टोड्केमा रिसोर्ट

टोड्केमा रिसोर्ट

टोड्के(बेनी) : पहाडको टाकुरामा सम्म फाँट। पृष्ठभूमिमा लहरै हिमाल। बिहानीमा लाली छाउँदै झुल्कने घाम। वसन्त ऋतुमा वरपरका पाखामा ढकमक्क फुलेको लालीगुराँस। यस्तै थुप्रै प्राकृतिक सौन्दर्यले म्याग्दीको टोड्केमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ।

मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको टोड्के भ्रमणमा आउने पर्यटकको सुविधाका लागि टोड्के हिल रिसोर्ट सञ्चालन आएको छ। रिसोर्ट सञ्चालन आएपछि खानेबस्ने ठाउँ अभावको समस्या हटेर पर्यटक आगमन बढ्न थालेको छ।

१३ वटा कोठा भएको दैनिक ५० जना बास बस्न सक्ने रिसोर्टमा विभिन्न खानाका परिकार, सुविधायुक्त कोठा, तातोपानी, इन्टरनेटलगायत सुविधा रहेको रिसोर्टका कार्यकारी सचिव मोहन खत्रीले जानकारी दिए। समुन्द्री सतहदेखि दुई हजार चार सय मिटरको उचाइमा अवस्थित टोड्केमा होटल तथा लज नहुँदा पाहुनालाई खानेबस्ने समस्या थियो।

गत जेठदेखि पूर्वाधार निर्माण सुरु गरिएको रिसोर्ट माघदेखि सञ्चालन आएको हो। भवनलगायत पूर्वाधार निर्माणमा तीन करोड रुपैयाँभन्दा बढी लगानी भएको सचिव खत्रीले बताए। ‘सूर्योदय, हिमशृंखला, गुराँसको जंगल, पहाडी भूगोल अवलोकन गर्न टोड्के आउने पर्यटकलाई खानेबस्ने व्यवस्था गर्न रिसोर्ट चलाएका हांै’, रिसोर्टका अध्यक्ष मीनबहादुर पाइजाले भने, ‘खानेबस्ने सुविधा भएपछि पर्यटक आगमन बढ्दै गएको छ।’

गुराँसे जंगलको बीचमा पूर्वपट्टि फर्किएको भिरालो पाखोमा रहेको रिसोर्टका सबै कोठाबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, माछापुच्छ्रे लगायत १६ वटा हिमाल हेर्न सकिन्छ। ‘नदीको किनारदेखि हिमालका टाकुरासँगै गुराँसे जंगल र सूर्योदयको दृष्य एकै ठाउँबाट देख्न सकिने टोड्के रमाइलो लाग्यो’, बेनीबाट भ्रमणमा गएकी दुर्गा आचार्यले भनिन्।

झिँ, पूर्णगाउँ, डडुवाका नौ जना संस्थापकले स्थापना गरेको टोड्के हिल रिसोर्टमा ३० जनाको सेयर लगानी छ। ‘पाहुनालाई सुविधा, लगानीकर्तालाई प्रतिफल र समुदायलाई आयआर्जनको अवसर दिने लक्ष्य हो’, संस्थापक भीम शेरचनले भने।

एक वटा विशिष्ट कोठा रहेको रिसोर्टमा एउटा डाइनिङ, किचन, एक सय जना क्षमताको तालिम हल र सबै कोठामा तातोपानीको सुविधा छ। क्याम्पिङ गर्नेका लागि ३० वटा टेन्टको व्यवस्था गरिएको छ। दोस्रो चरणमा विदेशी पाहुनालाई लक्ष्य गरेर कटेज बनाउने तयारी छ। स्थानीय मगर समुदायबाट सांस्कृतिक प्रस्तुति पनि देखाइनेछ। ६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले थप दश रोपनीमा अर्गानिक तरकारी खेती गरेको छ। रिसोर्टमा ६ जनाले रोजगारी पाएका छन्।

अर्गानिक तरकारी, लोकल कुखुरा, हाँस र खसीको मासु, कोदो र फापरको ढिँडो, सिमीको दाल, मुलाको अचार, सिन्की र गुन्द्रुकलगायत परिकारलाई प्राथमिकता दिइएको रिसोर्टका कर्मचारी राम लामाले बताए।

गुराँसको जंगल संरक्षण, पदमार्ग निर्माण र झिँ–टोड्के सडकलाई स्तरोन्नति गर्न लागिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। म्याग्दीको सदरमुकाम बेनीदेखि गाडीमा डेढघण्टा र पैदल तीनदेखि चारघण्टा हिडेर टोड्के पुग्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.