नेपालमा चल्तीका मोटरसाइकल
काठमाडौं : मोटरसाइकल नेपालीको प्रिय सवारीसाधन मध्येमा पर्छ। मध्य वर्गदेखि उच्च धनाढ्यसम्मले शान र शौखका रूपमा मोटरसाइल प्रयोग गर्छन्। तर अहिले मोटरसाइकल सोखका लागि मात्र नभई अत्यावश्यक सवारी बनेको छ।
मोटरसाइकल तथा स्कुटर सहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम छल्न सहज साधन बनेको छ। बजारमा विभिन्न मोडल र ब्रान्डमा महँगा र स्टाइलिस मोटरसाइकल पाइन्छन्। नेपालमा सञ्चालन हुने कूल सवारीसाधनमध्ये मोटरसाइकलको हिस्सा ७८ प्रतिशतभन्दा धेरै छ।
आर्थिक वर्ष २०७४/७५ मा चार लाख ३७ हजार सवारीसाधन नेपालमा दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ। गत आवमा मात्रै तीन लाख ४१ हजार मोटरसाइल दर्ता भएका छन्। बजारमा चल्तीका मोटरसाइकल यस्ता छन्।
बीएमडब्लू
हिमालयन मोटार्डले जर्मनको चर्चित ब्रान्ड बीएमडब्लूको आधिकारिक बिक्रेता हो। बीएमडब्लू जी–३१० जीएसको मूल्य ११ लाख ११ हजार पाँच सय रूपैयाँ तोकिएको छ। ३१३ सीसी इन्जिन क्षमताको यसले ३३.६ बीएचपीमा ९५०० आरपीएम पावर तथा २८ एनएममा ७५०० आरपीएम टर्क उत्पादन गर्छ। ६ गियर रहेको मोटरसाइकलको अधिकतम गति एक सय ४३ किलोमिटर प्रतिघण्टा छ। २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यसमा ११ लिटर तेल अट्छ।
टीभीएस आरटीआर
टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० भर्सन चार नेपाली बजारमा बिक्री गरिरहेको छ। १५९.७ सीसी इन्जिन भएको यसको दुई लाख ८५ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसले १६.५ पीएसमा ८००० आरपीएम पावर तथा १४.८ एनएममा ६५०० आरपीएम टर्क उत्पादन गर्छ। पाँच गियरको मोटरसाइकलको माइलेज ३५ किलोमिटर प्रतिलिटर छ। ट्यांकी १२ लिटरको छ। मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ।
पल्सर
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजको चर्चित मोटरसाइकल एनएस १६० रहेको छ। १६०.३ सीसी इन्जिन क्षमताको मोटरसाइकलको बजार मूल्य दुई लाख ८६ हजार नौ सय रूपैयाँ तोकिएको छ।
१६०.३ सीसी इन्जिन भएको यसले १५.२ बीएचपीमा ८५०० आरपीएम पावर तथा १४ं६ एनएममा ६५०० आरपीएम टर्क उत्पादन गर्छ। यसमा पाँच गियर छ। १२ लिटरको ट्यांकी भएको यो मोटरसाइकलले ३५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। ग्राउन्ड क्लियरेन्स १७६ एमएम छ।
होन्डा
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी बजारमा १६२.७१ सीसीको एक्स ब्लेड बिक्री गर्दै आएको छ। यसको मूल्य दुई लाख ८५ हजार नौ सय रूपैयाँ तोकिएको छ। मोटरसाइकलले १३.९३ बीएचपीमा ८५०० आरपीएम पावर तथा १३.९ एनएममा ६००० आरपीएम टर्क उत्पादन गर्छ। यसमा पनि १२ लिटर तेल अट्छ। पाँच गियरको मोटसाइकलले ३४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। ग्राउन्ड क्लियरेन्स १६० एमएम छ।
हिरो
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले एक्ट्रिम २०० आर मूल्य दुई लाख ९५ हजार पाँच सय रूपैयाँ तोकेको छ। १९९.६ सीसी इन्जिनले १८.१ बीएचपीमा ८००० आरपीएम पावर तथा १७.१ एनएममा ६५०० आरपीएम टर्क उत्पादन गर्छ। पाँच गियरको मोटरसाइकलले ३२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।
यामाहा
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजको लोकप्रिय सेग्मेन्ट आर१५को भर्सन थ्री नेपाली बजारमा ल्याइएको छ। १५५.१ सीसी इन्जिन भएको मोटरसाइकलको मूल्य चार लाख १९ हजार नौ सय रूपैयाँ तोकिएको छ। यो इन्जिनले १० हजार आरपीएममा १९.४ बीएचपी पावर तथा ८ हजार ५ सय आरपीएममा १४.७ एनएम–टर्क उत्पादन गर्छ। ११ लिटरको ट्यांकी भएको यसले ३० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। ६ गियर भएको यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स छ।
सीएफ मोटो
महँगो र उच्च इन्जिन क्षमताको मोटरसाइकल बिक्री गर्ने सीएफ मोटोको चर्चित मोटरसाइकल एनके २५० हो। यसको बजार मूल्य पाँच लाख २५ हजार पाँच सय रूपैयाँ तोकिएको छ। २४९.२ सीसी इन्जिनले २७ बीएचपीमा ९००० आरपीएम पावर तथा २२ एनएममा ७५०० टर्क उत्पादन गर्छ। ६ गियर भएको यो मोटरसाइकलमा साढे १२ लिटरको ट्यांकी छ। यसमा ग्राउन्ड क्लियरेन्स १५० एमएम छ।