तिला कर्णालीमा धमाधम माछा मर्नथाले
जुम्ला : तिला कर्णालीमा धमाधम माछा मर्न थालेका छन्। विगत एक महिना यता तिलाको विभिन्न स्थानमा ठूलो संख्यामा मरेका माछा छालमा तैरिरहेको अवस्थामा देखिन्छन्।यो नदी काञ्जिरोवा हिमालहुँदै जुम्लाबाट बहेर कर्णाली नदीमा मिसिन्छ।
नदीमा मर्न थालेका माछा विश्वमै लोपन्मुख असला जातको माछा हो। जिल्लाको रारालिहि, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न नदी स्थानमा माछा मरेर छालमा तैरिरहेको अवस्थामा भेटिने गरेपनि यस विषयमा सरोकारवालालाई भने र्भखर मात्रै थाहा भएको हो।
स्थानीयले नदीमा मरेका माछा बिक्री गर्ने र खाने गरिरहेका थिए। मरेका माछा बेचेको वा खाएको थाहा पाएमा राम्रो नहुने भन्दै स्थानीयले यस विषयलाई गुपचुपमै राखेको खुल्न आएको छ। प्रतिदिन लाखौ संख्यामा माछा मर्नुको कारण खुलेको छैन। अज्ञात रोगले माछा मरेको बताइए पनि नदीमा विषादीको प्रयोगले मरेको हुनसक्ने अधिकांशको आशंका छ।
समिति गठन
माछा मरेको बारे अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन भएको छ। भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोलि गठन गरिएको हो।
सदस्यमा कृषि ज्ञान केन्द्र र स्वास्थ्य कार्यालय रहेका छन्। प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलका अनुसार अनुसन्धान टोलीलाई एक हप्ताभित्र माछा मर्नुको कारण पहिचान गरी रिपोर्ट बुझाउन निर्देशन गरिएको छ। 'एक हप्ताभित्र माछा मर्नुको कारण पहिचान हुने आशामा छौं, मरेका माछा खाँदा स्वास्थ्यमा जे पनि हुनसक्ने भन्दै उनले माछा उपभोग तथा बिक्री वितरण नगर्न सुझाव दिएका छन्।'
हरेक दिन स्थानीयले मरेको माछा छोप्ने गरिरहेको चन्दननाथ नगरपालिका १० गैरागाउँका नरेन्द्र भण्डारीले बताए। नदीमा साना माछासँगै ठूला माछा मरेको देखिन्छ। विशेष गरी पानीको बेग कम भएको स्थानमा मरेका माछा भेटिन्छन्।नदीमा ठूलो मात्रामा माछा मर्न थालेपछि सरोकारवाला चिन्तित छन्।