श्रीमती हत्या अभियोगमा कारागार चलान भएकै दिन आत्महत्या
दोलखा(चरिकोट) : दोलखा जिल्ला कारागारभित्रै एक युवाले आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका–५, लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति चरिकोटस्थि कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।
श्रीमती हत्या आरोप लागेका शेर्पालाई पुर्पक्षका लागि थुनाका राख्न अदालतले आदेश दिएपछि मंगलबार मात्रै कारागार चलान गरिएको थियो । उनले राति करिब १२ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शेर्पाले कारागारको झ्यालमा जुत्ताको तुनामा झुण्डिएर आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए । श्रीमती हत्याको आरोपमा उनलाई दोलखा प्रहरीले पुस २० चरिकोटस्थित चरिघ्याङबाट पक्राउ गरेको थियो। शेर्पाको शव पोष्टमार्टमका लागि चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।