दुई राप्रपाको एकता : राजालाई हेर्ने दृष्टिकोणमा मतभेद

दुई राप्रपाको एकता : राजालाई हेर्ने दृष्टिकोणमा मतभेद

काठमाडौं : पूर्व पञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार घोषणा हुने भएको छ। प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार एकताको सहमतिपत्रमा हस्ताक्षर गरे।

‘संयुक्त वक्तव्यमा नेकपा नेतृत्वको वर्तमान सरकारले संविधानको मर्म र भावनालाई उपेक्षा गरेको छ भने सत्तालाई जनताको हितको सट्टा सिमित शासकका आसेपासे ‐सिमित भारदार) को आर्थिक हितमा केन्द्रित छ’, वक्तव्यमा भनिएको छ, ‘यो परिवेशमा प्रतिपक्ष देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त तथा अवधारणालाई बचाउन सत्ता बाहिर रहेका राजनैतिक शक्तिले जनताको हितलाई केन्द्र बिन्दुमा राखेर एकता प्रक्रिया अगाडि बढाउनु अनिवार्य भएको छ।’

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले जनताको चहान बोमोजिम पार्टी एकताको घोषणा हुन लागेको बताए। ‘देशको अवस्था र मागले हामीलाई एकता प्रक्रिया अघि बढाउन बाध्य बनायो’, उनले भने, ‘केही समयको प्रयास सफल भएको छ।’

प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले प्रजातान्त्रिक राजसंस्थाको सिद्धान्त र दुई अध्यक्ष हुने सहमतिमा पार्टी एकता हुन लागेको बताए। ‘अहिले यिनै कुरामा सहमति भएको छ पछि अरू कुरा पनि थपिन सक्छन्’, उनले भने।

राजसंस्थाको छायाँमा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए। स्थापनाको एकवर्षमै दुवै पर्टीबीच एकता भयो। तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो। त्यसपछि राप्रपाले पटक–पटक जुट र फुटको नियती व्यहोर्दै आएको छ। पछिल्लो पटक ०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो। त्यसलगत्तै राप्रपाका अर्का प्रभावशाली नेता डा.लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) लाई छुट्टै गठन गरे।

०७४ साउनमा सरकारमा सहभागिताको विषयमा मतभेद भएपछि अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए। केही समयअघि थापा र राणा राप्रपाको एकता प्रक्रिया अघि बढेपनि सैद्धान्तिक कुरा नमिलेपछि गत कात्तिकमा कुरा भाँडिएको थियो।

राजालाई हेर्ने दृष्टिकोणमा मतभेद

पूर्वपञ्चहरूको दुई पार्टी एकता हुने भएपनि आन्तरिक मतभेदमा चोखो देखिएन। शीर्ष नेताहरू पार्टी एकतामा असन्तुष्ट हुनुको मुख्य कारण हो–राजालाई हेर्ने दृष्टिकोण।

राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहरासहितको टोलीले पार्टी एकता प्रक्रियाबाट बाहिरिएको छ। बोहोरासँगै केशरबहादुर बिष्ट, विन्दु पहाडी, विष्णु भट्टराई, श्याम केसी, प्रदीप उदय, मिरा राणालगायतका नेताहरूले एकता पक्रियालाई बहिस्कार गरेका छन्।

‘राजासंस्थाको मुद्दालाई बोकेर आइयो, अहिले आएर यो मुद्दा छोड्न सकिन्न’, प्रजातान्त्रिकका उपाध्यक्ष विष्णु भट्टराई भन्छन्, ‘यो एकतामा राजसंस्थालाई हेर्ने दृष्टिकोण अलमल देखियो।’

यसअघि राप्रपाबीच फेरि पार्टी एकताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा प्रजातान्त्रिकले राजालाई हेर्ने दृष्टिकोण बाझिएको भन्दै कमल थापाले पार्टी एकताको लागि बनेको समितिलाई खारेज गरेका थिए।

‘दुईवटा पार्टीको एकता गरेर केही अर्थ छैन’, उपाध्यक्ष बोहोराले भने, ‘छुट्टिएर रहेका तीनवटै राप्रपा घटक एक भएर वैकल्पिक पार्टीको रुपमा उदाउनु पर्ने हो तर यो एकता कसरी हुन लागेको हो थाहा छैन।’

राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विष्णु भट्टराईले भने दुई तीन जना नेता कोठामा बसेर भएको एकता मान्य नहुने बताए। ‘कुन आइडीयोलोजिकल कन्सेप्टमा पार्टी एकता हुन लागेको हो ? ’ उनी भन्छन्, ‘आइडीयोलोजिकल क्लियारिटी नभएको एकतालाई कसरी समर्थन गर्नु, त्यसैले एकता प्रक्रियामा म सहभागि भइन।’

अध्यक्ष राणाले भने असन्तुष्ट समूहले राखेको माग तुरून्तै पुरा गर्न नसके पनि समय क्रमसँगै पुरा हुने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.