टीट्वेन्टी शृंखला : यूएईले नेपाललाई दियो १५४ रनको चुनौती
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) ले टीट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाललाई १५४ रनको चुनौती दिएको छ।
बिहीबार भएको शृंखलाको पहिलो खेलमा यूएईले मध्यम चुनौती दिएको हो। टस जितेर फिल्ड रोजेको नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, बसन्त रेग्मी र अविनाष बोहराले विकेट लिए। सन्दीप र बसन्तले दुई-दुई विकेट लिए भने कामी र बोहराले एक-एक विकेट लिए।
सन्दीपले दोस्रो ओभरको पहिलो बलमा अस्फाक अहमेदलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले व्यक्तिगत दोस्रो विकेट १३ दशमलव पाँच ओभरमा लिए। उनले दोस्रो विकेटका लागि मोहमद आसमानलाई आउट गरेका थिए।
नेपालको दोस्रो विकेट सोमपाल कामीले चार दशमलव तीन ओभरमा लिए। उनले घुलाम सब्बरलाई आउट गरेका हुन्। तेस्रो विकेटका लागि बसन्त रेग्मीले ६ दशमलव चार ओभरमा सिपी रिजवानलाई आउट गरे।
बसन्तले व्यक्तिगत दोस्रो विकेट र नेपालका लागि छैटौं विकेट १७ दशमलव तीन ओभरमा लिए। उनले यूएईका कप्तान मोहमद नाभिदलाई आउट गरेका हुन्। बसन्तले उनलाई एक रनमै आउट गरेका थिए।
डेब्यु खेलमा अविनाषले तीन ओभर बलिङ गर्दा २९ रन दिँदै एक विकेट लिए। १६ दशमलव पाँच ओभरमा अविनाषले साइमन अनरलाई आउट गरेका हुन्। साइमनले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५९ रन बनाएका थिए।
पहिलो शृङ्खलामा यूएईले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो। केही बेरमै नेपालले जवाफी ब्याटिङ गर्नेछ।