देशव्यापी सडकमा उत्रिँदै कांग्रेस, 'ठुला माछा' पनि एजेन्डा
काठमाडौँ : नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकार भ्रष्टाचारलाई संस्थागत गर्नेतर्फ लागेको आरोप लगाएको छ । माघ २१ गते देशव्यापी प्रदर्शन गर्न लागिएको सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले पछिल्ला केही घटनाले सरकार संवेदनहीन बन्दै गएको जिकिर गरे । कांग्रेसले स्थानीयदेखि केन्द्रसम्म विभिन्न ६ वटा एजेन्डालाई लिएर सडकमा उत्रने निर्णय गरेको हो ।
'सरकारले सदनमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार देखाएको छ', शर्माले भने, 'स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयासको हामी भर्त्सना गर्छौँ ।'
कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भनेको छ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा देशव्यापी बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको निचोड निकालेको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगीसक्दा पनि दोषी पत्ता लगाउन छाडेर निर्दोषलाई दोषी ठहर्याउने षडयन्त्र सरकारले गरेको आरोप कांग्रेसले लगाएको छ ।
कांग्रेसले आफ्नो विरोध प्रदर्शनको एजेन्डामा दुईवटा वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाबारे गहिरो छानबिन गर्न संसदमा र सार्वजनीक रुपमा पनि आवाज उठाउँदै आएको पनि जिकिर गरेको छ। माघ २१ को विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने जानकारी शर्माले दिए ।
कांग्रेसको एजेन्डामा नेपाल आफैँले बनाउन सकिने भनिएको बूढीगण्डकी बहुउदेश्यीय परियोजनाबिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिएको बारे पनि प्रश्न उठाएको छ। 'यसको पछिल्तिर के रहस्य लुकेको छ । माघ २१ को प्रदर्शनमा यो विषय पनि सम्मिलित रहनेछ', शर्माले भने ।
कांग्रेसले आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावले उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण थाल्ने दबाबका लागि माघ २१ को प्रदर्शनमा प्रश्न गरिने जनाएको छ।
त्यसैगरी ३३ किलो सुन काण्डमा 'ठुला माछा' हरु सरिक रहेको सरकारकै अधिकारीले नै बताएको सन्दर्भमा यसलाई पनि आन्दोलनको एजेन्डा बनाएको छ 'गृहमन्त्रीले नै सुन तस्करीमा ठुला माछा संलग्न छन् भनेर दिएको अभिव्यक्ति अनुरुपका ती ठुला माछा को हुन् ?', कांग्रेसले भनेको छ, 'सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ? माघ २१ को प्रदर्शनमा यो विषय पनि उठ्नेछ ।'
त्यसैगरी प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारवाहीका लागि दबाब बढाउन पनि प्रदर्शन गरिने शर्माले बताए ।
कांग्रेसले प्रधानमन्त्री शक्ति थुपार्न जुटेको पनि दाबी गरेको छ । 'कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङी प्रधामन्त्रीमा देखिएको छ', शर्माले भने, 'विरोधमा प्रदर्शनमा यो मुद्दा पनि समेटिने छ । संघीयता कार्यान्वयनको पक्षमा पनि हामी आवाज उठाउछौँ ।'