ट्राफिक प्रहरीको स्वास्थ्य संवेदनशीलता
कार्यालय समयमा नक्सालबाट कुलेश्वर जाने क्रममा सडक जामका कारण रोकिँदै–रोकिँदै टेकु पुगेको थिएँ। एक्लै गाडी चलाउँदा एउटा विषय छानेर अंग्रेजीमा आफैंसँग वादविवाद गर्ने बानी छ। सोही वादविवादमा चर्काचर्की हुँदै गर्दा दायाबाया मोटरसाइकलको चेपाइले गाडी अगाडि बढाउन निकै हम्मेहम्मे परेको थियो। वातानुकूलित वातावरण र वादविवादले बाटोको त्यो अस्तव्यस्त जीवन बिर्सिरहेको थिएँ।
त्यत्तिकैमा बाटोको पेटीमा उभिएका ट्राफिक प्रहरीले हातले इसारा गरेको देखें। मैले बुझिहालें— तिनलाई लिफ्ट चाहिएको छ। वादविवादमा पूर्णविराम लगाई गाडी साइड लगाएँ र अगाडिको यात्री सिटपट्टिको ढोका खोलिदिएँ। ती ट्राफिक नजिक आएर ‘सर, मलाई कालीमाटी चौकीसम्म छाडिदिन मिल्छ ? ’ मैले बुझेरै रोकेको कुरा उनलाई बताएँ। म पनि सोही दिशातर्फ लागिरहेको बताएँ। गाडीको अगाडिको यात्री सिटमा ट्राफिक जवान बसे र ढोका लगाएर सिट बेल्ट बाँध्न थाले। विस्तारै गाडी अगाडि बढाएँ।
त्यत्तिकैमा मैले उनलाई काठमाडौंको धुलो–धुवाँले ट्राफिक जवानमा आइपर्ने स्वास्थ्य समस्याको विषय उठाएँ। विषय उठाउनासाथ ती जवानले मधुरो आवाजमा भने, ‘हो हजुर, धेरै बाँच्ने त यहाँहरू नै हो, हामी त निकट भविष्यमैै मरिहाल्छम्।’ मर्मले भरिएको त्यो वाक्यले मलाई उचालेर पछारेतुल्य बनायो। एकछिन जवानको भावुकतामा डुबें तर गाडीमा वातानुकूलित वातावरण खोलेर हिँडेको म, बाटोमा आफ्नो स्वास्थ्यको फिक्री नगरी जनतालाई सेवा प्रदान गर्ने जवानको अगाडि एउटा लज्जास्पद पात्र बन्न पुगें।
त्यस्तो नभन्नु दाइ भनेको मात्र थिएँ, उनले असई सावलाई पनि गाडीमा कालीमाटी पुर्याउन मिल्ने÷नमिल्ने प्रश्न गरे। ‘भइहाल्छ’ भनी मैले गाडी साइड लगाएँ। अर्का जवान पछाडिको यात्री सिटमा बसे। ब्याक मिररमा हेर्दा उनी विस्तारमा माक्स खोल्दै सिटको आनन्द लिँदै थकान मेटाउने प्रयास गर्दै थिए, त्यत्तिकैमा मैले फेरि ट्राफिकको स्वास्थ्यको विषयको बहस सुरु गरें।
मैले पोहोर साल सोही विषयमा अखबारमा एउटा लेख लेखेको कुरा पनि सुनाएँ। सो लेख लेख्ने क्रममा प्रहरीका गन्यमान्य, काँधमा तारा र जनताको आत्मविश्वास बोकेको हाकिमलाई जवानको स्वास्थ्यको विषय उठाउँदा आँखामा पनि नहेरी राजनायक शैलीमा उत्तर दिएको र तारावाललाई प्रहरी संगठन र जवानभन्दा आफ्नै स्वार्थको निमित्त मात्र प्रहरीमा काम गरिरहेको मैले गरेको अनुभव, ती दुई जवानसामु राखें। जवानको अगाडि हाकिमलाई अप्रत्यक्ष रूपमा गाली गर्दा प्रहरी संगठनलाई नै गाली गरेजस्तो लागेर फेरि घुमाउरो शैलीमा मैले भनेका कुरा यहाँहरूलाई पनि मनमा परेकै छ, समाज र प्रोटोकलको हिसाबले भन्न मात्र नसक्नु भएजस्तो लाग्छ। यति भनेपछि पछाडि बसेका जवानले अनुहारमा भरिएको हिच्किचाहटको हाँसो मैले ब्याक मिररमा हेरिरहेको थिएँ। उनले सानो स्वरमा हो हजुर, ठीक भन्नु भो।
एउटा प्रहरी जवान नै माथिका प्रहरीले प्रहरी संगठन समाजभन्दा आफ्नो स्वार्थको निमित्त काम गरेको कुरा स्वीकार गर्छ। प्रहरी एउटा यस्तो संगठन हो, जसले देश र जनताको सुरक्षाका निमित्त लागिपर्ने शपथ खाएका हुन्छन्। त्यस्तो संगठनमा मुख्यरूपमा शारीरिक क्रियामा संलग्न हुने प्रहरी जवान नै हाकिमको बन्दुकबाट निस्केको अत्याचारको सिकार बन्न गइरहँदा, यस संगठनले न्यायिक रूपमा र एउटा साथीका रूपमा काम गर्नेछ भनेर पूर्णरूपमा विश्वास गर्न जोकोहीलाई गाह्रो पर्छ। सत्य, सेवा, सुरक्षणको व्यावहारिक रूपान्तरणलाई प्रहरी एउटा एकताबद्ध संगठनका रूपमा अगाडि आउन जरुरी छ। आफ्ना जवानको स्वास्थ्यसँग मात्र नभएर अरू व्यक्तिगत र व्यावसायिक व्यक्तित्वको विकास भएमात्र त्यो संगठनले जनताको सेवामा आफ्ना शतप्रतिशत ऊर्जा लगानी गर्न सक्छ, जसले देश र जनतामा सत्य, सेवा, सुरक्षणको अनुभूति दिलाउन ठूलो साहस प्रदान गर्नेछ।