व्यापारी बनाउँछन् सहरी योजना

व्यापारी बनाउँछन् सहरी योजना

पुष्कर शाह विश्व साइकलयात्री हुन्। दोलखाको साधारण किसान परिवारमा जन्मिएका शाहले शान्ति, सहअस्तित्व र भाइचाराको सन्देश लिएर एक सय ५० देश साइकलमा भ्रमण गरे। सन् १९९८ मा यात्राको आरम्भ गरेका शाहले सन् २०१० मा सगरमाथा आरोहण गरेर बिट मारे। उनै शाहसँग समीरबाबु कट्टेलले गरेको कुराकानी :

नेपालको परिवेशमा साइकलयात्रालाई कसरी हेर्न सकिन्छ ?

साइकल साहसिक खेलमध्येमा पर्छ। यो नेपालको भूूगोलसँग पनि मिल्छ। यसलाई यातायातको साधनको रूपमा मात्र नभएर मनोरञ्जन प्रदान गर्ने सामग्रीको रूपमा समेत लिने गरिन्छ। काठमाडौंमा पनि माउन्टेन बाइकिङ फस्टाउँदो छ। अब त यसलाई संस्कृतिकै रूपमा विकास हुँदै गएको मान्न सकिन्छ।

साइकललाई अरू के केमा जोड्न मिल्छ ?

मुख्यतः साइकललाई वातावरण र स्वास्थ्य र आर्थिक पक्षसँग जोडेर हेर्नुपर्छ। यो अन्य सवारीसाधनभन्दा सस्तो छ। इन्धन खपत नहुने भएकाले खर्चको जोहो पनि हुने भयो। यसबाट प्रदूषणसमेत हुँदैन। साथै यसले व्यक्तिगत र सामाजिक स्वास्थ्यमा पनि मद्दत गर्छ।

विश्व साइकलयात्रामा निस्कँदा तपाईंको अभियानले यति ठूलो रूप लिन्छ भन्ने सोच्नु भएको थियो ?

२०५५ सालमा योजनाबद्ध हिसाबले निस्किएको थिएँ। ११ वर्ष लगाएर एक सय ५० देश घुमे।

यात्राको क्रममा घटेका रमाइला किस्साहरू सुनौं न।

म जीवनका हरेक क्षणलाई नयाँ तरिकाले लिन्छु। हर समय कसरी आनन्दमय बनाउने भन्नेबारे सोचिरहन्छु। हिमाल, समुद्र र मरुभूमिको आफ्नै सुन्दरता र महत्व हुन्छ। यात्राको क्रममा नयाँ कुरा सिकेँ। सुन्तलाका बोक्रा खाएर छाक टारेको र पिज्जा पनि नरुचेको समय सम्झिन्छु।

सडकको पेटीमै निदाएको र पाँचतारे होटेलमा निद्रा नलागेर छट्पटिएका याद पनि ताजै छन्। उत्तर अमेरिकाको रकी माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वतमाला र पश्चिमी सहारा मरुभूमिदेखि पूर्वको केन्या र तान्जिनियाका फाँटमा रमाएको सम्झिन्छु।

विश्व साइकलयात्रा पछि किताब लेखने प्रेरणा कसरी मिल्यो ?

किताब लेख्छु भन्ने कुनै योजना थिएन। हरेक दिन केही न केही टिपोट गर्थें। त्यही डायरीले किताबको रूप लिएको हो।

हाम्रा सडकको अवस्था दयनीय छ। साइकल मैत्री छैनन्। यसका लागि के गर्न सकिन्छ ?

हाम्रो सरकारसँग सुन्दर सहर कसरी बनाउने भन्ने योजना छैन। हाम्रो सहरी योजना जग्गा व्यापारी र दलालले बनाउँछन्। काठमाडौं उपत्यकामा यही गतिमा सवारीसाधनको संख्या बढ्ने र सडकको अवस्था सुधार नहुने हो भने सन् २०३० सम्ममा गाडीको गति प्रतिघण्टा पाँच किलोमिटर मात्रै हुन्छ। सहरलाई स्वस्थ्य राख्नकै लागि पनि साइकल लेन अनिवार्य छ। सडक साइकल मैत्री हुनैपर्छ।

साइकलयात्राको आयोजना गरिरहनुहुन्छ यसको फाइदा के छ ?

साइकलयात्राले आन्तरिक पर्यटनमा टेवा पुग्छ। विभिन्न समुदायका मानिसहरूसँग भेटघाट हुन्छ। यसले भाइचारा बढाउँछ।

हाम्रो सहरमा चढ्न मिल्ने र सबैले किन्न सक्ने नयाँ साइकलको प्रबन्ध गर्न कति खर्च लाग्छ ?

राम्रो ब्रान्डको साइकल महँगो पर्छ तर ४० हजार माथिका साइकल निकै राम्रा हुन्छन्। हेलमेट पञ्जासमेतको प्रबन्ध गर्दा ५० हजार नाघ्दैन।

सरकारी पक्षबाट कस्तो सहयोग हुन सके तपाईंहरूको अभियानलाई सहयोग पुग्छ ?

साइकलमा लाग्ने कर छुट हुनुपर्छ। मूल्य कम भएपछि सबैको पहुँच पुग्छ। सरकारी पक्षबाट समेत जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ। सडकको अवस्था सुधार्न सरकारी पक्षबाटै लाग्नुपर्छ।

तपाईंले चढ्ने साइकलबारे बताइदिनुस् न।

मसँग धेरै साइकल छन्। कतिपय उपहार पनि पाएको छु। यो चाहिँ कार्वन हो। सबैभन्दा हलुका चीजले बनेको हुन्छ। यसको मूल्य साढे दुई लाख पर्छ। ‘पुष्कर दाइको साइकल’ भन्ने ब्रान्ड छ। यो त्यसकै साइकल हो। उपहार पनि पाउँछु।

पुष्कर शाह पलायन भयो पनि भन्छन् नि।

पलायन भएको, देश छाडेको होइन। म मेरो अनुभवलाई यहीँ प्रयोग गर्न आतुर छु। मसँग राजनीति रङ नभएकाले पनि पछि परेको छु। हामीसँग ठूलो समूह छ। सहरलाई वातावरण मैत्री बनाउने सपना छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.