धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म प्रचार भइरहेको प्रति आपत्ति जनाएका छन्।
देशव्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा मंगलबार काठमाडौंको नागार्जुन नगर समितिले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आपत्ति जनाएका हुन्।
‘धर्म परिवर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौंदेखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द हुने खतरा बढेको छ’, थापाले भने।
उनले हिन्दु धर्मको कुरा गरेको कारण अरु धर्मलाई थिचोमिचो नहुने र आफू कुनै धर्मको विरोधी नभएको समेत स्पष्ट पारे।
उनले आफू सबै धर्मबीच समानता र स्वतन्त्रताको पक्षमा रहेको प्रष्ट पारे। हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने उनको भनाइ छ।
‘हिन्दु राष्ट्र हुँदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने होइन’, थापाले भने, ‘मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा आवश्यक छ।’
उनले कुनै पनि धर्म शास्त्रले जन्म र जातको आधारमा छुवाछूत र भेदभाव नगरेको भन्दै कुरुती, अन्धविश्वास र कमिकमजोरीलाई सुधार गर्नुपर्ने बताए।