प्रेम, यौन र जीवन

प्रेम, यौन र जीवन

‘प्रेम जीवन हो, परमात्मा हो र ईश्वरीय कृपा हो। यसैले त प्रेम जीवनका हरेक खुसी, सुख, आनन्द र सन्तोषका जननी हो। प्रेम नै सत्यम्, शिवम्, सुन्दरम्।’ हेराइ, बुझाइ र भोगाइले पनि यही भन्छ। प्रेम नै शक्ति अनि प्रेम नै भक्ति !

प्रेमका अनेक रूप छन्। मातापिताप्रतिको प्रेम, दाजुभाइप्रतिको प्रेम, साथीभाइप्रतिको प्रेम, देशप्रति प्रेम आदि–इत्यादि। तर यहाँ यीभन्दा अलग, प्रेमी÷प्रेमिका र जीवन साथीबीच हुने प्रेमको चर्चा गर्दैछु। प्रेमसित मेरो पहिलो साक्षात्कार कीर्तिपुर विश्वविद्यालयमा भएको थियो। त्यहाँ अर्थशास्त्रमा स्नातकोत्तर गर्दै गर्दा मेरो त्यस जमानाको प्रखर युवा वक्ता मनमोहन भट्टराईसित प्रेम भएको थियो।

एउटा भनाइ छ– सच्चा हृदयले खोज्यो भने ईश्वर पनि भेटिन्छ। सायद मेरो कोसिस फितलो भएरै हो कि ? आजको मितिसम्म मेरो ईश्वरसित साक्षात्कार भएको छैन। तर कसैको सच्चा प्रेमले आफूलाई प्रेम गर्न विवश गर्दोरहेछ भन्ने यथार्थबोध मैले उही जमानामै गर्न पाएकी थिएँ। मनमोहनको एकोहोरो प्रेमले मेरो हदयलाई पत्तो नै नदिई प्रेम गर्न विवश मेरो जीवनको यथार्थ हो।

हामीले प्रेम गर्दा विवाह हुन सक्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं। त्यो जमानामा अन्तरजातीय विवाह, त्यो पनि ब्राह्मण र नेवारको बीचमा हुने सम्भाव्यता प्रायः शून्यसरह नै थियो। तर पनि हामीले एकअर्कालाई प्रेम गर्न रोक्न सकेनौं। प्रेम सबै कुराको चाँजोपाँजो मिलाएर, साइत जुराएर हुने हो र ?

सुरुमा विवाह अनिवार्य जस्तो पनि लागेन। कृष्ण र राधाको जस्तो पवित्र प्रेममै हामी सुखी र खुसी थियौं। दिन, महिना र वर्षहरू बिते। एक समयमा आएर विश्वविद्यायालयको पढाइ पनि सकियो। भेट्ने अवसर बन्द भयोे। हामीमा भने एकअर्काको सामीप्य रहने इच्छा बढ्दै गइरहेको थियो। हाम्रो प्रेमप्रतिको विश्वास होस् या हाम्रो धैर्य अथवा प्रेमको शक्ति ? अथवा यी सबैको सम्मि श्रण ?

तीन वर्षको प्रेमपछि परिवारको राजीखुसीमा हाम्रो विवाह भयो, त्यो पनि ब्राह्मण र नेवारको संस्कृति र संस्कारअनुसार। देख्ने, सुन्ने सबै तीनछक्क परेका थिए। जे होस्, त्यो समय हाम्रो प्रेमको जितले प्रेम गर्ने जोडीलाई एक नयाँ आशा र समाजमा सकारात्मक सन्देश दिएको थियो।

विवाहपछि प्रेमकथामा एक नयाँ अध्याय थप्यो– यौन अध्याय। सुरुमा यो अध्याय कुरूप लाग्थ्यो। कहीं आफूले गलत मान्छेलाई त रोजिएन ? मनमा प्रश्नहरू उठ्दा मेरो मन विचलित भएको थियो। तर समयक्रममा आत्मीय प्रेम र शारीरिक सम्बन्ध नै सफल र सुखद वैवाहिक जीवन हो भन्ने अनुभूति हुन थाल्योे। प्रेमको गहिराइ पनि बढ्दै गयो।

हाम्रो जमानामा समाज यौन मामिलामा अति नै संकीर्ण थियो। यसबारे बोल्न, सुन्न, पढ्न र सोच्नसमेत गलत मानिन्थ्यो। महिलाका लागि त यो शतप्रतिशत वर्जित नै थियो। कसैले यस विषयमा बोले मात्र पनि सजिलै उनलाई उत्ताउलीको विशेषण झुन्ड्याइन्थ्यो। सानैदेखि खासगरी छोरीलाई यस्तै खालको स्कुलिङमा हुर्काइन्थ्यो, जसको परिणाम अधिकांश छोरीबेटी सेक्सलाई हाउबुजीका रूपमा ग्रहण गर्दै हुर्किन्थे। म पनि त्यही समूहको एक पात्र थिएँ।

गणितीय हिसाबले जोड–घटाउ गर्ने हो भने अहिले तीन दशक बढी बितिसकेको छ, तर देश, समाज र परिस्थितिमा तात्विक भिन्नता आएको देख्दिनँ। सीमित सहर/बजार, निश्चित प्रतिशत शिक्षित वर्ग र चेतनशील नागरिकलाई छोडेर अझै पनि देशका अधिकांश भूभागमा उही मानसिकता र रुढिवादी परम्परा व्याप्त छ।

हिजो पनि यौन एक वर्जित विषय थियो र आज पनि यसमा खासै सुधार आएको देख्दिनँ। अझै पनि समाजमा विवाहपूर्व यौनका विषयमा उत्सुकता राख्नु, अध्ययन गर्नु, चर्चा गर्नु असमान्य र गलत नै मानिन्छ। अझै अभिभावकले आफ्ना हुर्किंदै गएका सन्तानसित यौनका विषयमा छलफल गर्ने, उनीहरूको भावना बुझ्ने र मित्रवत् व्यवहार गर्ने अवस्था आएको देख्दिनँ।

दुःख लाग्छ– देशमा अझै २५.२ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। ३५.३ प्रतिशत वयस्क अशिक्षित भएको तथ्यांकले देखाउँछ। जहाँ गरिबी र अशिक्षा छ, त्यहाँ अज्ञानता र अन्धविश्वास मौलाएको हुन्छ नै। जहाँ यी सबै समस्या विद्यमान हुन्छ, त्यहाँ वर्षैपिच्छेका सन्तान, रोग, भोक, शोक त हुन्छ नै। यस्तो परिस्थितिले गाँजिएको अभिभावकमा यौनक विषयक कति नै ज्ञान हुन्छ र उनीहरू आफ्ना सन्तानलाई शिक्षित गरून् ?

उनीहरूलाई त एउटै चिन्ताले सताएको हुन्छ– अल्लारे छोराछोरीबाट केही उचनीच पो हुने हो कि ? समाजमा आफ्नो बदनामी पो हुने हो कि ? इज्जत पो जाने हो कि ? नाक पो काट्ने हो कि ? यसैले अभिभावक सानै उमेरमा आफ्नो सन्तानको विवाह गरिदिन्छन्। प्रेम र यौनको परिभाषा नबुझेका बालिका गर्भवती हुन्छन्, आमा बन्छन्। केटाहरू पनि किशोरावस्थामै अभिभावक बन्छन् र सिंगो घरपरिवारको जिम्मेवारी उठाउन बाध्य हुन्छन्।

मानव मात्रको के कुरा, सकल जीव र चराचरसम्मकै जीवन प्रेम र यौनसित गाँसिएको छ। यौनविना यो पृथ्वी त रहन्छ तर जीव रहन्न, जीवन पनि रहन्न।

हाम्रो समयमा मनोरञ्जन सिनेमा र रेडियोमै सीमित थियो। रेडियो सिलोन र विभेद भारतीबाट बज्ने गीतहरू सुनेर अनि वर्षभरिमा मुस्किलले दुईतीनवटा सिनेमा हेरेरै हामी जीवनमा मस्त रहन्थ्यौं। तर आज समयले कोल्टे फेरेको छ। हिजोआज गाउँघर र टोलटोलमा इन्टरनेट सुविधा छ। बच्चाका हातमा समेत मोबाइलको पहुँच छ। फेसबुकदेखि हरेक खालका सामाजिक सञ्जालमा उनीहरूको रुचि बढेको छ। अहिले स्कुले जीवनमै प्रेममा पर्ने, घरबाट भागेर विवाह गर्ने र र वर्ष दिन नबित्दै मातापिता बन्ने समस्या विकराल बन्दै गइरहेको छ।

झन्डै महिना दिनअगाडि १२ र १३ वर्षका दुई बालिका आमा बनेको समाचार पत्रपत्रिका र सामाजिक सञ्जालमा भाइरल बन्यो। १२ वर्षकी बालिका १९ वर्षको केटोले फकाएपछि उसित भागेको बताउँछे। उनी गर्भवती भएको समाचार सार्वजनिक भएपछि उनीको जीवनको जोखिम न्यून गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै अग्रसरतामा एम्बुलेन्सबाट ल्याएर परोपकार प्रसूति गृहमा भर्ना गरिएको थियो। श्रीमान्को घरमा जेठी भएपछि उनी माइतीमै बसेकी रहिछन्। १३ वर्षकी बालिकाको फेसबुकको माध्यम प्रेम भएपछि आफूभन्दा तीन वर्ष जेठो केटोसित भागेको रैछ। ती बालिका तथा शिशुको भविष्यको कल्पना मात्रले पनि जोसुकैको मन विचलित हुन सक्छ।

यी दूई बालिका देशका प्रतिनिधि पात्रहरू मात्र हुन्। यस्ता बालिका तथा किशोरी आमाहरू देशमा हजारौं छन्। पहाडको भन्दा मधेसको स्थिति अझ विकराल छ। विभिन्न अनुसन्धानअनुसार नेपालमा २० वर्षभन्दा पहिले विवाह गर्नेको संख्या ३७ प्रतिशत छ, जसको आधा भाग त प्रेम विवाहले नै ओगटेको छ। ओरेक संस्थाको अध्ययनअनुसार अभिभावकले गरिदिने विवाहभन्दा प्रेम विवाह गर्नेको प्रतिशत बढी देखिएको छ।

हाम्रावरपर बाल्यकालदेखि एउटै स्कुलमा सँगसँगै पढेका, खेलेका, हुर्केका, माया गरेका र पछि जीवनसाथी बनेका कैयन् जोडीहरू देख्न सक्छौं। सुन्दा र देख्दा पनि कति आनन्द आउँछ। ‘बिहेवारी, बीस वर्ष पारि’ नेपालको कानुनमा पनि यही लेखिएको छ। तर उदेकलाग्दो के छ भने हाम्रा कानुन निर्माता यसको कार्यान्वयनमा प्रतिबद्ध छैनन्।

अन्त्यमा भन्दा लाज, सुन्दा लाज, बोल्दा त झनै लाज। यौनको विशेषता यस्तै छ। तर सत्य कुरा त सृष्टि यसैमा छ। मानव मात्रको के कुरा, सकल जीव र चराचरसम्मकै जीवन यसैसित गाँसिएको छ। यौनविना यो पृथ्वी त रहन्छ तर जीव रहन्न। जीवन रहन्न। जीव र जीवन नै नरहे प्रेम कहाँ रहन्छ र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.