बार्सिलोनाबाट स्वारेजलाई भित्र्याउँदै आर्सनल
बार्सिलोना : स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा लामो समय बिताएका चर्चित मिडफिल्डर डेनिस स्वारेज इङ्लिस प्रिमियर लिग क्लब आर्सनलमा आबद्ध हुने भएका छन् । २५ वर्षीय स्पेनिस खेलाडी स्वारेजलाई भित्राउने विषयमा अन्तिम तयारी भइरहेको आर्सनलले जनाएको छ ।
स्वारेजले जारी सिजनको बाँकी अवधि ऋणमा आर्सनलबाट खेल्ने छन् । सन् २०१६ मा भिल्लारियलबाट बार्सिलोनामा आबद्ध भएका स्वारेजले क्लबका लागि ७१ खेल खेलेका छन् । भिल्लारियलमा आउनुअघि पनि उनी बार्सिलोनाकै ‘बी’ टोलीमा आबद्ध थिए ।
जारी सिजनमा भने स्वारेजले बार्सिलोनाका लागि आठ खेलमात्र खेलेका छन् । आर्सनलका वर्तमान प्रशिक्षक युनाई एमरीको पहलमा उनी इङ्लिस क्लबमा आबद्ध हुन लागेका हुन् । स्वारेजले एमरीको प्रशिक्षकत्वमा रहेर यसअघि सेभिलबाट ब्यवासायिक फुटबल खेलेका थिए ।
बार्सिलोनाले कोपा डेल रेको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा स्वारेजलाई नखेलाइने यसअघि नै घोषणा गरिसकेको छ । बार्सिलोनाले बिहीबार राति घरेलु मैदानमा सेभिलसँग क्वार्टरफाइनलको दोस्रो लेग खेल खेल्दै छ । पहिलो लेग खेलमा बार्सिलोनालाई सेभिलले २—० गोलले हराएको थियो ।
स्वारेजले युवा अवस्थामा केही समय इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा पनि बिताएका थिए । म्यानचेस्टर सिटीबाट बार्सिलोनाको युवा टोलीमा आबद्ध हुँदा स्वारेज केवल १९ वर्षका थिए ।