नापोलीलाई हराउँदै एसी मिलान सेमिफाइनलमा
रोम : जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको एसी मिलान इटालियन कपमा भने सेमिफाइनलमा पुगेको छ। एसी मिलान बुधबार विहान घरेलु मैदानमा खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी नापोलीलाई २-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
घरेलु लिग इटालियन सिरिएमा भने नापोली ४८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। खासै गतिलो प्रदर्शन गर्न नसकेको एसी मिलान भने घरेलु लिग तालिकामा ३५ अंकसहित चौथो स्थानमा आसिन छ।
एसी मिलानलाई इटालियन कपको सेमिफाइनलमा पुर्याउन दुबै गोल किर्जिस्तोफ पितेकले गरे। भर्खरै मात्र जेनोआबाट एसी मिलानमा आबद्ध भएका पितेकले आफ्नो नयाँ क्लबका लागि खेलेको यो पहिलो खेल हो। २३ वर्षीय पितेक पोल्यान्डको राष्ट्रिय टोलीका सदस्य पनि हुन्।
उनी गत साता तीन करोड पाउन्डमा जेनोआबाट एसी मिलानमा आबद्ध भएका हुन्। उनले खेल सुरु भएको २७ मिनेटभित्रै टोलीका लागि दुबै गोल गरेका थिए। खेल सुरु भएको ११औं मिनेटमा पहिलो गोल गरेका पितेकले २७औं मिनेटमा अर्को गोल थपेका थिए।
अनुभवी खेलाडी गोन्जालो हिग्वेन ऋणमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीतर्फ लागेपछि एसी मिलानले पितेकलाई भित्राएको हो। एसी मिलानले इटालियन कपको सेमिफाइनलमा इन्टर मिलान वा लाजियोसँग प्रतिस्पर्धा गर्नेछ।