कांग्रेसले भन्यो : माग पुरा भएन, संसदमा अवरोध जारी राख्छौँ
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना माग पुरा नभएको भन्दै संघीय संसदमा अवरोध जारी राख्ने बताएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार डाकेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले आफ्ना माग पुरा भइनसकेकाले संसद्मा अवरोध जारी राख्ने जानकारी गराएको हो ।
कांग्रेसको माग अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँस्थित गिरिजाप्रसाद कोइराला स्वास प्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताललाई मापदण्ड नपुगे पनि केन्द्र सरकारमातहतमै ल्याउने निर्णय गरेको थियो ।
तर २२ दिनदेखि अनशन बस्दै आएका प्रा.डा. गोविन्द केसीको मुद्दामा अडान लिँदै कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँले संसदमा अवरोध नरोकिने बताएका हुन् ।
‘अनशनरत डा. केसीको माग पुरा भएको छैन । चिकित्सा शिक्षा विधेयक पनि हामीलाई पेलेर जबरजस्ती पास गरियो’, बैठकमा प्रमुख सचेतक खाँको भनाइ उधृत गर्दै एक नेताले भने, ‘हाम्रो अवरोध र विरोध कार्यक्रम जारी छ, डा. केसीको पनि माग पुरा हुनुपर्छ ।’