बीपीका चेला भारतीय पूर्वमन्त्री फर्नान्डेसको निधन

बीपीका चेला भारतीय पूर्वमन्त्री फर्नान्डेसको निधन

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयात्री समेत रहेका भारतीय पूर्वरक्षामन्त्री जर्ज फर्नान्डेसको ८८ वर्षको उमेरमा मंगलबार बिहान नयाँदिल्लीमा निधन भएको छ। उनी लामो समयदेखि अल्जाइमरका विरामी थिए। महेन्द्र र वीरेन्द्रकालीन पञ्चायती शासन पद्धतिबाट नेपाली जनतालाई बाहिर ल्याउन फर्नान्डेसले भारतका अन्य समाजवादी नेताहरूले झैँ भूमिका खेलेका थिए। सोही कारण उनलाई नेपाली लोकतान्त्रिक आन्दोलनका सहयात्रीको उपमा दिइएको छ। चन्द्रशेखरलाई बढी स्मरण गरिए पनि उनको भूमिका पनि कम नभएको तत्कालीन राजनीतिलाई नियालेका अघिल्लो पुस्ताले सम्झन्छन।

यद्यपि नेपालसँग उनको सम्बन्ध २०४६ को परिवर्तनको केही वर्षपछि खासै जम्न सकेन। तिब्बतीको पक्षमा वकालत गर्ने र नेपाललाई पनि त्यसमा घिच्याउन थालेपछि उनको र नेपाली नेताको सम्बन्ध विस्तारै बिग्रँदै गयो। २०५० तिर आएर उनी र नेपाली नेताबीचको सम्बन्धमा जोडिने नसक्ने गरिनै च्यातियो। बीपी कोइरालाका समाजवादी चेलाको रूपमा रहेका उनी नेपाली कांग्रेस निकट रहेर यहाँको प्रजातान्त्रिक आन्दोलनलाई महेन्द्रको ‘कू’ पछिका दिनदेखि नै सघाए। ‘उनी बीपीको समाजवादी चेलाको रूपमा रहेका थिए। त्यही कारण कांग्रेसी नेताहरूसँग उनको हिमचिम राम्रो थियो’, पूर्वराजदूत डा. दिनेश भट्टराईले अन्नपूर्णसँग भने, ‘२०५० मा नेपाल उनी आउँदा चीन जोड्ने प्रमुख नाका तातोपानी हुँदै खासा गएको भनिँदा म दिल्लीमा थिएँ। उहाँ तिब्बत समर्थक भारतीय नेता हुनुहुन्थ्यो। नेपालसँगको सम्बन्ध खटपट पनि तिब्बतको विषयलाई लिएर नै भएको हो, अन्यकारण छैन।’

उनले पछिल्लो समय तिब्बत मामिलालाई नेपाल भारत र नेपाल चीन सम्बन्धको बीचमा ल्याइदिएर नेपाललाई अप्ठेरोमा समेत पारिदिएका थिए। जुन समस्यामा अहिले हामी फेरि फस्दै छौँ’, भट्टराईले भने। ‘नेपाल–चीनबीचको व्यापारिक नाका तातोपानीबाट खासासम्म सुटुक्क पुगेर काठमाडौँ फर्की चीनको स्वशासित क्षेत्र तिब्बतबारे उनले दिएको विवादास्पद अभिव्यक्तिले चीनसँगको नेपाल सम्बन्धलाई नै झस्काएको थियो’, उनले स्मरण गरे, ‘चीनसँग नेपाल सरकारको मात्र होइन र बीपीले गाँसेको कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धमा पनि चिसोपना आएको थियो। यद्यपि उनी खासा पुगेको वा प्रोपोगन्डा गरेको अझै स्पष्ट छैन।’

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उनलाई बालुवाटार बोलाएर हकारेको पनि हल्ला त्यतिबेला डा. भट्टराई स्मरण गर्छन्। ‘उनी नेपाली भनेपछि समस्या पर्दा आफ्नै गाडीमा राखेर कार्यालय लगेर पनि आफूले सक्ने सहयोग गर्थे। सहज र सरल थिए’, उनीसँग गाडीमा बसेर संसद् भवन भएको स्मरण गर्दै डा. भट्टराईले भने। पन्चायतविरुद्ध लडिरहँदा बीपी नेतृत्वमा भएको सशस्त्र संघर्षकालमा भारत प्रवासमा रहेका कांग्रेसका केही कार्यकर्ताको सहयोगमा उनी खासा पुगेको भनिन्छ। यसको जानकारी चीनलाई थिएन तर पछि उनले काठमाडौंमा आएर पत्रकार सम्मेलन गरेर तिब्बती जनताले तिब्बतमा भोगिरहेको समस्याबारे बोलेका थिए। उनको धारणा र नेपाल सम्बन्धले चीनलाई चस्का पसेको थियो।

मन्त्री भइसकेको व्यक्ति नेपाली भूमि प्रयोग गरी खासा पुग्नु र काठमाडौँ फर्केर त्यस्तो विवादास्पद अभिव्यक्ति दिनुले तत्कालीन सरकारलाई समस्या परेको थियो। ‘त्यतिबेला चीन बिच्कनु स्वभाविक थियो’, पूर्वराजदूतले भने। उनी विहारबाट निर्वाचत समेत उठेको हुनाले नेपाललाई राम्रै बुझेका थिए। नेपालको संवेदनशीलता पनि थाहा थियो तर त्यसमा ध्यान दिएनन। बीपी र इन्दिरा गान्धीको सम्बन्ध बिग्रँदा उनले बीपीको पक्षमा वकालत गरेका थिए। यद्यपि उनी आन्तरिक राजनीतिमा पनि गान्धीको विरोधमा रहे। इन्दिरा गान्धीले लगाएको संकटकालको विरोधमा उनी निकै सक्रिय थिए। जसले उनलाई शालीन तर विद्रोही नेता भनिन्थ्यो।

पूर्व परराष्ट्रसचिव डा. मदन भट्टराईले पनि फर्नान्डेस नेपालको सच्चा मित्र भएको सुनाए। ‘तत्कालीन नेपाली राजनीतिक नेतृत्वहरू समाजवाद उन्मुख थिए भने उनी पनि समाजवादी धार बोकेर हिँडेको भारतीय नेता हुनाले सम्बन्ध राम्रो थियो’, भट्टराईले स्मरण गरे, ‘२०४६ को जनआन्दोलनसम्म पनि उनले नेपाललाई साथ दिएका थिए। सद्भाव चाहन्थे।’ हुनत उनी आफैँ भारतभित्रै विवादमा परिरहन्थे।’ मेलमिलापको नीति लिएर बीपी नेपाल फर्केपछि भारतीय समाजवादी नेताहरूले बीपीलाई सहयोग गरेका थिए।

हुनत उनी भारतमा नै पनि बेलाबेलामा विवादमा परिरहेका नेता थिए। पहिलो दाम्पत्य जीवन सुखमय हुन नसकेको उनी नेपालसँग सम्बन्ध बीपीको कारण नै बढाएका थिए तर पछि त्यसलाई तिब्बतको मामिलामा उपयोग गर्न खोजेपछि कांग्रेससँग नै सम्बन्ध विग्रियो। २०४६ को आन्दोलन ताका मात्र होइन बीपीले राजाविरुद्ध संघर्ष गर्दा उनको साथ सामान्य भने थिएन। बीपीको निधन नहुन्जेल उनले तिब्बतको विषयमा नेपाललाई उपयोग गरेनन् तर उनको निधनपछि देखिने गरी नै उपयोग गर्ने प्रयास गरे तर सफल भएनन। हुनत उनले २०४६ को जनआन्दोलमा सघाए। यसै कारणले होला कोइराला परिवार निकट पूर्वमन्त्री जयप्रकाश गुप्ताले सामाजिक सञ्जालमार्फत नै लोकतन्त्रका ऋणीपात्र भन्दै उनको सहयोगलाई कोशेढुंगा भनेका छन्। उनका अनुसार सशस्त्र कारबाहीको गतिविधि गरिरहँदा नेपाली कांग्रेसलाई हतियार उपलब्ध गराउने जस्ता कार्यमा सहयोगी बने। यद्यपि उक्त हतियार इन्दिरा गान्धीका कारण नेपाल आउन पाएन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.