प्रहरी चौकीलाई निःशुल्क पाँच रोपनी जग्गा
कालिकोट : पलाँता गाउँपालिका–९ निवासी शेरबहादुर बमले इलाका प्रहरी चौकी थिर्पुलाई करिब पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । पलाँता गाउँपालिका–९ स्थित डाँडाखलाको पाँच रोपनी जग्गा बमले इलाका प्रहरी चौकी थिर्पुको नाममा निःशुल्क पास गरिदिएका हुन् ।
प्रहरी चौकीका कारण शान्ति, सुरक्षा र नागरिकका समस्यामा सहयोग पुग्ने भएकाले कार्यालय निर्माणका लागि निःशुल्क जग्गा दिएको समाजसेवी बमले बताए ।
लामो समयदेखि इलाका प्रहरी चौकी थिर्पु भाडाको घरमा सञ्चालन भइरहेको थियो । कर्णाली प्रदेश सरकारको तीन करोड बजेटमा फागुनदेखि प्रहरी भवन निर्माण हुने जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए ।