म्यानचेस्टर सिटीलाई न्युक्यासलको झट्का

म्यानचेस्टर सिटीलाई न्युक्यासलको झट्का

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको बुधबार विहान खेलिएको खेलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले नमिठो हार भोगेको छ भने म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै बराबरीमा रोकिएको छ। आर्सनलले भने घरेलु मैदानको फाइदा उठाउँदै प्रतिस्पर्धात्मक जित हासिल गरेको छ।

सेन्ट जेम्स पार्कमा खेलिएको खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोलले हरायो भने म्यानचेस्टर युनाइटेडलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी बर्नलीले २-२ गोलको बराबरीमा रोक्यो। आर्सनलले भने कार्डिफ सिटीमाथि २-१ गोलको जित हासिल गर्‍यो।

कमजोर प्रतिद्वन्द्वीसँगको अप्रत्यासित हारसँगै साविक विजेता म्यानचेस्टर सिटीको उपाधि होडमा पनि नमिठो धक्का लागेको छ। जारी सिजनको घरेलु लिगमा म्यानचेस्टर सिटीको यो चौथो हार हो। २३ खेल खेलको लिभरपुल ६० अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ।

लिभरपुलभन्दा एक खेल बढी खेलको म्यानचेस्टर सिटी ५६ अंकसहित दोस्रो स्थानमा छ। लिभरपुलले बिहीबार विहान घरेलु मैदानमा पूर्वविजेता लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित हात पार्न सके लिभरपुलले म्यानचेस्टर सिटीसँग सात अंकको अग्रता हासिल गर्नेछ।

लिग तालिकामा २३ खेल खेलेको टोट्टनहाम ५१ अंकसहित तेस्रो, समान खेल खेलेको चेल्सी ४७ अंकसहित चौथो, २४ खेल खेलको आर्सनल ४७ अंकसहित पाँचौं र समान खेल खेलेको म्यानचेस्टर युनाइटेड ४५ अंकसहित छैटौं स्थानमा आसिन छन्।

खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिएर पनि म्यानचेस्टर सिटीले त्यसलाई जोगाउन सकेन। म्यानचेस्टर सिटीका लागि अनुभवी खेलाडी सर्जियो एग्वेरोले खेल सुरु भएको २४औं सेकेन्डमै पहिलो गोल गरेका थिए। सोही गोलका कारण पहिलो हाफमा म्यानचेस्टर सिटी अगाडि रह्यो।

खेल अवधिभर ७६ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाए पनि म्यानचेस्टर सिटीका खेलाडीले दोस्रो हाफमा आफ्नो टोलीलाई लगातार दुई गोल खानबाट जोगाउन सकेनन्। खेलको ६६औं मिनेटमा न्युक्यासल युनाइटेडका लागि सालोमन रोन्डनले जवाफी गोल फर्काए।

निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि न्युक्यासल युनाइटेडका लागि म्याट रिट्चीले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। २४ खेलबाट २४ अंक बटुलेको न्युक्यासल युनाइटेड तालिकाको १४औं स्थानमा आसिन छ। प्रिमियर लिगमा न्युक्यासलका लागि यो महत्वपूर्ण जित हो। यसअघि न्युक्यासलले २२ खेलमा म्यानचेस्टर सिटीलाई हराउन सकेको थिएन।

यसैगरी घरेलु मैदानमा खेलिएको खेलको अन्तिम समयमा लगातार दुई गोल फर्काउँदै म्यानचेस्टर युनाइटेडले आफूलाई सम्भावित हारबाट जोगाएको थियो। प्रतिस्पर्धात्मक खेलमा चारवटै गोल दोस्रो हाफमा भएका थिए।

खेलको ५१औं मिनेटमा आस्ले बार्नेसले बर्नलीलाई सुरुआती अग्रता दिलाएका थिए। ८१औं मिनेटमा क्रिस उडले बर्नलीको अग्रतालाई दोब्बर बनाए। ओल्ड ट्राफोर्डमा खेलिएको उक्त खेलको ८७औं मिनेटमा पल पोग्बाले पेनाल्टीमार्फत म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरे।

पराजयको अत्यन्तै निकट पुगेको म्यानचेस्टर युनाइटेडलाई सम्भावित हारबाट जोगाउन इन्जुरी समयको दोस्रो मिनेटमा भिक्टर लिन्डलोफले दोस्रो गोल फर्काएका थिए। उनी प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि गोल गर्ने चौथो स्विडिस खेलाडी बनेका छन्।

यसअघि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि स्विडेनका खेलाडी जेस्पर ब्लोमक्विस्ट, हेनरिक लार्सन र ज्लाटन इब्राहिमोभिचले गोल गरेका थिए। २४ खेलबाट २३ अंक जोडेको बर्नली तालिकाको १५औं स्थानमा आसिन छ।

ओल्ड ट्राफोर्डमा खेलिएका पछिल्ला २० खेलमा बर्नलीले एउटा पनि जित हात पार्न सकेको छैन। पछिल्ला २० मध्ये आठ खेल बराबरीमा सकिएको छ भने १२ खेलमा बर्नलीले म्यानचेस्टर युनाइटेडसँग हार ब्यहोरेको छ।

यसैगरी कार्डिफ सिटीविरुद्घको खेलमा घरेलु टोली आर्सनलका लागि ६६औं मिनेटमा पियर एमरिक आउबामेयाङ्ले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। ८३औं मिनेटमा अलेक्जेन्डर लाकाजेट्टीले आर्सनलको अग्रता दोब्बर बनाए।

खेल सकिनुभन्दा ठिकअघि कार्डिफ सिटीका लागि नाथानी मेन्डेजले एक गोल फर्काएका थिए। हालसम्म २४ खेल खेलेको कार्डिफ सिटी १९ अंकसहित तालिकाको १८औं स्थानमा आसिन छ। आर्सनल प्रिमियर लिगमा घरेलु मैदानमा खेलिएको पछिल्लो १२ खेलमा अपराजित रहँदै आएको छ।

पछिल्लो पटक प्रिमियर लिगमा आर्सनललाई घरेलु मैदानमा गत अगस्टमा म्यानचेस्टर सिटीले २-० गोलले हराएको थियो। त्यसयता घरेलु मैदानमा खेलिएका १२ मध्ये १० खेलमा आर्सनल विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएको छ।

प्रिमियर लिगका अन्य खेलमा फुलहामले घरेलु मैदानमा ब्राइटनलाई ४-२ गोलले हरायो भने एभर्टनले हडर्सफिल्ड टाउनलाई उसैको मैदानमा १-० गोलले हारको स्वाद चखायो। वल्भरह्याम्पटनले भने घरेलु मैदानको फाइदा उठाउँदै वेस्ट हाममाथि ३-० गोलको जित हासिल गर्‍यो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.