा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्न नपाउँदा हतास मनस्थिति देखाएर दोषीलाई कारबाही प्रक्रियामा जानुपर्नेमा उल्टो प्रतिवेदनप्रति खोट लगाउन थाल्नुले के सन्देश दिन्छ ? प्रमाण लुकाउन अर्को समिति गठन गर्नु कहाँसम्म उचित हो ? अब प्रधानमन्त्रीले ठेक्का बाँड्ने ? सांसद वा मन्त्रीले नियमविपरीत दोहोरो सुविधा लिनु पनि संस्थागत भ्रष्टाचार नै हो भन्दा त्यसलाई गणतन्त्रमाथिको प्रहार देख्ने प्रधानमन्त्रीलाई उपमा दिने शब्द नै भेटिन्न।
नेकपाका द्वितीय उपाध्यक्ष पुष्पकमल दाहाल भूमिगत जीवनबाट बाहिर आएपश्चात् कुम हल्लाएर बोल्ने गर्थे। उनका अनुयायीले पनि त्यही नक्कल गरे। अहिले केपी ओलीका अनुयायी पनि उनकै नक्कल गर्न थालेका छन्। यसको ज्वलन्त उदाहरण हुन् सञ्चारमन्त्री। राष्ट्रपतिले १८ करोडका गाडी नचढेर साइकल चढ्ने भन्ने र निर्मला काण्डका अभियुक्त सार्वजनिक गर्दा कांग्रेस छाता ओडाउन आउँछ भन्नेसम्मका कुरा बोल्ने रक्षामन्त्री देश र नागरिकप्रति गम्भीर छन् भनेर कसरी विश्वास गर्ने ?
यो गुटबन्दी, गम्भीरताको अभाव कम्युनिस्ट पार्टीमा मात्र होइन सबै राजनीतिक दलमा छ। सबै पार्टीहरूमा चुनावदेखि नै आफ्ना हुक्के, बैठके ताबेलदार, अझ बारम्बार एउटै व्यक्तिले मौका पाइरहने प्रवृत्ति छ। साँच्चिकै जनाधार भएको सक्षम व्यक्तिले आफ्नो परिक्रमा नगर्दा पाखा लगाउने प्रवृत्ति हाबी छ। एकादेशमा मेरो विरोध गरेको थियो भन्ने मानसिकता र सिंगो पार्टी आफ्नो बिर्ता सम्झने कार्यले राजनीतिमा नालायकहरूलाई प्रोत्साहन गर्ने संस्कृति मौलाउने स्पष्ट छ। जो सक्षम र स्वाभिमानी छ, जोसँग जनाधार छ, ऊ नेताको गलत कार्यलाई गलत भन्ने सामथ्र्य राख्छ। तर यहाँ नेताले जे बोल्छ या गर्छ त्यो नागरिक हितमा नभएपछि समर्थन गर्ने वा नक्कल गर्ने प्रवृत्तिले जग हँसाएको छ। युवा भनिने नेतामा त्यो नक्कल देखिनु शुभसंकेत होइन।
प्रतिपक्षी नेपाली कांग्रेस पनि यस्तो महारोगबाट अछूत छैन। त्यहाँभित्र पनि यही संस्कृति हाबी छ। आन्तरिक लोकतन्त्रको अभाव छ। तीन दिनमा सकिनुपर्ने महासमिति बैठक सम्पन्न हुन आठ दिन लाग्यो। यो पुरानो रोग निको हुन नसक्दा उसले निर्वाचनमा हार बेहोर्नुपर्यो। लोकतन्त्र त्यतिबेला मात्र बलियो भएको आभास हुन्छ, जब दल बलिया हुन्छन्। दल बलियो हुन उनीहरूको आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ। तर आफ्ना हुक्के बैठकेलाई मात्र प्रोत्साहित गरेर आन्तरिक प्रतिस्पर्धालाई कमजोर बनाइँदा नेतृत्वमा नालायक मात्र पुग्छन्। नालायकले दल र देश हाँक्न थालेपछि अवस्था नाजुक हुन्छ, नागरिक सन्तुष्ट हुने ठाउँ रहँदैन।
केसी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख हुन्।