अटोमोबाइलमा उदाउँदो तारा
काठमाडौं : उदाउँदो तारा कस्तो देखिएला ? यो प्रश्न तपाईको मनमा छ भने एकपटक जिप कम्पासमाथि नजर लगाउनुहोस् । एफसीएले भारतीय प्लान्टबाट उत्पादन गरेको जिप कम्पासले अहिले भारत मात्र होइन, संसारभर नै लोकप्रियताको सिँढी चढिरहेको छ ।
कम्पासको रिडिजाइन र रिइन्जिनियरिङ गरिरहँदा जिप कम्पनीले आफ्नो ‘गो एनीह्वेयर’ सम्पदाप्रति प्रतिबद्धता कायमै राखेको थियो । जिप कम्पासको लोकप्रियता संसारभर बढ्दो क्रममा छ । नेपालमा पनि अवस्था त्यस्तै छ । नेपाल भित्रिएको चार महिनामै एक सय २५ युनिटभन्दा बढी जिप कम्पास बिक्री भएका छन् । ‘जिप कम्पासको बिक्री हामीले सोचेभन्दा राम्रो भइरहेको छ’, नेपालका लागि जिपको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलका असिस्टेन्ट म्यानेजर किरण आचार्यले भने, ‘काठमाडौं उपत्यका मात्र होइन, मोफसलमा पनि कम्पासको माग धान्न हामीलाई गाह्रो भइरहेको छ ।’
उनका अनुसार हाल लाइफ अटोमोबाइलले स्पोर्ट, लंगिच्यूड र लिमिटेड ट्रिममा गरी १० भेरियन्टको जिप कम्पास बिक्री गर्दै आएको छ । सबैभन्दा सस्तो जिप कम्पास स्पोर्ट १.४ को मूल्य ६९ लाख नौ हजार रूपैयाँ छ भने सबैभन्दा महँगो लिमिटेड अप्सन ब्ल्याक प्याकको मूल्य ९७ लाख ९० हजार छ । ‘पाँचवटा सोरुमबाट जिप कम्पास बिक्री गरिरहेका छौं । ग्राहकको माग बढिरहेकाले अन्य धेरै स्थानमा जिपको सोरुम खोल्ने प्रक्रिया अघि बढाएका छौं’, आचार्यले भने, ‘नेपालमा औपचारिक रूपमा यसै वर्ष मात्र जिप भित्रिएको हो । भित्रिएको केही समयमै यो सबैभन्दा बढी खोजिएको एसयुभी बन्न सफल भएको छ ।’
जिप कम्पासलाई वास्तवमै ‘अन्तर्राष्ट्रिय एसयुभी’ भन्न सकिन्छ । यो एसयुभी इटालीमा आधिकारिक फियट क्रिस्लर अटोमोबाइल (एफसीए) ले संसारभर बिक्री गर्न डिजाइन गरेको हो । यो कार विश्वका एक सयभन्दा बढी देशमा उपलब्ध छ र ती सबै ब्राजिल, चीन, मेक्सिको वा भारतमा रहेका प्लान्टमा बनेका हुन् । कम्पास आजको स्थितिमा यत्तिकै आएको भने होइन । १० वर्षअघि कम्पासको पहिलो पुस्ताको निर्माण भएको थियो । यो क्रसओभर मध्येमा अमेरिकामा सबैभन्दा बढी रुचाइएको कम्पनीको दाबी छ ।
जिप सम्पदाको आधुनिक रूप हो, कम्पास । जिप कम्पास वनोट वर्गाकार र यसको स्वरूप ‘गो एनीह्वेयर, डु एनिथिङ’ थिमबाट प्रभावित छ । तर यो चिल्लो, शानदार र कलात्मक पनि छ । कम्पासको इन्टेरियर आरामदायी र उच्चकोटीको छ । क्याबिनको डिजाइन सफा, सुरक्षित र आकर्षक छ ।
कम्पासमा लेन किपिङ असिस्टेन्स, पार्किङ असिस्टेन्स, फर्वाड कोलिजन प्रिभेन्सन, अटोमेटिक ब्रेकिङ, रेन–सेन्सिङ वाइपर, ब्लाइन्ड–स्पट मनिटरिङ, नेभिगेसन, स्मार्ट फोन कनेक्सनजस्ता दर्जनौं सेफ्टी विशेषता छन् । यसमा ड्राइभिङ एड् र कम्युनिकेसन फङ्सन छन् ।
जिप कठोरता र एड्भेन्चरका लागि प्रतिष्ठित छ भने यसमा अफरोड क्षमता पनि छ । यसको सस्पेन्सन यसरी राखिएको छ कि ठूला खाल्डाखुल्डी भएका स्थानमा पनि बिना कुनै समस्या अघि बढ्न सक्छ । यसको ग्राउन्ड क्लेरेन्स अफरोड सुहाउँदो छ । अल ह्वील ड्राइभ सिस्टमले हिलो, हिउँ र बालुवा भएका ठाउँमा पनि सहज यात्रा गराउँछ । कम्पासको नयाँ आउँदै गरेको भेरियन्ट ट्रायल हकमा रक मोड पनि थपिनेछ । ट्रायल हक भर्सनमा कम्पासको अगाडि र पछाडि दुवै भागलाई परिमार्जन गरिएको हुनेछ ताकि यो कठिन उकालोमा पनि चढ्न सकोस् ।
भारतमा एकै वर्षमा ३० हजारभन्दा बढी संख्यामा कम्पास बिक्री भएको थियो । यसले सन् २०१८ मा २५ वटा प्रतिष्ठित अवार्ड हासिल गरेको थियो । अटो विश्लेषक कम्पासलाई एफसीए र जिपको सहकार्यको सबैभन्दा उत्कृष्ट नतिजा पनि भन्न थालेका छन् ।
किन जिप कम्पास
जिप कम्पास १० मोडलमा उपलब्ध छ । यसको इन्जिन र ट्रान्समिसनले सबैखाले ग्राहकको मागलाई सम्बोधन गर्छ । कम्पास १.४ लिटरको टर्बो चाज्र्ड पेट्रोल इन्जिन र २.० लिटरको डिजेल इन्जिनमा पाइन्छ । दुवै इन्जिन अप्सनमा ६ स्पिडको म्यानुअल ट्रान्समिसन छ । पेट्रोल इन्जिनमा अटोमेटिक ७ स्पिड डुअल क्लच ट्रान्समिसन पनि उपलब्ध छ ।
डिजेल इन्जिनमा कम्पास ४ बाई ४ अप्सनमा उपलब्ध छ । अफरोडका लागि जिप संसारभर प्रसिद्ध छ । जिपको ब्रान्ड भ्यालु अतुलनीय छ । कम मूल्यका कारण कम्पास मध्यम वर्गीय ग्राहकको पहुँचमा पुग्न सकेको हो ।
कम्पास ‘वेल–लोडेड’ एसयुभी हो । टप भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’ सहितको फोर ह्वील ड्राइभ सिस्टम छ । यसमा लेदर सिट, एन्ड्रोइड अटो र एप्पल कार प्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र गुणस्तरीय स्पिकर सिस्टमसमेत छ । सेग्मेन्टकै पावरफूल एसयुभी हो कम्पास । यसको डिजेल भर्सनलाई २.० लिटर मल्टिजेट इन्जिन छ जसले १७३ बीएचपीमा ३५० एनएन बराबरको अधिकतम पावर निकाल्छ ।
१.४ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिनले यो गाडीमा १६३ बीएचपीमा २५० एनएम पावर उत्पन्न गर्छ । जिप कम्पासले लो रेन्जमा हुन्डाई क्रेटा, निसान टेरानो, रेनो डस्टरदेखि हाई रेन्जमा हुन्डाई टुसान, टोयटा रेभ४, फोर्ड इन्डिभोर, मित्सुबिसी एएसएक्सका ग्राहकलाई पनि आकर्षित गरिरहेको कम्पनीले जनाएको छ ।