शिवधुरी होमस्टे सञ्चालन
वागलुङ : ढोरपाटन पदयात्रामा जाने पर्यटक र ग्रामीण परिवेश बुझ्न चाहने स्वदेशी तथा विदेशीलाई लक्ष्य गरी शिवधुरी सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ। काँठेखोला गाउँपालिका– ५ बिहुँकोटका स्थानीयले आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति होमस्टे सञ्चालनमा ल्याएका हुन्।
होमस्टेको औपचारिक उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री विकास लम्सालले गरेका छन्।गण्डकी प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनलाई प्राथमिकता दिने क्रममा होमस्टेलाई अग्रस्थानमा राखेको मन्त्री लम्सालले बताए।
उनले भने, ‘प्रदेश सरकारले प्रत्येक होमस्टे प्रवद्र्धन गर्न १० लाख रुपैयाँ नगद अनुदान दिने व्यवस्था गरेको छ। यो रकमबाट होमस्टेको प्रवद्र्धन, पूर्वधार विकास तथा अन्य होमस्टेको अध्ययन भ्रमण गरेर त्यसको सकारात्मक पक्षलाई अलम्बन गराउन प्रयोग गर्ने नीति अगाडि सारेको छ। चालु आर्थिक वर्ष २०७५-७६ मा गण्डकी सरकारले तीन सयवटा होमस्टे प्रवद्र्धन गर्ने भएको छ।
यसका निम्ति ३० करोड रुपैयाँको बजेट नै विनयोजन गरेको जानकारी पनि मन्त्री लम्सालले दिएका छन्। ‘सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रूपमा विभिन्न प्रवद्धनात्मक अभियान गरेर पर्यटकीय गतिविधि अगाडि सारिएको छ’, मन्त्री लम्सालले भने। गण्डकी प्रदेशको केन्द्र पोखरा भएकोले यस क्षेत्रका पर्यटकीय गतिविधिलाई सम्मेलनमार्फत प्रवद्र्धनको अभियान चलाउने तयारी रहेको पनि उनले बताए।
बिहुँकोटसँग यसका नजिकका गाँउ, वरपरका पर्यटकीय क्षेत्रसहित काँठेखोला गाउँपालिकामा रहेको सातवटा होमस्टेसँग प्रवद्र्धनको अभियानमा जोडिने पनि उल्लेख छ। ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले शिवधुरी सामुहिक होमस्टेसँगको सहकार्यमा होमस्टे सुरुवातको कार्यक्रम गरेको हो। होमस्टे सुरुवातपछि यसलाई सञ्चालन गर्ने, पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने तथा वरपरका पर्यटकीय गतिविधिसँग जोड्दै ग्रामीण पर्यटनको उत्कृष्ट नमुना बनाउन सकिने भिटोफ नेपालका अध्यक्ष धु्रव सिंखडाले बताए।
उनले भने, ‘ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने र स्थानीयको आम्दानीको स्रोत बढाउँदै जाने मुख्य उद्देश्य राखेर काँठेखोलामा होमस्टे सञ्चालन गर्न प्रेरित गरिएको हो।
भिटोफका प्रथम उपाध्यक्ष दीपक दाहालका अनुसार बर्सेनि नयाँ गाउँको प्रवद्र्धन गर्ने र पर्यटकीय प्याकेजसहितको कार्यक्रम ल्याउन आफूहरूले सहयोग गर्ने गरेको बताए।
दाहालले भने, ‘यो वर्ष नयाँ होमस्टे प्रवद्र्धन गर्ने क्रममा भिटोफले शिवधुरी सामुदायिक होमस्टे छनोट गरेको हो।’ यो होमस्टेको स्थलगत भ्रमण गरेर फर्किएका पर्यटन व्यवसायीसहितको टोलीले पर्यटक सोहीस्थानमा पठाउन पनि विशेष जोड दिने भएका छन्।
भिटोफका द्धितीय उपाध्यक्ष गोपाल थापाले भने, ‘ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको यो संस्थाको रोजाईमा शिवधुरी पर्नुलाई स्थानीय पर्यटन विकासमा यसको आफ्नो तर्फबाट यथेष्ट योगदान दिन्छ भन्नु हो।’ बागलुङ बजारबाट जम्मा २० किलोमिटरको दूरीमा रहेको यो होमस्टे मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रु तथा ढोरपाटन जाने पर्यटकको रोजाइमा पर्न सक्छ। यसलाई स्थानीयसँगको सहकार्यमा पर्यटन व्यवसायीलेमार्फत प्रोत्साहन दिइने थापाले बताए।
भिटोफले यो होमस्टेको स्थायीत्व तथा दक्षता अभिवृद्धिका लागि एक दिने घरवास तालिम पनि प्रदान गरेको छ। होमस्टे सञ्चालक र स्थानीयबासीलाई राखेर दिइएको यस्तो तालिमले ग्रामीण क्षेत्रको पहिचान दिन, अतिरक्ति आम्दानीको स्रोत बनाउन र घरमा आउने पाहुना आम्दानीको स्रोतको विषय पनि हुन भन्ने चेतना दिएको भिटोफका प्रथम उपाध्यक्ष दाहालले बताए।
बिहुँकोटका विभिन्न ११ घरमा सुरुवात गरिएको यो सामुदायिक होमस्टे यहाँका स्थानीयको सबैभन्दा उत्साहको विषय भएको होमस्टेका उपाध्यक्ष ध्रुवबहादुर कँडेलले बताए। १५ वर्ष वैदेशिक रोजगारी गरेर फर्किका कँडेल आफैंलाई पनि होमस्टे सुरुवात गर्न सकेकोमा यसले निकै उत्साहित बनाएको छ। कँडेलले भने, ‘अब यसको प्रवद्र्धन गर्दै र ग्रामीण पर्यटनमा उत्कृष्ट नमुना बनाएर सेवा दिनमा प्रतिबद्ध छौं।’