चिनियाँ फुटबलको मुख्य प्रशिक्षकबाट मार्सेल्लो लिप्पीको राजीनामा
बेइजिङ : मार्सेल्लो लिप्पीले चीनको राष्ट्रिय फुटबल टोलीसँगको यात्रा टुङ्ग्याएका छन्। उनी चिनियाँ फुटबल टोलीका मुख्य प्रशिक्षकको भूमिकाबाट बाहिरिएका हुन् ।
सन् २०१६ मा चीनको फुटबल टोलीको मुख्य प्रशिक्षणको कार्यभार सम्हालेका ७० वर्षीय इटालियन नागरिक लिप्पीले जारी एसिया कप क्वार्टर फाइनलमा इरानसँग ३-० गोलले पराजित भएसँगै आफ्नो पद त्यागेका हुन्।
सन् २००६ मा इटालीलाई विश्वकप जिताएका इटालियन लिप्पीले चीनलाई विश्व फुटबलमा गतिलो उपलब्धी दिन सकेनन्। उनको प्रशिक्षणमा खेलिएका ३१ खेलमा चीनले १२ मा जीत, ११ मा हार र आठमा बराबरी गरेको थियो। सन् २०१८ मा उनी सबैभन्दा बढी पारिश्रामिक पाउने विश्वकै दोस्रा फुटबल प्रशिक्षक बनेका थिए।
क्वानचौ (गवाङझौ) बाइयून विमानस्थलबाट मङ्गलबार स्वदेश प्रस्थान गर्नुअघि उनले मिडियासामु केही बोलेनन्। चीनले उनको ठाउँमा नयाँ प्रशिक्षक नियुक्त गरिसकेको छैन।
एसिया कपको उपाधिका लागि जापान र कतार फेब्रुअरी १ मा भिड्दै छन्।