लेस्टरसँग बराबरीमा रोकियो लिभरपुल
लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको बिहीबार बिहान खेलिएको खेलमा ‘लिड लिडर’ लिभरपुललाई लेस्टर सिटीले १—१ गोलको बराबरीमा रोकेको छ। प्रिमियर लिगको पूर्वविजेता समेत रहेको लेस्टर सिटीले लिभरपुललाई उसैको मैदानमा बराबरीमा रोकेको हो।
उक्त नतिजापछि लिभरपुलले लिग तालिकामा आफ्नो निकट्तम प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग सात अंकको स्पष्ट अग्रता हासिल गर्ने अवसर पनि गुमाएको छ। यद्दपि, २४औं चरणको खेलको समाप्तिमा लिभरपुलले म्यानचेस्टर सिटीसँग पाँच अंकको अग्रता लिएको छ।
घरेलु मैदानमा खेल सुरु भएको तेस्रो मिनेटमै साडियो मानेले लिभरपुललाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि लेस्टर सिटीका ह्यारी माग्विरेले जवाफी गोल गर्दै नतिजालाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन।
लिभरपुल ६१ अंकसहित तालिकाको पहिलो स्थानमा छ। दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीको ५६ र तेस्रो स्थानमा आसिन टोट्टनहामको ५४ अंक छ। यसैगरी आर्सनल ४७ अंकसहित चौथो, चेल्सी पनि ४७ अंकसहित पाँचौं र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित छैटौं स्थानमा छन्। लेस्टर सिटी भने ३२ अंकसहित ११ औं स्थानमा छ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले एनफिल्ड मैदानमा लगातार रुपमा परेको हिउँका कारण आफ्ना खेलाडीले स्वभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए। ‘हिउँका कारण मेरा खेलाडीले स्वभाविक प्रदर्शन गर्न नसक्दा आजको खेलमा अंक बाँड्नु पर्यो। उनीहरुले छिटोछिटो पास खेल्न सकेनन्’, प्रशिक्षक क्लोपले भने।
उनले दोस्रो हाफमा लेस्टर सिटीका खेलाडीले गम्भीर फल खेल्दा पनि रेफ्रीले आफूहरुलाई पेनाल्टी प्रहारको अवसर नदिएको आरोप पनि लगाए। लिभरपुलले सन् १९९० पछि इङ्लिस प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। यसपटक भने लिभरपुल घरेलु लिगको उपाधि जित्ने अभियानमा निकै बलियो देखिएको छ।
बिहीबार नै भएको अर्को खेलमा टोट्टनहामले घरेलु मैदानमा वाट्फोर्डलाई २—१ गोलले हरायो। टोट्टनहामका लागि सन ह्युङ मिन र फर्नान्डो लोरेन्टले एक/एक गोल गरे।
चेल्सी भने बर्नमाउथसँग उसैको मैदानमा ४—० गोलले पराजित भयो। बर्नमाउथले आफ्नो घरेलु मैदानमा चेल्सीलाई हराएको यो केवल दोस्रो पटक हो। यसअघि सन् १९८८ को सेप्टेम्बरमा बर्नमाउथले घरेलु मैदानमा चेल्सीलाई हराएको थियो।
प्रिमियर लिगको इतिहासमा चेल्सी ४—० वा सोभन्दा बढी गोलको अन्तरले पराजित भएको यो दोस्रो पटक हो।
यसअघि सन् १९९६ को सेप्टेम्बरमा चेल्सीलाई लिभरपुलले ५—० गोलले हराएको थियो। यसैगरी चेल्सी सन् २०१८ को मार्चपछि लगातार दुईवटा प्रिमियर लिग खेलमा पराजित भएको यो पहिलो पटक हो। सन् २०१८ को मार्चमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले चेल्सीलाई लगातार दुई खेलमा हराएका थिए।