सिंहदरबारमा लुटेरा मात्र बसेका छन् : मुख्यमन्त्री राउत

सिंहदरबारमा लुटेरा मात्र बसेका छन् : मुख्यमन्त्री राउत

वीरगन्ज : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा लुटेरामात्र बसेको आरोप लगाएका छन्।  वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन्। 

 ‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्धहोस् भन्ने चाहेकै छैनन् ’, मुख्यमन्त्री राउतले भने, उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन्।’  सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनको आरोप छ। 

सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण मुलुकको समृद्धि र विकास हुन नसकेको राउतको भनाइ छ। संघीय सरकारलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यपारीलाई पनि लुटिरहेको आरोप लगाए। 

नेपाललाई साच्चिकै समृद्ध र विकसित मुलुक बनाउने हो भने उद्योगी र व्यपारीलाई राज्यले सम्मान गर्नुपर्ने र उद्योगमैत्री नीति बनाउनु पर्ने उनको भनाइ छ।

त्यसैगरी एक अर्को प्रसंगमा राउतले संविधान जारी गरेर दिपावली मनाएका दलले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन्।  ‘हिजो संविधान जारी गर्ने बेला दिपावली गरेर खुशीयाली मनाएकाले नै अहिले संविधान कार्यान्वयन गर्न चाहिरहेका छैनन्। उनीहरु देश लुट्न मात्र व्यस्त छन्’, उनले भने। 

प्रदेशमा भने प्रदेश सरकारले  बनाउने औद्योगिक कानुन उद्योगीसँग छलफल गरेर बनाइने विश्वास मुख्यमन्त्री राउतले दिलाएका छन्।  देशका ठुल्ठूला उद्योगी व्यापारी आफनो गलत स्वार्थ पूर्तिका लागि राजनीतिक दलको चङगुलमा फसेका कारणले पनि उद्योग र व्यपारमा समस्या देखिएको उनको भनाइ छ।

शपथपछि कार्यक्रममा बोल्दै वीरुगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल केडियाले दुई वर्षे कार्यकालमा संघको नवनिर्वाचित टिमले देखिने गरी काम गर्ने बताए। 

पर्सा बारा औद्योगिक करिडोरको औद्योगिक सुरक्षाका निम्ति कोरिडोरलाई सीसीटिभी क्यामराको सञ्जालमा जोड्ने,  औद्योगिक कोरिडोरका  लागि केमिकलयुक्त वारुणयन्त्र सहितका पूर्वाधार निर्माण गर्ने, सिमारा विमानस्थलको स्तरोन्नती गरी भारत र नेपालका काठमाडौं बाहेकका ठूला सहरमा नियमित उडानका लागि पहल गर्ने र पर्साको एउटा निश्चित भूभागमा धुलोजन्य अर्थात् डस्टी कार्गोको भण्डारणको  व्यवस्था मिलाउने योजना रहेको उनले सुनाए। 

गत पुष २७ गते सम्पन्न ४३ औं सधारणसभाबाट निर्वाचित संघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई   सोमबार साँझ प्रमुख निर्वाचित अधिकृत बालमुकुन्द खरेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश२ का मुख्यमन्त्री लालबाबु राउत। तस्बिर : क्रान्ति शाह

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.