संसदमा कांग्रेसको अवरोध, डा. केसीलाई बचाउन आग्रह
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेको छ । २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले दिउँसो १ बजेदेखि बसेको बैठकमा अवरोध गरेको हो ।
दुईतिहाइ बहुमतको आडमा सरकारले जबरजस्ती पेलेर अघि बढेको आरोप लगाउँदै कांग्रेस सांसदहरु विरोधस्वरुप उभिएपछि प्रतिनिधि सभा बैठक अवरुद्ध भएको हो ।
सभामा बोल्दै कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले डा. केसीको अनशन २३ दिनसम्म पुग्दा पनि सरकारले वार्ताको चासो नदिएको आरोप लगाएका थिए । उनले भने, ‘डा. गोविन्द केसीको ज्यान जोगाउनुपर्छ । वार्ता र संवादबाट नहुने के छ र संवादबाट समाधान खोज्न सरकार तयार हुनुपर्छ’, रिजालले भने, ‘वार्ताको वातावरण नबन्दासम्म बैठकको कारबाही अघि बढ्न सक्दैन ।’
नेता रिजालले संसदमा रहेको फरक मतलाई सत्ताले दबाउन खोजेको आरोप लगाए । ‘लोकतान्त्रिक स्पेस जोगाउने कि नजोगाउने, सत्ता पक्षले मनपरी गर्न खोज्ने ?’, उनले भने ।